खिइँदै गएका प्रचण्डमाथि बाबुरामको निरन्तर कटाक्ष

रमेश दवाडी २६ असार २०८१ १४:२०
716
SHARES
खिइँदै गएका प्रचण्डमाथि बाबुरामको निरन्तर कटाक्ष

काठमाडौँ- पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराई पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध निकै कडा रूपमा प्रस्तुत हुँदै आएका छन्। पार्टीका कार्यक्रममा, कहिले सीधै त कहिले घुमाउरो पारामा प्रचण्डको आलोचना गर्नु उनको बानी बनेको छ। सामाजिक सञ्जालमा पनि उनी प्रचण्डविरुद्ध कटाक्ष गर्न छाड्दैनन्।

भट्टराईले पछिल्लोपटक सामाजिक सञ्जाल एक्समा प्रचण्डको विरोध गर्दै लेखेका छन्, ‘जनयुद्ध सुरु हुनुअघि हामी तत्कालीन क्रान्तिकारी माओवादीहरू लेनिनलाई उद्धृत गर्दै भन्दथ्यौँ- ‘पुँजीवादी संसदीय व्यवस्था भनेको खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने पसल हो। तर अहिले अपूरो क्रान्तिपछि आफैँले संविधानसभामार्फत बनाएको आंशिक समानुपातिक समावेशितासहितको प्रतिनिधिसभामा जनयुद्धका ‘सर्वोच्च कमान्डर’ प्रचण्डले कुकुरकै टाउको हाक्काहाक्की देखाएर कुकुरकै मासु बेच्ने कुचेष्टा गरिरहेको देख्दा लेनिनले के भन्दा हुन्र।’

प्रचण्ड र बाबुराम लामो समय सहकार्य गरेका नेता हुन्। माओवादीको जनयुद्धकाल (२०५२-२०६२) मा प्रचण्ड सर्वोच्च कमान्डर थिए भने बाबुराम जनसरकार प्रमुख। २०७२ सालदेखि यी दुई नेता अलगअलग दलमा छन्।

संविधान जारी भएपछि माओवादीबाट अलग भएर बाबुरामले नयाँ शक्ति पार्टी खोले। बाबुरामले नयाँ शक्ति, संघीय समाजवादी, जनता समाजवादी, नेपाल समाजवादीजस्ता पार्टीको नेतृत्व गर्दै आएका छन्। अनेक दलको नेतृत्व गरे पनि उनको राजनीतिक यात्रा ओरालो लागिरहेको छ। २०७९ को चुनावमा बाबुरामको दल उनै प्रचण्ड अध्यक्ष रहेको दलको चुनाव चिह्न लिएर निर्वाचनमा गएको थियो। बाबुरामको दलबाट संघमा एक र प्रदेशमा दुई गरी तीनजना मात्र निर्वाचित भएका थिए।

प्रचण्डले नेतृत्व गरेको दल पनि २०६४ को तुलनामा सांगठनिक रूपमा खिइँदै गएको छ। त्यति बेला ५७५ सदस्यीय संविधानसभामा प्रत्यक्ष र समानुपातिकमा गरी माओवादी २२० सिटमा निर्वाचित भएको थियो। त्यसपछि क्रमशः ओरालो लागेको माओवादी २०७९ सालमा आइपुग्दा २६५ सदस्यीय प्रतिनिधिसभामा ३२ सिटमा सीमित छ।

यति हुँदाहुँदै पनि प्रचण्ड कहिले कांग्रेस र कहिले एमालेसँग गठबन्धन गरेर सत्ताको नेतृत्व गर्दै आएका छन्। बाबुरामको हैसियत भने नेपाल समाजवादी पार्टी अध्यक्षमा मात्रै सीमित छ। अहिले त गण्डकी प्रदेशमा बाहेक सबै प्रदेश र संघीय संसद्‌मा बाबुरामको दलको उपस्थिति शून्य छ। संघीय संसद्‌ सदस्य महिन्द्र राय र बागमती प्रदेशका सांसद गंगानारायण श्रेष्ठले बाबुरामलाई छाडेका छन्।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड हाल अल्पमत सरकारको नेतृत्वमा छन्। यसै विषयमा पनि बाबुरामले प्रचण्डको आलोचना गर्न छाडेनन्। एमाले र कांग्रेस गठबन्धन बनेपछि बाबुरामले सामाजिक सञ्जाल एक्समा लेखे, ‘चर्चित भनाइ छ, केहीलाई सधैँभरी ठग्न सकिन्छ, सबैलाई केहीबेर ठग्न सकिन्छ, तर सबैलाई सधैँभरी ठग्न सकिन्न। सन्दर्भ बुझौँ!’

बाबुरामले सार्वजनिक रूपमा प्रचण्डको आलोचना गरे पनि प्रचण्डले न त्यसको जबाफ दिने गरेका छन् न त कुनै प्रतिकार। कुनै बेलाका सहयात्री प्रचण्ड र बाबुरामबीच पछिल्ला दिनमा किन यति धेरै बेमेल देखिन्छ त? नेपाल समाजवादीका नेताहरू प्रचण्डले बाबुरामसँग गरेको प्रतिबद्धता लत्याएका कारण वैमनस्य बढेको दाबी गर्छन्। उनीहरूको बुझाइमा शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउन भूमिका नखेलेको, आफ्नो पार्टी नेसपा फुटाइदिएको, विकास प्राधिकरण नबनाएको, आफूलाई अलग राखेर समाजवादी मोर्चा बनाएकोजस्ता विषयमा प्रचण्डसँग बाबुराम रुष्ट छन्। माओवादीका नेताहरू भने गैरकम्युनिस्ट भइसकेका बाबुरामले कम्युनिस्ट चरित्रका प्रचण्डको आलोचना गर्नु स्वाभाविकै रहेको बताउँछन्।

प्रचण्ड र बाबुरामबीच पछिल्लो चरणमा देखिएको फाटो भने २०७९ को आमनिर्वाचनपछि हो। २०७९ मंसिर ४ गतेका लागि आमनिर्वाचन मिति घोषणा भइसकेको थियो। चितवनबाट चुनाव हार्ने निश्चित प्रचण्ड सुरक्षित क्षेत्रको खोजीमा थिए। प्रचण्डले बाबुरामसँग सहकार्यको हात अघि बढाए।

२०७९ भदौ ३१ गते शुक्रबार बाबुराम निवास टोखामा भएको डिनर मिटिङमा बाबुराम गोरखा-२ छाड्न सहमत भएका थिए। बाबुरामको सचिवालयका अनुसार उक्त भेटमा प्रचण्ड बाबुरामका सर्त मान्न तयार थिए। गोरखा-२ बाबुरामले तीनपटकसम्म चुनाव जित्दै आएको क्षेत्र हो। यद्यपि दुई नेताबीच कुन सर्तमा सहमति भएको थियो, त्यो कुरा अहिलेसम्म बाहिर आउन सकेको छैन।

प्रचण्डले गोरखाबाट चुनाव जितेपछि बाबुरामले प्रधानमन्त्रीका लागि बार्गेनिङ नगरी शान्ति प्रक्रिया टुंग्याउन भूमिका खेल्न सुझाव दिएका थिए। बाबुरामले प्रचण्डलाई सुझाव दिएका थिए, ‘जनतासँग पाँच वर्षका लागि यही (कांग्रेस-माओवादी) गठबन्धनबाट मत माग्यौँ। तपाईं र शेरबहादुरजी बसेर सल्लाह गर्नुहोस्। पहिलोचोटि तपाईँलाई प्रधानमन्त्री दिए अति राम्रो। नदिए पनि प्रतिष्ठाको लडाइँ नबनाऔँ। तपाईंहरूमध्ये जो भए पनि पहिलो र दोस्रो कार्यकाल हो। शान्ति प्रक्रियाको विषय निष्कर्षमा पुर्‍याउनु मुख्य कार्यभार हो। अहिल्यै प्रधानमन्त्री पाउनुपर्छ भनेर सिट संख्याले पनि पुग्दैन।’

निर्वाचनपछि कांग्रेसभित्र ३२ सिटलाई प्रधानमन्त्री स्वीकार गर्न सकिन्न भन्ने चर्चा थियो। चुनावअगाडि पहिला को प्रधानमन्त्री बन्ने भन्ने सहमति थिएन। दुईमध्ये एक प्रधानमन्त्री बन्ने भन्ने थियो। कांग्रेससँगको वार्तामा आफू प्रधानमन्त्री बन्न नपाउने ठहर भएपछि प्रचण्ड एमालेको सहयोगमा प्रधानमन्त्री भए। त्यसपछि सत्ता समीकरण फेरबदल भइरह्यो। समीकरण फेरबदलमा प्रचण्ड मुख्य योजनाकार भए। यी राजनीतिक घटनालाई नजिक हुन थालेका बाबुरामले त्यसपछि प्रचण्डसँग दुरी बढाउँदै गएको नेसपाका नेताहरू बताउँछन्।

शान्ति प्रक्रियालगायतका काम टुंग्याउन बाबुरामले सुझाव दिए पनि प्रचण्डले ध्यान नदिएको नेसपाका नेताहरूको भनाइ छ। बाबुरामका प्रमुख स्वकीय सचिव रोशन पोखरेलका अनुसार शान्तिप्रक्रिया टुंग्याउन बाबुरामले कांग्रेस र एमालेका नेतालाई भन्दा प्रचण्डलाई जोडबल गरेका थिए। तर त्यसलाई प्रचण्डले चासो नदेखाएको बुझाइ पोखरेलको छ।

प्रचण्डले शान्ति प्रक्रियालाई सत्ता बार्गेनिङको औजार मात्र बनाएको नेसपाको आरोप छ। नेसपाका एक नेता भन्छन्, ‘प्रचण्डले शान्ति प्रक्रिया टुंग्याएर मुलुकलाई स्थायी शान्तिमा लैजान भन्दा पनि सत्ता बार्गेनिङको टुल्स बनाउन खोजे। विवादको एउटा कारण यही हो।’

विकास प्राधिकरणको प्रमुख बन्न चाहेका थिए बाबुराम

चुनावअघि बाबुरामले प्रचण्डलाई विकास प्राधिकरण गठन गर्न सुझाव दिएका थिए। बाबुरामको भनाइ थियो, ‘राष्ट्रिय योजना आयोग प्रधानमन्त्रीको सहयोगी मात्र भयो। त्यसले काम गर्न सकेन। विकास प्राधिकरण स्थापना गरौँ।’ नेसपाका ती नेता भन्छन्, ‘प्रचण्ड प्रधानमन्त्री, बाबुराम विकास प्राधिकरणको प्रमुख बन्ने सहमति थियो।’

प्राधिकरणले देशको महत्त्वपूर्ण योजना तय गरेर कार्यान्वयन गर्दा २-३ वर्षमा दुई अंकको आर्थिक वृद्धिदर पुर्‍याउन सक्ने बाबुरामको बुझाइ थियो। यसमा प्रचण्डले सहमति जनाए पनि प्रधानमन्त्री भएपछि कार्यान्वयन नगरेको ती नेता बताउँछन्। बाबुरामले प्रचण्डमाथि प्रहार गर्नु एउटा कारण यो पनि भएको नेसपाकै नेताको भनाइ छ। प्रधानमन्त्री भएर कहिले बालकोट र कहिले बूढानीलकण्ठ जाने गरेका कारण प्रचण्डको सोचमा परिवर्तन नआएको निष्कर्ष बाबुरामको छ।

समाजवादी मोर्चा घोषणाले झन् तिक्तता

बाबुराम-प्रचण्डबीच दुरी बढ्नुको अर्को कारण समाजवादी मोर्चा हो। समाजवादी केन्द्रको नक्सा कोरेर राजनीतिक दलहरूलाई विश्वासमा ल्याउन वातावरण बनाइरहेका बाबुरामलाई प्रचण्डले मोर्चामा सहभागी गराएनन्।

प्रचण्डले मोर्चा घोषणा गर्न लागेको समाचार आएपछि बाबुराम प्रचण्ड निवास पुगेका थिए। बाबुराम निकट एक नेताका अनुसार प्रचण्डले बाबुरामलाई समाचारमा सत्यता नभएको बताएका थिए। प्रचण्डको भनाइ उद्धृत गर्दै ती नेता भन्छन्, ‘बाहिर आउने हल्लामा सत्यता छैन। समाजवादी केन्द्रको नक्सा कोर्ने तपाईँ, भन्ने तपाईंँ, विचार तपाईँको। यो आवश्यक छ, जनताले विश्वास गर्ने आधार तपाईँलाई थाहा छ। त्यो कोर्नुस्। बसेर सल्लाह गरौँला।’

प्रचण्डले त्यसो भनेको पर्सिपल्ट असार ४ गते बाबुरामलाई जानकारी नै नदिई राष्ट्रिय सभागृहमा प्रचण्ड, माधव नेपाल, उपेन्द्र यादव, नेत्रविक्रम चन्द समाजवादी मोर्चा घोषणा भयो। राजनीतिक वृत्तमा कांग्रेससँग कुरा नमिल्दा मोर्चालाई शक्तिका रूपमा प्रचण्डले प्रयोग गरेको चर्चा थियो। यी सबै घटनामा प्रचण्डले आफूलाई समावेश नगरेपछि बाबुराम झन् चिढिएका हुन्।

नेसपा विभाजन

चुनावका बेला टोखामा भएको सहमतिकै आधार पार्टी एकताको तयारी भए पनि त्यसले सार्थकता पाउन सकेन। प्रचण्ड माओवादी ब्रान्ड छोडेर समाजवादी केन्द्रमा आउनुपर्ने बाबुरामको प्रस्ताव पनि विफल भयो। गत चैत ३ गते नेसपा विभाजित भयो। नेसपा अध्यक्ष रहेका महिन्द्र राय यादव, सहअध्यक्ष रहेका गंगानारायण श्रेष्ठको समूह माओवादीसँग एकता गर्ने भन्दै पार्टी फुटाए।

बागमती प्रदेशमा माओवादी नेतृत्वमा सरकार छ। श्रेष्ठ कानुनमन्त्री छन्। संघीय संसद्‌मा यादवलाई माओवादीले संसदीय दलको उपनेता बनाउने आश्वासन दिएको छ। श्रेष्ठले मन्त्री पद जोगाउन र यादवले पद पाउने लोभमा पार्टी फुटाएको नेसपाभित्र चर्चा छ। बाबुराम पक्षले पार्टी विभाजनको मुख्य दोष प्रचण्डलाई दिएको छ। प्रचण्डकै उक्साहटमा गंगा र महिन्द्रले पार्टी विभाजनको पाइला चालेको बाबुराम पक्षको निष्कर्ष छ।

फणीन्द्रलाई कारबाहीपछि झन् उग्र

नेपाल समाजवादी पार्टीको एक मात्र प्रदेश (गण्डकी) सांसद फणीन्द्र देवकोटालाई माओवादीले कारबाही गरेपछि बाबुरामले प्रचण्डको कडा आलोचना गर्न थाले। सांसद देवकोटाले फ्लोर क्रस गरेर नेपाली कांग्रेसका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए। त्यसपछि देवकोटालाई माओवादीले निलम्बन गर्‍यो। नेसपा सर्वोच्च पुग्यो। सर्वोच्चको अन्तरिक आदेशबाट फणीन्द्रको सांसद पद जोगियो। उनी मन्त्री भएका छन्।

यस घटनामा प्रचण्डलाई बाबुरामले प्रगतिशील बहुदलीय प्रतिस्पर्धात्मक लोकतन्त्रको जित, स्टालिनवादी निषेधात्मक तत्त्वहरूको हार’ को संज्ञा दिए। बाबुराम यतिमा मात्रै अडिएनन् उनले प्रचण्ड नेतृत्वले सत्ताको उन्मादमा बलजफ्ती फणीन्द्रलाई कारबाही गरेको आरोप लगाए।

बाबुरामले भनेका थिए, ‘राजनीतिक र नैतिक प्रश्न हो। … प्रचण्डले बीचैमा प्रधानमन्त्री पदको लोभमा गठबन्धनलाई तोडेर जनमतलाई विश्वासघात र अपमान गरे तर फणीन्द्रले इमानदारीपूर्वक आफ्नो पार्टीको नीति अनुरूप जनमतको कदर गर्दै चुनावपूर्वको गठबन्धनका सुरेन्द्रलाई मुख्यमन्त्रीमा समर्थन गरे। आखिर कसले राजनीतिक इमान्दादारी र नैतिकता कायम गर्‍यो? इमान्दार र नैतिकवान्लाई उल्टै दण्ड? यो ‘चोरलाई चौतारो, साधुलाई सुली’ नभए के हो?’ उनले गोरखाली मतदाताले फैसला गर्न पाउने कि नपाउने भन्ने प्रश्न अघि सार्दै भने, ‘बरु अब राइट टू रिकलको व्यवस्था गरेर उल्टै प्रचण्डलाई फिर्ता बोलाउनुपर्ने होइन र? यसबारे सार्वजनिक विमर्श गर्ने कि? नत्र कथित म्याजिकल नम्बरको आडमा प्रचण्डले गरिरहने अनन्त ‘उथलपुथल’ को मारमा देश र जनताले कहिलेसम्म सास्ती भोग्नुपर्ने होला?’

गण्डकीको घटनामा बाबुरामले प्रचण्डलाई दबाबमा राख्न सफल भएको बुझाइ राजनीतिशास्त्री कृष्ण पोखरेलको छ। उनी भन्छन्, ‘प्रचण्डले बाबुरामको नेताकार्यकर्ता खोसेर जुन ढंगले एक्लो बनाएका थिए, कही न कहीँ धक्का दिनुपर्छ भनेर बाबुरामले गण्डकीमा कार्ड खेलेका हुन्। त्यो कार्डमा उनी सफल भए।’

प्रचण्डको ‘उथपुथल’

प्रचण्डले एक सार्वजनिक कार्यक्रममा आफू बाँचुन्जेल नेपाली राजनीतिमा उथलपुथल भइरहने बताएपछि त्यसको विभिन्न टीकाटिप्पणी भइरहेको छ। यसमा बाबुराम पनि असन्तुष्ट छन्। उनको टिप्पणी छ, ‘केही निरीह सांसदको पोको बोकेर एउटासँग गठबन्धन गर्दा ‘संविधान र लोकतन्त्रको रक्षानिम्ति’भन्ने अनि केही महिनाभित्र अर्कोसँग घाँटी जोड्दा ‘वामपन्थी/कम्युनिस्ट एकतानिम्ति’ भन्ने! यस्तो नांगो अवसरवादलाई जनयुद्धको गौरवशाली विरासतसँग जोडेर उल्टै ‘ठूलो उथलपुथल’ भन्ने! विचरा सोझा कार्यकर्ता किंकर्तव्यविमूढ बनेर मन लागीनलागी ताली ठोक्ने! अलिकति पनि अग्रगामी चेत र राजनीतिक मूल्यान्यता बाँकी रहेकाहरूले भन्नैपर्छ- अब अति भो!’

‘जनयुद्ध’ का सर्वोच्च कमान्डर पटक-पटक प्रधानमन्त्री हुँदा शान्ति प्रक्रिया पूरा गर्ने कुरालाई पहिलो प्राथमिकतामा राख्नुको सट्टा कुर्सीमा ध्यान दिएको बाबुरामको भनाइ छ। बाबुराम प्रश्न गर्छन्, ‘शान्ति प्रक्रियाका प्रमुख हिस्सेदार कांग्रेस र एमाले र तीसँग जोडिएका शक्ति केन्द्रहरू सबैलाई साथ लिएर शान्ति प्रक्रिया टुंगिन्छ कि आफ्नो कुर्सीकाल लम्ब्याउन कहिले कोसँग कहिले कोसँग टाँसिने र अर्कोलाई धोका दिने तरिकाले टुंगिन्छ?’

असार १९ गते एमालेका मन्त्रीहरूले राजीनामा बुझाउँदा बालुवाटारमा प्रचण्डले कसैलाई माया गर्नु एउटा भूल गरेँ मैले गीत गाएका थिए। बाबुरामले प्रचण्डलाई कुर्सीलाई माया गर्दा यस्तो अवस्था आएको भन्नु तथ्यपरक होला भन्दै कटाक्ष गरे। बाबुरामले भने, ‘कसैलाई माया गर्नु’ हैन ‘(कुर्सी)लाई माया गर्नु एउटा भूल गरें मैले…’ भन्नु बढी तथ्यपरक होला!’

बाबुरामले ‘जनयुद्ध’ का कतिपय घटना स्मरण गर्दै प्रचण्डलाई धारे हात लगाइरहेका छन्। नौ वर्षदेखि निरन्तर सत्तामा बस्दा प्रचण्डले शान्ति प्रक्रिया टुंग्याउन कुनै सार्थक पहल नगरेको, संघीयताको कार्यान्वयनमा आवश्यक कानुनी र प्रशासनिक दायित्व निर्वाह गर्न नसक्केको, संविधानसभाको बेलादेखि आफूले उठाउँदै आएको प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक तर प्रत्यक्ष निर्वाचित व्यवस्थापिकाबारे केही नबोलेको आरोप बाबुरामको छ। साथै राष्ट्रिय स्वाधीनताको संवर्धनका निम्ति अत्यावश्यक ईपीजी प्रतिवेदनबारे मुख खोल्न नसकेको, ठूला भ्रष्टाचारका काण्ड कुनैलाई सार्थक निष्कर्षमा पुर्‍याउन नसकेको, संरचनात्मक संकटमा फसेको अर्थतन्त्र उकास्न र लाखौं युवालाई देशभित्रै रोजगारी सिर्जना गर्नेबारे माखो मार्न नसकेको आरोप लगाउँदै आएका छन्।

माओवादीका महासचिव देव गुरुङ बाबुराम गैरकम्युनिस्ट भइसकेकाले उनले प्रचण्डको आलोचना गर्नु स्वाभाविक रहेको बताउँछन्। उनी भन्छन्, ‘गैरकम्युनिस्टले कम्युनिस्टको विरोध गर्नु त राम्रो कुरा हो। गैरकम्युनिस्टले कम्युनिस्टको प्रशंसा गर्‍यो भने कम्युनिस्ट बिग्रेको ठहरिन्छ।’ गैरकम्युनिस्टले कम्युनिस्टको विरोध गर्नु भनेको कम्युनिस्ट सुरक्षित रहेको भनेर बुझ्नुपर्ने गुरुङले बताए। उनले भने, ‘त्यसकारण बाबुरामको आलोचना कम्युनिस्टहरू ठिक रहेछन्, प्रचण्ड ठिक रहेछन् भन्ने कुराको प्रमाण हो।’ उनले बाबुरामले मार्क्सवाद, लेनिनवाद छोडेर गैरकम्युनिस्ट बनेको बताए।

राजनीतिशास्त्री पोखरेल क्षणिक लाभ नमिल्दा यस्ता खालका विकृति आउनु स्वाभाविक रहेको बताउँछन्। उनी भन्छन्, ‘अब कम्युनिस्ट तरिकाले अगाडि बढ्न सकिँदैन। सापेक्ष ढंगले अगाडि जानुपर्छ भन्ने बाबुरामको धारणा थियो। त्यही धारणाअनुसार समाजवादी बनाउने कुरामा प्रचण्ड पनि लागे। प्रचण्ड शक्तिसँग बढी केन्द्रित भए। शक्ति प्राप्त गरेपछि बाबुरामको कुरामा मतलब राखेनन्। अनि बाबुराम रुष्ट हुँदै गएका हुन्।’

त्यसो त माओवादीको चुनाव चिह्नबाट चुनाव जितेका बाबुरामका मान्छे पनि प्रचण्डतिर लागेका छन्। ‘हिजो जे सहमति गरेर एउटा बाटोमा हिँड्ने भन्ने थियो, त्यसलाई प्रचण्डले उल्लंघन गरेका कारण तिक्तता बढेको हो।’

पोखरेल शान्ति प्रक्रियाको विषयले दुई नेतालाई एक ठाउँमा ल्याउन सक्ने सम्भावना देख्नछन्। उनले भने, ‘जहाँसम्म शान्ति प्रक्रियाको कुरा छ, त्यसमा पर्दा कोही पनि जोगिनेवाला छैनन्। त्यतिबेला उनीहरू हुन सक्छन्। प्रचण्डको राजनीतिक यात्रामा ठक्कर लागेकाले चेत आउँछ कि उनको। मलाई लाग्छ, अबको नयाँ राजनीतिक परिवेशमा आपसी सम्बन्धकोबारेमा पुनर्विचार गर्लान्।’

प्रकाशित: २६ असार २०८१ १४:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 12 =