सिंगापुर (रासस/एएफपी)- सिंगापुरले बुधबार लागुऔषध तस्करीमा दोषी ठहरिएका ५९ वर्षीय एक व्यक्तिलाई फाँसी दिएको अधिकारीहरूले बताएका छन्। संयुक्त राष्ट्रसंघ र मानव अधिकार समूहले मृत्युदण्डको विरोध गर्दै यसलाई प्रतिबन्ध लगाउन आह्वान गरेका छन्।
सिंगापुरका अधिकारीहरूले भने अपराध रोक्न मृत्युदण्डको सजाय प्रभावकारी भएको भन्दै यसले एसियाको सबैभन्दा सुरक्षित देश बनाउन मद्दत गरेको दाबी गरेका छन्। सेन्ट्रल नार्कोटिक्स ब्युरो (सीएनबी) ले एक विज्ञप्ति जारी गर्दै ती व्यक्तिलाई मृत्युदण्ड दिएको जानकारी दिएको छ।
उक्त व्यक्तिलाई ३५.८५ ग्रामभन्दा कम हेरोइनको तस्करी गरेको अभियोगमा दोषी ठहर गरिएको थियो। सिंगापुरको लागुऔषध कानुनमा १५ ग्रामभन्दा बढी हेरोइन तस्करी गर्दा मृत्युदण्डको सजाय हुने प्रावधान छ। सीएनबीका अनुसार ती व्यक्तिलाई पूर्णरूपमा कानुनी उपचारको प्रक्रिया प्रदान गरिएको थियो।
ती व्यक्तिले आफूलाई लागेको आरोप र सजायविरुद्ध पुनरावेदन गरेका थिए। तर पुनरावेदन अदालतले सन् २०२२ मे ११ मा उनको अपिल खारेज गरेको हो। राष्ट्रपतिसमक्ष गरिएको क्षमायाचनाको अनुरोध पनि अस्वीकार गरिएको थियो।
सिंगापुरमा एक हप्ताभन्दा कम समयमा मृत्युदण्ड दिइएको यो दोस्रो र यस वर्षको तेस्रो घटना हो। सिंगापुरका एक ४५ वर्षीय व्यक्तिलाई शुक्रबार ३६.९३ ग्राम हेरोइन तस्करी गरेको आरोपमा फाँसी दिइएको थियो।
सिंगापुरमा गत फेब्रुअरीमा आफ्नो पूर्व मंगेतरको हत्या गरेको आरोपमा ३५ वर्षीय बंगलादेशी नागरिकलाई पनि फाँसीको सजाय दिइएको थियो। एएफपीको तथ्यांकअनुसार सिंगापुरले मार्च २०२२ मा मृत्युदण्डको सजाय पुनः कार्यान्वयन गरेदेखि मृत्युदण्ड दिइएको व्यक्तिको संख्या १९ पुगेको छ।
कोभिड–१९ महामारीको समयमा सिंगापुरले दुई वर्षका लागि मृत्युदण्डको सजाय स्थगित गरेको थियो।