युक्रेनमा युद्धबन्दी बनाइएका नेपालीको उद्धारमा सरकारले दिएन चासो

रमेश भारती २५ असार २०८१ १९:०६
112
SHARES
युक्रेनमा युद्धबन्दी बनाइएका नेपालीको उद्धारमा सरकारले दिएन चासो

काठमाडौँ- युक्रेन सरकारले नेपाली नागरिक आफ्नो मुलुकको सेनामा कार्यरत रहेको सूचना दिए पनि उनीहरूको फिर्तीका लागि नेपाल सरकारले चासो दिएको छैन। साथै युद्धबन्दीका रूपमा राखिएका ६ नेपालीको उद्धारका लागि सरकारले पहल थालेको छैन। युक्रेनी सेनाले मंसिरदेखि रुसी सेनामा कार्यरत नेपालीलाई नियन्त्रणमा लिई बन्दी बनाउन थालेको हो।

युक्रेनी सेनामा ७० भन्दा बढी नेपाली कार्यरत रहेको जानकारी नयाँदिल्लीस्थित युक्रेनी दूतावासले तीन महिनाअघि नै त्यहाँको नेपाली दूतावासलाई दिएको थियो। नयाँदिल्लीस्थित नेपाली दूतावासका एक अधिकारीले भने, ‘दिल्लीस्थित युक्रेनी राजदूत ओलेक्सेन्डर पोलिस्चुकले नेपाली राजदूत डा. शंकर शर्मालाई तीन महिनाअघि आफ्नो मुलुकको सेनामा नेपाली भर्ना भएर रुसविरुद्धको युद्धमा सामेल भएको जानकारी दिएका हुन्।’ साथै युक्रेनी सेनाले बन्दी बनाएका नेपालीका बारेमा पनि राजदूत पोलिस्चुकले जानकारी गराएका थिए।

युक्रेनको दूतावासले उनीहरूको सेनामा नेपाली कार्यरत रहेको पटकपटक अनौपचारिक जानकारी गराए पनि नेपाल सरकारले यस विषयलाई गुपचुप राखेको ती अधिकारीले बताए।

उनका अनुसार दिल्लीस्थित दूतावासले यो खबर युक्रेनी राजदूतबाट पाएलगत्तै परराष्ट्र मन्त्रालयमा जानकारी गराएको थियो। राजदूत डा. शर्मालाई युक्रेनी समकक्षीले जानकारी दिएलगत्तै नेपाली नागरिकलाई सेनामा भर्ना नलिन आग्रह गरेका थिए। साथै युक्रेनी सेनाले बन्दी बनाएका नेपालीलाई मुक्त गर्नुपर्ने विषयमा डा. शर्माले उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई पनि जानकारी गराएका थिए।

परराष्ट्र मन्त्रालय भने यसबारे बेखबरजस्तै छ। मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले रुसी सेनामा जस्तै युक्रेनी सेनामा पनि नेपाली भर्ती भएको आशंका गरेका छन्। उनका अनुसार युक्रेनी सेनामा नेपाली भर्ती भएको वा कार्यरत रहेको विषयमा आधिकारिक सूचना आएको छैन। उनले मस्कोस्थित नेपाली दूतावासले युक्रेनी सरकारसँग बुझ्ने प्रयास गरिरहेको बताए।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने गत मंसिरमै रुसी सेनामा जस्तै युक्रेनी सेनामा पनि नेपाली भर्ती भएको बताएका थिए। त्यतिबेला रुसीमा सेनामा दुई सय नेपाली भर्ती भएको जानकारी गराएका प्रधानमन्त्रीले युक्रेनी सेनामा कार्यरत नेपालीको संख्या भने खुलाएका थिएनन्।

परराष्ट्र नारायणकाजी श्रेष्ठले गत फागुनमा मन्त्रालयको नेतृत्व सम्हालेलगत्तै युक्रेनको सेनामा कति नेपाली कार्यरत छन् भनेर तत्काल जानकारी लिने बताए पनि अहिलेसम्म आधिकारिक विवरण उपलब्ध गराउन सकेका छैनन्।

दिल्लीस्थित नेपाली दूतावासका ती अधिकारीका अनुसार युक्रेनी सेनामा ७० देखि ९० जना नेपाली कार्यरत रहेको जानकारी आएको छ। ‘दिल्लीस्थित युक्रेनी दूतावासले यकिन संख्या नभने पनि आफ्नो मुलुकमा नेपाली सेना कार्यरत रहेको पाइएको जानकारी गराएको छ। दूतावासले गलत सूचना नदिनुपर्ने हो,’ ती अधिकारीले दिल्लीबाट फोन सम्पर्कमा भने।

केही महिनाअघि नेपाली युवकले ‘रुसविरुद्ध लड्न भन्दै’ युक्रेनी सेनामा प्रवेश गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए। प्रताप बस्नेत नाम बताउने ती युवकले आफू रुसविरुद्ध युक्रेनका तर्फबाट ‘युद्ध लड्न’ सेनामा गएको बताएका थिए। उनले नेपालको ठेगानाचाहिँ खुलाएका थिएनन्।

रुसी सेनामा भर्ती भएका नेपालीले समेत युक्रेनी सेनामा नेपाली रहेको बताउँदै आएका छन्। तर यसको आधिकारिक पुष्टि हुन सकेको छैन।

रुसका तर्फबाट युक्रेनी भूमिमा खटिएका मोरङका विकास लिम्बूले युक्रेनी सेनामा नेपाली पनि कार्यरत रहेको बताए। उनी अहिले युक्रेनको बन्दरगाह सहर मारिउपोलमा खटिएका छन्। उनका अनुसार त्यो सहरभन्दा ४० किलोमिटर पर युक्रेनी सेनाको ब्यारेक छ। सामाजिक सञ्जालमा सम्पर्कमा आएका लिम्बूले भने, ‘त्यहाँ दुई जना नेपाली रहेको सूचना साथीहरूले दिएका छन्। मैले सम्पर्क गर्न खोजेँ तर रुसी सेनाले सुराकीको आरोप लगाउँछ भनेर सोधीखोजी गर्न छाडेँ।’

युक्रेनी सेनाले बन्दी बनाएका मध्ये पाँच नेपालीको विवरण सार्वजनिक गरिएको छ। ती नेपालीहरूमा राजापुर नगरपालिका-१ बर्दियाका विवेक खत्री, मण्डनदेउपुर नगरपालिका-६ काभ्रेका सिद्धार्थ ढकाल, लेटाङ-२ मोरङका विकास राई, दाङका प्रतीक पुन, खैरहनी चितवनका सुजन सुवेदी र गोरखाका ईश्वर लामिछाने छन्। उनीहरूमध्ये गारेखाका ईश्वर लामिछानेका सम्बन्धमा युक्रेनी सेनाले कुनै विवरण सार्वजनिक नगरेको परराष्ट्र प्रवक्ता राईले बताए। खत्री बन्धक रहेको विषयमा परराष्ट्रले मंसिरमै जानकारी गराएको थियो।

रुसी सेनामा भर्ती भएका ४७ जना नेपालीले ज्यान गुमाइसकेका छन्। दुई सयभन्दा बढी घाइते भएर आफ्नै खर्चमा स्वदेश फर्किएको कन्सुलर विभागले जनाएको छ। रुसमा सात हजारभन्दा बढी नेपाली भर्ती भएको परराष्ट्र मन्त्रालयको अनुमान छ। उनीहरू सबै अवैध रूपमा रुस पुगेर त्यहाँको सेनामा भर्ती भएकाले खोजी र उद्धारमा समस्या भइरहेको प्रवक्ता राई बताउँछन्।

प्रकाशित: २५ असार २०८१ १९:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =