संसद्‌मा ‌ओलीविरुद्ध खनिइन् पूर्वमन्त्री सुमना श्रेष्ठ

हिमाल प्रेस ६ भदौ २०८१ १५:५१
406
SHARES
संसद्‌मा ‌ओलीविरुद्ध खनिइन् पूर्वमन्त्री सुमना श्रेष्ठ

काठमाडौँ- पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध खनिएकी छन्। उनले त्रिभुवन विश्वविद्यालय र विद्यालय शिक्षामा विकृत भित्र्याउन ओली नै जिम्मेवार रहेको आरोप लगाएकी हुन्।

पूर्वमन्त्री श्रेष्ठले भनिन्, ‘शिक्षालयमा दल चाहिन्छ, शिक्षक, प्राध्यापकले राजनीति गर्नुपर्छ भनेर सेनापतिका रूपमा सबैतिर बोल्दै हिँड्ने को हुनुहुन्छ? अहिलेका प्रधानमन्त्री। जरोमा पनि उही। टुप्पोमा पनि उही।’ प्रधानमन्त्री ओलीले गत साता एक सार्वजनिक कार्यक्रममा राजनीतिमा लागेका शिक्षकका पक्षमा मन्तव्य दिएका थिए।

श्रेष्ठले शिक्षालयमा हुने राजनीति घटनामा प्रधानमन्त्री, शिक्षामन्त्री, कुलपतिको कार्यक्षमता र नियतको प्रश्न उठाएको बताइन्। उनले भनिन्, ‘विवाद भएका विश्वविद्यालयका कुलपति को? प्रधानमन्त्री। एउटा मन्त्रीले अर्को मन्त्रीलाई सामाजिक सञ्जालमा जोडदार माग गर्नुपर्ने। ती मन्त्रीहरूको कप्तान प्रधानमन्त्री, दुईवटा ठूला दलको भ्रातृ संगठन, प्राध्यापक संगठन, त्यो हाँक्ने कप्तान को? प्रधानमन्त्री।’

श्रेष्ठले उक्त विषयमा प्रधानमन्त्रीको कार्यक्षमता नभएको बताउँदै सरकार, प्रधानमन्त्री र कुलपतिको ध्यानाकर्षण गराइन्। उनले भनिन्, ‘यसमा प्रधानमन्त्रीको कार्यक्षमता भएन भनेर नभन्नुपर्ने कारण के छ? यो प्रश्नमा सरकार, कुलपतिज्यू, प्रधानमन्त्रीको गम्भीर ध्यानाकर्षण गराएँ।’

उनले सरकार र राजनीतिक दलको संरक्षणमा रहेका विद्यार्थी संगठनकै नेताबाट शिक्षक र प्राध्यापक असुरक्षित भएको बताइन्। त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बराल, रेक्टर प्रा.डा. खड्ग केसी र रजिस्ट्रार प्रा.डा. केदार रिजाल ‘सुरक्षा थ्रेट’ भएको भन्दै बिदामा बसेका थिए। शिक्षामन्त्री विद्या भट्टराईले सोमम्बन्धी बुधबार सामाजिक सञ्जालमार्फत त्रिविमा सुरक्षा माग गरेपछि बिहीबारको संसद् बैठकमा सुमनाले सरकार र राजनीतिक दलको संरक्षणमा रहेकाबाट शिक्षक र प्राध्यापक असुरक्षित रहेको बताएकी हुन्।

संसद् बैठकमा सुमनाले भनिन्,‘सानोमा बलभन्दा बुद्धि ठूलो भनेर पढेकी थिएँ। अहिले विश्वविद्यालयमा बुद्धि होइन बल ठूलो देखिएको छ। विभागीय प्रमुखका लागि बुद्धिभन्दा बल ठूलो भनेर पढाए। यो दलीय राजनीतिले निम्त्याएको दुर्दशा हो।’

गत साउन ३० गते ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा चिट चोराउन गएका अनेरास्ववियुका नेताले परीक्षा नियन्त्रकलाई कुटेको, क्याम्पस प्रमुख र क्याम्पस प्रशासन मुकदर्शक भएको बताउँदै सुमनाले संसद् बैठकमा त्यसको माउ पार्टीको अध्यक्ष अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली भएको बताइन्।

चार महिना शिक्षा मन्त्रालय हाँकेकी सुमनाले दलीय राजनीतिमा लागेका शिक्षकलाई कारबाही प्रक्रिया अगाडि बढाएकी थिइन्। उनको उक्त कामको प्रधानमन्त्री केपी ओली, पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेल, शिक्षक महासंघ, शिक्षक नेताहरूले विरोध गरेका थिए।

प्रकाशित: ६ भदौ २०८१ १५:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 1 =