कोरियामा पेन्सन बिमाबापतको रकम पाउँदैनन् नेपाली कामदार

रमेश भारती ७ साउन २०८१ १८:२५
116
SHARES
कोरियामा पेन्सन बिमाबापतको रकम पाउँदैनन् नेपाली कामदार

काठमाडौँ- दक्षिण कोरियामा कार्यरत नेपाली कामदारले त्यहाँको राष्ट्रिय पेन्सन बिमामा जम्मा गरेको रकम फिर्ता नपाएको गुनासो गरेका छन्।  रोजगार अनुमति प्रणाली ईपीएसमार्फत दक्षिण कोरिया रोजगारीका लागि पुगेका विदेशी कामदारले त्यहाँको राष्ट्रिय पेन्सन बिमा (खुकमिन एनगुम) मा अनिवार्य आबद्ध हुनुपर्ने व्यवस्था छ।

कोरियामा कार्यरत नेपाली कामदार र रोजगारदाता कम्पनीले त्यहाँको खुकमिन एनगुममा मासिक तलबको ९ प्रतिशत रकम जम्मा गर्नुपर्ने व्यवस्था छ। यो रकम उनीहरूले आफ्नो करार अवधि सकिएर स्वदेश फर्किँदा कोरिया सरकारले एकमुष्ठ नदिने गरेको पाइएको छ।

कोरियाली राष्ट्रिय बिमामा विदेशी कामदारको ४.५ प्रतिशत र रोजगारदाताका तर्फबाट ४.५ प्रतिशत गरी ९ प्रतिशत पैसा जम्मा गर्नुपर्ने नियम छ। यसरी जम्मा गरेको रकम नेपाली कामदारले नपाएको वैदेशिक रोजगार विभाग ईपीएस शाखाकी निर्देशक मैया कँडेलले बताइन्। उनका अनुसार यस विषयमा सरकारले सन् २०१४ देखि पहल गर्दै आएको छ। उनले भनिन्, ‘कूटनीतिक प्रयास नहुँदा कोरियामा कार्यरत कामदारले राष्ट्रिय पेन्सन बिमा रकम पाउन सकेका छैनन्।’ राष्ट्रिय पेन्सन बिमाअन्तर्गत रोजगारीको करार अवधि सकिएर स्वदेश फर्किँदा कामदारले एकमुष्ठ रकम पाउने प्रावधान छ।

कोरियाबाट करार अवधि सकेर स्वदेश फर्किएका कामदारले राष्ट्रिय पेन्सन बिमामा जम्मा गरेको पाउनुपर्ने विषयमा ईपपीएसले पटकपटक त्यहाँको एचआरडीसँग छलफल गर्दै आएको छ।

१६ वर्षमा एक खर्ब २७ अर्ब जम्मा

सन् २००८ यता ईपीएसमार्फत १ लाख ६० हजार नेपाली कामदार रोजगारीका कोरिया गएको वैदेशिक रोजगार विभागको तथ्यांक छ। यस अवधिमा कोरियामा कार्यरत कामदारले त्यहाँको राष्ट्रिय पेन्सन बिमामा एक खर्ब २७ अर्ब नेपाली रकम जम्मा गरेको ईपीएस शाखाको अनुमान छ।

शाखाका अनुसार कोरियामा कार्यरत कामदारको न्यूनतम पारिश्रमिक मासिक २ लाख ५० हजार रुपैयाँभन्दा बढी हुन्छ। त्यही तलबका आधारमा मासिक १८ हजार राष्ट्रिय पेन्सन बिमामा जम्मा हुने गरेको छ।

कोरिया जाने कामदारको करार अवधि सात वर्षको हुन्छ। यस अवधिमा नेपालीले आफ्नोसहित रोजगारदाताको गरी १६ लाख राष्ट्रिय पेन्सन बिमामा जम्मा हुने गरेको कोरियाबाट फर्किएका कामदार बताउँछन्। सात वर्षमा जम्मा भएको रकमको कामदारले ७ प्रतिशत बोनस पाउनुपर्ने व्यवस्था छ। करार अवधि सकिएर स्वदेश फर्किदा राष्ट्रिय पेन्सन बिमामा जम्मा भएको बोनससहितको रकम माया मारेर आउनुपरेको गुनासो उनीहरूको छ।

ईपीएसमार्फत कोरियामा १६ वटा देशका कामदार जान्छन्। त्यसमध्ये फिलिपिन्स, थाइल्यान्ड, इन्डोनेसिया, कम्बोडिया, श्रीलंका, चीन, भियतनाम र किर्गिस्ताननका कामदारले मात्रै कोरियाली राष्ट्रिय पेन्सन बिमा पाइरहेका छन्। नेपाली कामदारलाई कोरिया सरकारले राष्ट्रिय पेन्सन बिमाको सुविधा दिएको छैन।

प्रवासी मजदुर युनियन कोरियाका अध्यक्ष उदय राईले कोरियामा कार्यरत कामदारका पक्षमा सरकार उत्तरदायी नबनेको आरोप लगाए। कोरियाको श्रम ऐनअनुसार हरेक महिना कामदारको साढे चार प्रतिशत तलब कटौती गरिन्छ। त्यसमा रोजगारदाता पनि त्यति नै तलब राष्ट्रिय पेन्सन बिमा जम्मा गर्नुपर्ने व्यवस्था भएको उनले बताए। उनले भने, ‘कोरियामा कार्यरत नेपाली कामदारले राष्ट्रिय पेन्सन बिमामा जम्मा गरेको रकम पाइरहेका छन्। अन्य देशका कामदारले करार अवधि सकिएर स्वदेश फर्किँदा राम्रो पैसा पाउँछन्। तर नेपालीले पाउँदैनन्।’

कोरियाले राखेका सर्त स्वीकार गर्दै सरकारले श्रम सम्झौता गर्छ। सरकारले नै पेन्सनको विषयमा औपचारिक नगर्दा नेपाली कामदारले ठूलो रकम गुमाइरहेको उनको आरोप छ।

यस विषयमा सदनमा पनि आवाज उठेको छ। प्रतिनिधिसभाको सोमबार शून्य समयमा बोल्दै रास्वपाका सांसद मनीष झाले कोरियामा कार्यरत नेपाली कामदारले राष्ट्रिय पेन्सन बिमाको सुविधा नपाएको प्रति सरकारसँग जवाफ मागेका छन्।

प्रकाशित: ७ साउन २०८१ १८:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 2 =