आकांक्षीको लर्को लाग्दा कोशीमा मन्त्री पठाउन ‘असक्षम’ कांग्रेस

मुख्यमन्त्री भन्छन् : कांग्रेसको गति ढिलो छ

विवेक विवश रेग्मी १९ भदौ २०८१ १५:५०
28
SHARES
आकांक्षीको लर्को लाग्दा कोशीमा मन्त्री पठाउन ‘असक्षम’ कांग्रेस

इटहरी– कोशी प्रदेश सरकारमा सहभागी हुन नेपाली कांग्रेस ‘असक्षम’ देखिएको छ। पार्टीबाट प्रदेशसभा सदस्य रहेकाहरूमध्ये क-कसलाई मन्त्री बनाउने भन्नेबारे हालसम्म टुंगो लाग्न नसक्दा कोशी कांग्रेस ‘असक्षम’ देखिएको हो।

नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीको नेतृत्वको सरकारबाट माओबादी केन्द्र बाहिरिएको डेढ महिना हुन लाग्दासमेत कांग्रेसले मन्त्री पठाउन नसकेको हो। केन्द्रको सत्ता समीकरण फेरबदल भएसँगै कोशी प्रदेशमा पनि एमाले र कांग्रेसको सरकार बन्ने भएपनि हालसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन। कोशीमा कांग्रेसले चार मन्त्रालय पाउनेगरी सहमति भएको छ।

नौ मन्त्रालय रहेको कोशीमा कांग्रेसले चार मन्त्रालय पाउनेगरी साउन १२ गते नै सहमति गरी दुई दिनभित्रमा मन्त्रीको नाम टुंगो लगाउने बताएको थियो। आन्तरिक भागबन्डा मिलाउन नसक्दा प्रदेशमा मन्त्रालय विभाजन गर्नुपर्ने दबाब पनि कांग्रेसले दिएको थियो। तर, हालसम्म कांग्रेसले मन्त्री पठाउन सकेको छैन।

सरकारमा सहभागी नै भइनसकेको कांग्रेस यसअघि प्रदेशसभा बैठकमा भने सत्तापक्षको बेन्चमा बसिसकेको छ। खासगरी कोशी कांग्रेसले मन्त्रीको नाम टुङ्ग्याउन केन्द्रीय समितिलाई नै जिम्मेवारी दिएको थियो। कांग्रेस कोशी प्रदेशसभाका प्रमुख सचेतक गोपाल तामाङले केन्द्रबाटै मन्त्रीको नाम आउने भएकाले ढिलाइ भएको सुनाए। ‘केन्द्रबाटै नाम आउने भएका कारण ढिलो भएको हो, अरु कुनै कारण छैन,’ उनले भने, ‘आज भरे बेलुकासम्म मन्त्रीको नाम टुङ्गिने सम्भावना छ।’

उनका अनुसार केन्द्रबाट बुधबार बेलुकासम्म नाम टुङ्गो लाग्नेछ। यद्यपि, कोको मन्त्री भन्नेबारे भने यकिन भइसकेको छैन। कोशीमा चार मन्त्री र दुई राज्यमन्त्रीसहित कांग्रेस सरकारमा सहभागी हुने उनको भनाइ छ।

‘चार मन्त्री र दुई रान्यमन्त्रीसहित सरकारमा सहभागी हुने भन्नेबारे निर्णय भएको छ। हामीलाई मन्त्री छान्ने अधिकार भएको भए अस्ति टुङ्गिहाल्थ्यो,’ उनले भने, ‘आज नाम टुङ्गो लाग्यो भने भोलिसम्म सरकारमा सहभागी हुन्छौँ।’ उनले मन्त्री छान्ने अधिकार केन्द्रलाई नै रहेको प्रष्ट्याए। मन्त्री कोको बन्ने भन्नेबारे भने अनिश्चित रहेको तामाङको भनाइ छ।

स्रोतकाअनुसार मन्त्रालय फुटाउँदा नकारात्मक सन्देश जाने भएकाले एमालेले मुख्यमन्त्रीसहित सात, (एक मुख्यमन्त्री, चार मन्त्री र दुई राज्यमन्त्री) र कांग्रेसले चार मन्त्री र दुई राज्यमन्त्रीसहित ६ जना सहभागी हुने गरी समझदारी भएको छ।

९३ सदस्यीय कोशी प्रदेशसभामा कांग्रेस २९ जना सांसद छन्। कांग्रेस सभापति शेरबहादुर देउवा पक्षबाट दुई जना, डा. शेखर कोइराला र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहलाई एक/एक मन्त्री र एक/राज्य मन्त्री दिने गरी भागबण्डा मिलाउन खोजिएको कांग्रेस स्रोतले जनाएको छ।

मन्त्रीको आकांक्षीमा देउवा पक्षबाट अमृत अर्याल, प्रदीप सुनुवार, खगेनसिंह हाङगाम, हिमाल कार्की, डोल्मा तामाङ, मैया श्रेष्ठ लगायत मन्त्री बन्ने तयारीमा छन्। ती मध्ये दुई मन्त्री बन्नेछन्।

डा. कोइराला समूहबाट गोविन्द गिरी, मनबहादुर लिम्बू, रामकुमार खत्री र इन्दिरा थापा मन्त्रीका आकांक्षी छन्। यता, सिटौला समूहबाट भीम पराजुली, भूपेन्द्र राईलगायत आकांक्षी रहेका छन्।

कांग्रेसको हिँडाइ विस्तारै भयो : मुख्यमन्त्री

यता, मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भने मन्त्रिपरिषद विस्तार गर्न अझ केही दिन लाग्ने बताएका छन्। बुधबार (आज)विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा उनले तीज पछि मात्रै सरकार विस्तार हुने बताए। काँग्रेसलाई सरकार विस्तारको लागि गति बढाउनसमेत उनले आग्रह गर्, भने, ‘काँग्रेसको हिँडाइ विस्तारै भयो, गति बढाउनुहोस्।’ मुख्यमन्त्री कार्कीले कांग्रेसकै कारणले सरकार विस्तारमा ढिलाइ भएको बताए।

सरकार विस्तारमा ढिलाइ हुँदा सरकारको काममा पनि असर परेको बताउँदै जतिसक्दो चाँडो सरकार विस्तार गरी सरकारको कामले गति लिने दाबी गरे। फरक प्रसङ्गमा बोल्दै उनले अहिलेको सरकार शासकीय सुधारतर्फ लागेको र विकासका योजनाहरूलाई तीव्रता दिएको बताए। ‘अमर्यादित बोल्ने, तथ्य बिना बोल्नेसँग केही गर्न सकिँदैन, हामी हाम्रो काम विश्वाशिलो ढंगले गरेर अगाडि बढ्छौँ। कसैले नमीठो बोल्यो भन्दैमा लाप्पा खेल्न जाने कुरा भएन,’ मुख्यमन्त्री कार्कीले थपे।

यो पनि 

‘डमी’ प्रदेश सरकार : कोशीका मन्त्रीको नाम देउवासँग, लबिङ गर्दै काठमाडौँमा नेताहरू

प्रकाशित: १९ भदौ २०८१ १५:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =