काभ्रेको खानीखोलामा ‘एक घर, एक धारा’

हिमाल प्रेस ११ भदौ २०८१ ८:०० | Tuesday, August 27, 2024
काभ्रेको खानीखोलामा ‘एक घर, एक धारा’

काभ्रे- काभ्रेको खानीखोला गाउँपालिकाको तीन सय २३ परिवारलाई घरघरघै खानेपानी उपलब्ध गराइएको छ। गाउँपालिकाको ‘एक घर, एक धारा’ अभियान कार्यक्रमअन्तर्गत दुई खानेपानीका योजना सम्पन्न भएपछि दुई सातामा वडा नं ३, ४ र ५ को परिवारका घरमै खानेपानी उपलब्ध गराएको जनाइएको छ।

योजना सम्पन्न भएपछि यही भदौमा दुई चरणमा गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङद्वारा शुभारम्भ गरिएको हो। गाउँपालिकाको वडा नं ३ र ४ मा १ सय ७८ धारा निर्माण सम्पन्न भएको छ भने वडा नं ५ मा एक सय ४५ घरमा धारा जडान गरी खानेपानी उपलब्ध गराइएको अध्यक्ष थिङले जानकारी दिए।

उनका अनुसार दुवै खानेपानी आयोजना नेपाल स्वास्थ्यका लागि पानी (नेवा)को संयोजन, च्यारिटी वाटरको सहयोग र गाउँपालिकाको साझेदारीमा निर्माण सम्पन्न भएको हो। गाउँपालिकाले ‘दिगो र गुणस्तरयुक्त संरचना हाम्रो पहिचान, सुरक्षित पानी सफा र स्वच्छ गाउँ हाम्रो अभियान’ नाराका साथ खानेपानी आयोजना सञ्चालन गरिरहेको छ।

अध्यक्ष थिङले खानीखोलाका दुई हजार चार ४ सय परिवारमा स्वच्छ र सफा खानेपानीको व्यवस्था गर्ने क्रममा हालसम्म सात सय घरधुरीमा योजनामार्फत पुर्‍ याइएको बताए। ‘बाँकी परिवारमा क्रमशः योजनामार्फत नै खानेपानी व्यवस्था गर्ने लक्ष्य लिएका छौँ’, थिङले भने।

वडा नं ३ को आहाले जुरे, भाङ्टार, सौरे र चित्रे बस्ती र ४ डाँडागाउँ, बाँसघारी, सिरुटारमा नेवाको एक करोड २५ लाख आठ हजार, गाउँपालिकाको तर्फबाट रु ४९ लाख आठ हजार नौ सय, जनश्रमदानबाट रु २४ लाख ७६ हजार पाँच सय ५० गरी कूल एक करोड ७६ लाख ८३ हजार पाँच सयको लागतमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको थियो।

उक्त खानेपानी आयोजना विसं विसं २०७९ मा सुरु गरिएको थियो। यस्तै खानिखोला–५ गैरीखोला तालढुङ्गामा ‘एक घर–एक धारा’ कार्यक्रमअन्तर्गतनै एक सय ४५ घरमा धारा जडानका लागि गाउँपालिका, नेपाल स्वास्थ्यका लागि पानी (नेवाः) सिन्धुली तथा स्थानीय जनश्रमदान गरी रु एक करोड छ लाख निर्माण सम्पन्न भएको हो।

उक्त खानेपानी आयोजनाको विसं २०८० साउन १ गते सम्झौता गरिएको र समयमै निर्माण सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष थिङले जानकारी दिए।

प्रकाशित: ११ भदौ २०८१ ८:०० | Tuesday, August 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast