डायस्पोरिक साहित्यमा आफ्नै स्थान जमाएका स्रष्टा हुन् दाजु गुरुङ। उनलाई यसअघि प्रकाशित दुई कथासंग्र्रहले सिद्धहस्त आख्यानकारको दर्जामा लामबद्ध भइसकेका उनको ‘निरजोया’ पहिलो उपन्यास हो।
जहाँ उनी रहन्छन् त्यहीँका स्थान र परिवेशले उनलाई कथानकता प्रदान गर्छ। अनि पात्रहरू पनि त्यहीँबाट टपक्कै टिप्छन्। यो मात्र होइन ‘यो मन त मेरो नेपाली हो’ भन्ने बोलको गीतको सार्थकतामा आख्यान बुन्छन्। जहाँ रहे पनि नेपालीपन उनमा स्पष्ट देखिन्छ। नेपाली मन र नेपाली भावमा शब्दहरू खेलाउँछन्। प्रवासमा बसेर त्यहीँका विविध सन्दर्भहरूमा आफु डुबेर लेख्ने जुन दुस्साहस गरेका छन् यो सम्मानयोग्य काम हो।
उपन्यासको अन्तर्वस्तु प्रवासीको कथा हो। प्रवासका जटिलपूर्ण जीवन संघर्षको व्यथा हो निरजोया। प्रवासको सिंगो चित्र हो यो। दुई दशकजति अगाडिबाट कथा अघि बढेको छ। एउटा युवा विवश छ विदेशि लाचार छ, परदेशी बन्न बाध्य। गरिब पनि थिएन। तर बुबा आमाको पनि दबाब छ ज्यान जोखिम देख्छन् छोराको द्वन्द्वमा फस्ने हो कि भनेर। मलेसियामा जे भए पनि छोरो सुरक्षित हुने आस छ उनको। उसका सामु धेरै चुनौतीका पहाड खडा छन्। बुढाबुढी बाआमालाई सुखसँग पाल्ने सपना छ। अनि भोलिको उसका जिन्दगीका अनेकौँ सपना पूरा गर्नु छ। यी सबैले उसलाई खेदाउँछन् प्रबासिन बाध्य पार्छन्।
उपन्यासको मूल पात्र निरोज। नेपालको पूर्वी भागको ठिटो। धेरै गरिबी पनि थिएन। अभावको घाउ पनि लागेको थिएन। तर पनि देशमा दन्कँदो थियो सशस्त्र द्वन्द्वको आगो। दिनहुँ मानिस मारिएका खबर आउँथे अथवा आफ्नै आँखावरिपरि पनि त्यस्तै भयावह परिवेश बेहोरेको थियो उसले। उपन्यासकारले उतिबेलाको दसबर्से जनयुद्धताकाका हाम्रा गाउँघरको हविगत र त्रासद अवस्थाको यथार्थलाई यहाँ सत्यापन गरेका छन्।
उमेर पुगेका स्कुले केटाहरूलाई जबरजस्ती द्वन्द्वमा बन्दुक बोकेर सहभागी हुन गरेका उर्दी उसले पनि सुनेको थियो। त्यसैले जंगल जानुपर्ने मनोवैज्ञानिक त्रासमा थियो ऊ। उसका बाबु पनि लाहुरे थिए। निरोजलाई जस्तै डर उनलाई पनि नभएको कहाँ हो र? यस्तै परिस्थितिमै निरोजको बिहा भइसकेको थियो। निरोज पढाइमा पनि कमजोरै थियो। अझै भनूँ उसको पढाइ रुचिको विषय थिएन। ऊ अल्लारे माहिला न हो। यस्तै परिस्थितिले उसलाई बाध्य बनाए प्रबासिन।
विदेश आफ्नो ठाउँ जस्तो कहाँ हुनु! त्यहाँ पनि उसले अनेकौँ ठक्करहरू बेहोर्नुपर्छ। उसमाथि मलेसियाको भूमि विशेषत: नेपालीहरू शारीरिक श्रम गर्न त्यहाँ जान्छन्। यस उपन्यास निरोजले त्यहाँ खाएका दु:ख, कष्ट र हण्डरहरूबाट अघि बढ्छ। उपन्यासमा निरोज एक प्रतिनिधिमूलक पात्रका रूपमा देखिन्छ। ऊबाट बिदेसिएका नेपालीको अवस्था चित्रण गराएका छन् गुरुङले। अझै यसमा मलेसियामा प्रशासनले दिएका विभिन्न अमानवीय यातना भनौँ नारकीय जीवन जिउन बाध्य प्रवासीहरूको पीडालाई छर्लंग पारिएको छ यहाँ।
निरोजसँगै जोया अर्की मुख्य पात्र हुन्। यी दुईको प्रेमको अनुपम कथा पनि छ यहाँ। दुई युवा युवतीबीचमा भएका मायाप्रेमको प्रणय कथा छ। यस्तो प्रेम जुन भाषा, धर्म, भूगोल फरकफरक हुँदा पनि अंकुराएको थियो। र सँगै दिगो नभई धोका पाएर वियोगान्त बनेको कथा पनि पढ्न सकिन्छ निरजोयामा। हिन्दु संस्कार र परिवारमा जन्मेहुर्केको निरोज र मलेसियन मुस्लिम परिवारकी जोया बीचको सहबसाइ छ यसमा।
प्रवासको जिन्दगी यहाँ सोचेजस्तो छ? सुनेजस्तै छ? यथार्थमा फरक छ? यो जानकारी लिन निरजोया पढ्नैपर्दछ। हामीले सुन्दै आएका छौँ। समाचार हेर्दै आएकै हौँ कि मलेसियामा काम गर्न गएको मान्छे बेपत्ता भयो रे। मृत भेटियो रे। यस्तैयस्तै। यी कुरा सुनेका हामीलाई निरजोया पढेपछि मथिंगल हल्लाउँछ। हेर्दा कतै नियात्राको झल्को दिने उपन्यासले मलेसियाका विभिन्न स्थानको हामीलाई सयर पनि गराउँछ।
घरपरिवार छोडेर प्रवासमा साथी बनाएर रम्नेहरूको दुर्दशाले प्रबासिएका हाम्रा नेपालीलाई सजग गराउँछ, सचेत गराउँछ यस अर्थमा सन्देशप्रदायक छ उपन्यासको सार। हिन्दु पुरुष र मुस्लिम महिलाको प्रेमप्रसंगले उपन्यासमा महत्त्व पाएको छ। विवाहित पुरुषले आफ्नो अर्धांगिनी जसमाया भुलेको छ। चार वर्ष जति ऊ जोयाको मायाको गोलचक्करमा फस्छ उत्रनै नसक्ने गरी। उसकै घरमा उसकै मर्जीमुताबिक चल्छ मानौँ ऊ जोयाको गुडिया हो। भौतिक आवश्यकताका सब चिज उसका निम्ति जोयाकहाँ उपलब्ध छन्।
आत्मपरक शैलीको उपन्यासमा प्रवासको गैरकानुनी बसाइ र मलेसियाको जेलमा कैदीहरूको कठिनतम दैनिकी, अमानवीय र क्रूर यातनाको चित्र बनेको निरजोया। उपन्यासले वैदेशिक रोजगारीका आम अवस्थाको उजागर गरेको छ। जेलभित्रको अत्यन्तै दर्दनाक अवस्थामा पिल्सिएका बेला भारतीय मूलका पन्जाबी जेलर मनजित सिंहको हिन्दु धर्मको मोह, पशुपतिको महिमा र हिन्दी भाषामा कुराकानीले पनि उपन्यासमा स्थान पाएको छ।
जेलरले निरोजलगायत नेपाली कैदी जीवन भोग्नेहरूलाई स्वदेश फर्काइदिने आश्वासनले जेल जीवन जिउन बाध्य नेपालीको मनमा अलिकति आशावादको सञ्चार जागृत गराइदिएको छ। यही क्रममा निरोज नेपाल फर्किन्छ। आफ्नो दोजिया भएकी श्रीमती छोडेर प्रबासिएको ऊ सारमा यो वैदेशिक रोजगारीमा जानेहरूका अनुभव र अनुभूतिहरूको दर्दनाक कहानी हो।
उपन्यासकारले पात्रहरूलाई न्याय गरेका छन्। सकारात्मक भावको डम्बर दाइ, मनकुमार सोल्टी, काइँलालगायतका चरित्रहरू पटकपटक उपन्यासमा भूमिकामा देखिन्छन्। यस्तै यदाकदा गुरुङ, राई भाइ, शम्भु तामाङ, मिलन, डिकबहादुर जस्ता पात्रहरू छन्।
मले भाषाहरूको यदाकदा प्रयुक्ति, उपन्यासमा नवीनताको छाँट, पात्रहरूको चरित्रमा न्याय गर्न सकेका छन्। वास्तवमै हङकङमा बसेर मलेसियाका प्रवासीको चित्र उतार्नु निक्कै कठिन कार्य हो। यही कठिन कार्यमा सफलता हासिल गरेका छन् दाजुले। मुस्लिम समाजमा नारीको अवस्थाको सजिव चित्र कोरिएको छ।
हरकोही लेखक सम्पूर्णता होइन। केही कमीकमजोरी पनि यसमा परेका छन्। एउटै वाक्यांश दोहोरिनु, यदाकदा भाषिक त्रुटि पाइनु जस्ता सामान्य कमजोरी उपन्यासमा देखिएका छन्। व्याकरणीय त्रुटि पनि पाइन्छन्। यस्तै केही अप्रासांगिक कुराहरू पनि यसमा छन्।
उठान गर्न खोजिएको र चित्रण गरिएका प्रवासीका घट्नाहरू उच्च कोटीका छन्। कल्पनशीलतामा समेत सुन्दर ढंगले विचरण गरिएको भए पनि नेपालबाट यो वा ऊ नाउँमा वैदेशिक रोजगारका क्रममा खाडी मुलुक र मलेसियामा जानेहरूको यथार्थ ऐनाजस्तै आएको छ।
प्रवासका जिन्दगीका सकसहरू, त्यहाँका परिवेश र भूगोल, प्रवासका दु:खहरूमा पाएका मानसिक रुग्णता, मनोदशा, अभिसप्त जीवन, समग्र प्रवासीका भोगाइका अभिव्यञ्जनामा घुमेको उपन्यास त्रासदीय तत्त्वले भरिएको छ। यसले वैदेशिक रोजगारीमा जानेलाई खबरदारी गर्छ, सावधान गराउँछ। यस उपन्यासको केन्द्रीय सन्देश पनि यही हो। सकारात्मक सोद्देश्य छाएको छ यसमा।
परिवेश, घटना र परिस्थितिको भुक्तभोगी पात्रलाई केन्द्रमा राखी ऊमार्फत प्रवासको अवस्था चित्रण गराउन सक्नु उपन्यासकारको खुबी देखिन्छ। यहाँ जोयमार्फत नारीको भाव पनि छुवाइएको छ। यौन चाहको उत्कट युवाहरूको मनोदशा पनि दर्शाइएको छ। विदेशमा सजिलो छैन गरिखान भन्ने सन्देश उपन्यासले दिन्छ।
सारमा भनौँ, प्रबासिएकाहरूको युगीन पीडा, दु:ख, व्यथा र वेदना, त्यहाँको दैनिकीको विभीषिका र नियतिलाई छर्लंग पार्न दाइ गुरुङ सफल भएका छन्। छरितो र नयाँ शैलीको उपन्यास बान्की परेको छ। कृति फिनिक्स बुक्सले प्रकाशित गरेको हो।
psmile333@gmail.com



