बूढानीलकण्ठमा ‘शान्ति ग्यालरी’

हिमाल प्रेस १७ असार २०८१ २१:१७
22
SHARES
बूढानीलकण्ठमा ‘शान्ति ग्यालरी’

काठमाडौँ- मानव अधिकारका लागि महिला, एकल महिला समूहले बूढानीलकण्ठ–७ स्थित छहारी भवनमा सशस्त्र द्वन्द्वपछिको शान्ति प्रक्रियासँग सम्बन्धित ‘शान्ति ग्यालरी’ स्थापना गरेको छ।

आज (सोमबार) कलात्मक सजावटसहितको ग्यालरी उद्घाटन गर्नुका साथै सोही स्थलमा ‘आराध्याती’ शालिकको अनावरण गरिएको छ। शान्ति ग्यालरीमा नेपालमा भएको सशस्त्र युद्ध र त्यसबाट नेपाली समाजमा परेको प्रभाव, एकल महिला भएर बालबच्चासहित समाजमा बाँच्नका लागि गर्नुपरेका संघर्ष, शान्ति प्रक्रियाका लागि बनेका ऐन, कानुन, आयोगका गतिविधिका तस्बिर राखिएका छन्।

उद्घाटन कार्यक्रममा राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले नेपाली समाजमा महिलालाई महत्त्व नदिने प्रवृत्तिका कारण हरेक पाइलामा हुने हिंसा र एकल भएपछि भोग्नुपर्ने पीडालाई ग्यालरीले उजागर गरेको बताइन्।

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य एवं एकल महिला समूहका संस्थापक अध्यक्ष लिली थापाले द्वन्द्व वा अन्य समयमा श्रीमानको मृत्युपछि समाज र परिवारमा शान्ति कायम राखेर अगाडि बढ्न सक्ने महिलाको योगदानलाई अभिलेखीकरण गरिएको बताइन्।

समूहका अध्यक्ष कविता पाँडेले आफूहरू कम्बोडियाको भ्रमणमा जाँदा त्यहाँ शान्ति ग्यालरीको अवलोकन गरेपछि नेपालमा पनि यस्तो बनाउनुपर्छ भन्ने सोच आएको बताइन्।

कार्यक्रममा नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले एकल महिला समूहले महिला सशक्तीकरणका लागि गरिरहेका अभियान प्रेरणादायी र अनुकरणीय रहेको उल्लेख गरिन्।

त्यस अवसरमा लैंगिक समानता तथा महिला सशक्तीकरणसम्बन्धी संयुक्त राष्ट्रसंघीय निकाय युएन वुमनका प्रमुख प्याट्रियाले नेपाली एकल महिला समूहले एकजुट हुनुमा नै शक्ति छ भन्ने उदाहरण प्रस्तुत गरेको धारणा राखे।

प्रकाशित: १७ असार २०८१ २१:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 12 =