तीज गीतको ‘प्यास मेट्ने’ विष्णु माझी

'विकृतिको मरुभूमिमा सरस्वतीमय स्वरको मुसलधारे पानी'

रमेश दवाडी १० भदौ २०८१ १५:०१
410
SHARES
तीज गीतको ‘प्यास मेट्ने’ विष्णु माझी

काठमाडौँ-  लोकप्रिय गायिका विष्णु माझीले यस वर्ष ‘आइन आमा यो तीजमा’ बोलको तीज गीत ल्याएकी छन्। विष्णुले गाएको गीतले जति चर्चा पाउँछ त्याेभन्दा बढी उनकाे निजी जीवनबारे दर्शकश्रोतालाई चासाे हुन्छ। सार्वजनिक व्यक्तित्व तर निजी जीवन बाँचेकी माझीको गीतलाई दर्शकश्रोताले निकै रुचाएका छन्। उनी केही वर्षदेखि सार्वजनिक रूपमा बाहिर देखिएकी छैनन्।

पछिल्ला वर्षमा तीज गीतमा विष्णु माझीका गीत दर्शकश्रोताको  निकै रोजाइमा पर्दै आएका छन्। तीन वर्षअघि उनको ‘चरी जेलैमै’ बोलको गीत चर्चित भएको थियो। त्यसपछि ‘चरी जेलैमै २’ ले पनि तीज गीतका नाममा भित्रिने विकृतिलाई सङ्ल्याउन योगदान दिएको थियो। यसैगरी गत वर्ष  माझीको ‘बलमा’ लाई धेरैले रुचाएका थिए।

यस वर्ष सपना म्युजिक इन्डस्ट्रिजको युट्युब च्यानलबाट भदाै ८ गते शनिबार सार्वजनिक ‘आइन आमा यो तीजमा’ बोलको गीत युट्युबमात्रै दुई दिनमा ३० लाख बढी पटक हेरिएको छ। २० हजारभन्दा बढी प्रतिक्रिया छ। दर्शकश्रोताले उनको स्वरको मुक्तकण्ठले प्रशंसा गरेका छन्। साथै अधिकांश दर्शकले विष्णु माझीलाई सार्वजनिक गर्नुपर्ने प्रतिक्रिया दिएका छन्।

दर्शकश्रोताले मात्र हाेइन गायकगायिका, सर्जक र कलाकारले पनि विष्णु माझीको गीत सार्वजनिक भएपछि मात्रै  तीज आएको महसुस हुने उल्लेख गरेका छन्।  केही कलाकारले भने विष्णु माझीको निजी जीवनबारे चासो राख्दै उनलाई सार्वजनिक गर्न सुन्दरमणि अधिकारीसँग माग गरेका छन्। सुन्दरमणि माझीका श्रीमान् हुन्। ‘आइन आमा यो तीजमा’ गीतको रचना र संगीत सुन्दरमणिको हो।

एकअर्काको गीत सार्वजनिक भएर चर्चा पाउँदा ईर्ष्या गर्ने लोकदोहोरी गायक, गायिका, गीतकार विष्णु माझीको गीतमा खुसी देखिएका छन्। उनीहरूले आआफ्नाे फेसबुक वालमा माझीको गीत राखेर सकारात्मक प्रतिक्रिया मात्रै दिएका छैनन्, उनलाई उच्च दर्जाको गायिकाका रूपमा चित्रण गरेका छन्।

केही कलाकारले तीजको मौलिकताविपरीत गीतहरू सार्वजनिक गरेपछि उनीहरू आलोचित हुँदै आएका छन्। माझीको गीतले भने तीजलाई संरक्षण गरेको कलाकारहरू बताउँछन्। राम्रो गीतको प्रचारप्रसार गर्न नपर्ने र दर्शकश्रोताले खोजीखोजी हेर्ने गरेको उनीहरूकाे भनाइ छ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रीता थापा मगरले मौलिक तीज गीतको खडेरी परेका बेला माझीको गीतले त्राण दिएको उल्लेख गरेकी छन्। माझीको गीत आफ्नो फेसबुक वालमा सेयर गर्दै रीताले लेखेकी छन्, ‘के नै तामझाम गर्नुपर्ने रहेछ र? सर्जकले राम्रो सिर्जना गरिदिए, गाउनेले राम्रो गाइदिए, भिडियो बनाउनेले राम्रो बनाइदिए त कृतिले कीर्तिमान रच्दो रहेछ त। एक उदाहरणीय कृतिले तीज गीतमा देखिएको मौलिकताको खडेरीमा त्राण दिनुभएकोमा प्यारो साथी सुन्दरमणि अधिकारी र बहिनी विष्णु माझीलाई ससम्मान बधाई तथा शुभकामना।’

माझीकै छिमलकी लोकप्रिय गायिका लक्ष्मी न्यौपानेले उनकाे गीत आफ्नो फेसबुक वालमा सेयर गर्दै शुभकामना दिएकी छन्। गीत उत्कृष्ट भएको उनको भनाइ छ। उनले लेखेकी छन्, ‘उत्कृष्ट प्रस्तुति, सम्पूर्ण टिमलाई शुभकामना।’

बिन्ध्यवासिनी म्युजिक प्रालिका सञ्चालक, संगीतकार तथा गीतकार सुवास रेग्मीले विष्णु माझीको उक्त गीत आफ्नो फेसबुक वालमा सेयर गरेका छन्। उनले सिर्जना राम्रो भएपछि दर्शकश्रोताले खोजीखोजी हेर्ने आशय व्यक्त गरेका छन्। उनले अन्य गायकगायिकाप्रति व्यंग्य पनि गरेका छन्।

रेग्मीले फेसबुकमा लेखेका छन्, ‘विष्णु माझी ब्रान्डको गीतमा ५-७ करोड भ्युज सामान्य हो। कतै गीत गाउन दगुर्नै पर्दैन। हस्याङफस्याङ दौडादौड गर्नै पर्दैन। वर्षमा एउटा गीत गाएर युट्युबमा हाल्दिए पुग्छ। आफ्नो गीतको रिल, टिकटक पनि आफैँ बनाउन पर्दैन, एकचोटि आफ्नो फेसबुक, इन्स्टाग्राममा सेयर गर्न पनि पर्दैन। फलानाले मेरो गीत सेयर गर्दिएन भनेर ठुस्स हुन पनि पर्दैन’, रेग्मी थप लेख्छन्, ‘पत्रकार दाइ समाचार लेख्दिनु न भनेर २-४ पैसा थमाउनै पर्दैन। आफ्नो न्युज आफैँ सेयर गरेर धन्यवाद फलाना लेख्नै पर्दैन। मेरो अफिसियल च्यानलबाट विश्वभर एकसाथ रिलिज भन्दै लाखको बिटोले बुस्ट हानेर करोड क्लबको केक काट्नै पर्दैन।’

रेग्मीले विष्णु माझी सार्वजनिक हुन आवश्यक नरहेको पनि लेखेका छन्। उनले लेखेका छन्, ‘यो समाजलाई अनुहार देखाउन जरुरी पनि छैन। अनुहार देखाउने कलाकारहरूलाई कसले धुप, दीप, नैवेद्यले पूजा गरेका छौँ र?’

अर्का लोकदोहोरी गायक रमेशराज भट्टराईले माझीको गीत सेयर गर्दै खुसी व्यक्त गरेका छन्। उनले विष्णु माझीको तीज गीत आएपछि अन्य गीत ओझेलमा पर्ने आशय व्यक्त गरेका  छन्। भट्टराईले फेसबुकमा लेखेका छन्, ‘कृपया बाटो छोडिदिनुस् त विष्णु माझी आउनुभएको छ।’

गायक, शब्द संकलक, संगीतकार वसन्त थापाले विष्णु माझीको गीत सार्वजनिक भएपछि तीज आएझैँ हुने प्रतिक्रिया जनाएका छन्। थापाले विष्णुलाई हीरासँग तुलना गर्दै सुन्दरमणिलाई व्यंग्य गरेका छन्। थापाले लोकदोहोरीमा हीरा लुकाउँदा किरालाई मौका मिलेको लेखेका छन्। ‘प्यासीले पानी पाएझैँ भो। सफलताको शुभकामना सुन्दरमणि दाइ। हीरा लुकाएर किरालाई मौका मिलेको छ। तिम्रो बुद्धि फिरोस् कामना’, थापाले लेखेका छन्।

गायक बद्री पंगेनीले आफ्नो फेसबुक वालमा गीत सेयर गर्दै विष्णु माझी, सुन्दरमणिसहित निर्माण टिमलाई धन्यवाद दिएका छन्। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्वअध्यक्षसमेत रहेका पंगेनीले लेखेका छन्, ‘यो मिठो आवाजका लागि बैनी विष्णु माझीलाई धन्यवाद, शब्द संगीतको खानी सर्जक सुन्दरमणि अधिकारीजीलाई अझ धेरै बधाई अनि सम्पूर्ण टिमलाई धन्यवाद।’

विष्णु माझीसँग धेरै गीत गाएका अर्का लोकप्रिय गायक कुलेन्द्र विश्वकर्माले माझीको गीत सार्वजनिक भएपछि चाडपर्व सुरु भएको जनाएका छन्। कुलेन्द्रले गीतको प्यास मेटिने भन्दै आफ्नो फेसबुकमा गीत सेयर गरेका छन्। उनले लेखेका छन्, ‘अब त चाडबाड सुरु भएछन्। तीज गीतको प्यास मेटिने भो आजबाट। हार्दिक शुभकामना गीतले सबै को मनमा राज गर्ने पक्का छ। मौलिक सिर्जनालाई माया गरौँ।’

गायिका टीका सानुले उक्त गीत आफ्नो फेसबुक वालमा सेयर गरेकी छन्। उनले गीतकै एक टुक्का राख्दै भनिन्, ‘एकै झल्को देख्न मन छ, तिम्रै आँगन टेक्न मन छ। शब्द, संगीत र स्वर आहा! सारै राम्रो गीत। सम्मान छ आदरणीय विष्णु माझी दिदी।’

वरिष्ठ गीतकार राजेन्द्र थापाले तीज गीतका नाममा विकृति ल्याउनेहरूका लागि माझीको उक्त गीत उदाहरणीय रहेको प्रतिक्रिया दिएका छन्। थापाले फेसबुकमा गीत सेयर गर्दै लेखेका छन्, ‘गीत सुन्दा गीतले मजा दिन छाडेको साँच्चिकै धेरै भइसकेको यस बेलामा अचानक यो गीत! अद्भुत! तीज भनेर अर्कै चिज छरिरहेको यस समय अचानक गरम मरुभूमिमा विष्णु माझीको सरस्वतीमय स्वरको मुसलधारे पानी परेको छ। एक वर्षाले सब पखालेर लगेको छ।’

गीतकार थापाले उत्कृष्ट गीत निर्माण र अभिनय गर्ने कलाकारको पनि प्रशंसा गरेका छन्। उनले लेखेका छन्, ‘सुन्दरमणि लयका लागि क्याबात! कोरियोग्राफर मौसम हिमाली र मोडल ललिता पौड्याल लुगा लगाएर पनि यस्तो अद्भूत टिमलाई दर्शन सलाम।’

अर्का गीतकार तथा गायक शिव हमालले माझीको उक्त गीत सेयर गर्दै लोक तथा दोहोरी गीत उद्योगले बल्ल पवित्र जल भएको जनाएका छन्। उनले लेखेका छन्,‘आहा! काकाकुलजस्तो भएको यति बेलाको हाम्रो इन्डस्ट्रीले बल्ल पवित्र जल पायो। सलाम छ, सुन्दरमणि दाइ अनि विष्णु माझीलाई।’

अर्की लोक तथा दोहोरी गायिका शकुन्तला थापाले पनि माझीको उक्त गीत सेयर गर्दै एउटी सहनशील छोरीको आत्मकथा भएको जनाएकी छन्। उनले फेसबुकमा लेखेकी छन्, ‘एउटी सहनशील छोरीको आत्मकथा।’

त्यस्तै मानवअधिकारकर्मी मोहना अन्सारीले विष्णु माझीको गीतमा सबै नाच्ने तर उनको जीवनबारे कसैलाई थाहा नहुने भन्दै प्रश्न गरेकी छन्। ‘आइन आमा यो तीजमा’ गीतको समाचार सामाजिक सञ्जाल ‘एक्स’ सेयर गर्दै मोहनाले लेखेकी छन्, ‘बल्ल तीज आएझैँ भो, प्यासीले पानी पाएझै भो’ उनले आफ्नै जीवनलाई केन्द्रमा राखेर गाउने गीतमा संसार सार्वजनिक रूपमा नाच्छ तर गीतमा नाच्नेहरूले गायिका विष्णु माझीको जीवन कस्तो छ? भन्ने बारे कसैलाई थाहा छैन।’

प्रकाशित: १० भदौ २०८१ १५:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =