नेप्सेमा उच्च गिरावट, कारोबारमा कीर्तिमान

हिमाल प्रेस २२ साउन २०८१ १५:५१
56
SHARES
नेप्सेमा उच्च गिरावट, कारोबारमा कीर्तिमान

काठमाडौँ– साताको दोस्रो कारोबार दिन मंगलबार नेपाली धितोपत्र बजारमा हालसम्मकै उच्च कारोबार भएको छ। मंगलबार २३ अर्ब ७१ करोड ६७ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

यसअघि गत साता बुधबार नेप्से कारोबारले नयाँ रेकर्ड बनाएको थियो। सो दिन नेप्सेमा २१ अर्ब ९१ करोडको सेयर कारोबार भएको थियो। कारोबार  मंगलबार उक्त रेकर्ड पनि तोडिएको छ।

स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्से परिसूचक भने एक सय ४५ दशमलव शून्य पाँच अंकले ओरालो लागेर दुई हजार छ सय ५१ दशमलव ३२ मा सीमित भएको छ। कारोबार भएका १३ वटा उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २७ दशमलव २२ अंकले ओरालो लागेर चार सय ६४ दशमलव ५६ मा सीमित भएको छ।

कुल पाँच करोड ३८ लाख ४४ हजार दुई सय ३७ कित्ता सेयर २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार आठ सय ७४ मूल्यमा कारोबार भयो। नेप्सेका अनुसार घटेको बजारमा थ्री स्टार हाइड्रोपावरको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ।

कुर्थली बुखरी स्मल हाइड्रोपावर नौ दशमलव ९७, लक्ष्मी भ्याल्यु फन्ड दोस्रो तीन दशमलव ९४, मेघा म्युचुअल फन्ड पहिलो तीन दशमलव ८१ र रुरु जलविद्युत् परियोजनाका लगानीकर्ताले तीन दशमलव १६ प्रतिशतले कमाएका छन्।

स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष धर्मराज सापकोटाले अर्थतन्त्रका सबै सूचक सही भए पनि मंगलबार सयर बजारमा भारी गिरावट आएको बताए। उनले भने, ‘बंगलादेशको राजनीतिक घटना क्रमपछि नेपालमा पनि त्यस्तै समस्या हुने सामाजिक सञ्जालमा हल्ला चल्यो। त्यसको सेयर बजारमा देखियो।’ वर्षाका कारण पनि सेयर बजारमा भारी गिरावट आएको दाबी उनको छ।

प्रकाशित: २२ साउन २०८१ १५:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =