सुरेन्द्रलाई टिकाएर गोरखा-२ जोगाउने बाबुराम नीति!

हिमाल प्रेस २८ जेठ २०८१ १८:३८
464
SHARES
सुरेन्द्रलाई टिकाएर गोरखा-२ जोगाउने बाबुराम नीति!

काठमाडौँ- आगामी चुनावमा गोरखा-२ सुरक्षित गर्न नेपाल समाजवादी पार्टी (नेसपा) ले नेपाली कांग्रेसलाई गण्डकी सरकारमा सघाएको छ। समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई अर्को चुनावमा जोगाउन नेसपा गण्डकी प्रदेशका एकमात्र सांसद फणीन्द्र देवकोटाले सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएको नेताहरूले बताए।

विश्वासको मतका लागि निर्णायक बनेका देवकोटाले पार्टी संयोजक डा.बाबुराम भट्टराईको निर्देशनमा पाण्डेलाई मत दिएको समाजवादीका एक नेताले बताए। पाण्डेलाई विश्वासको मत दिने नदिने निर्णयका लागि पार्टी केन्द्र र प्रदेशले डा.भट्टराईलाई जिम्मा दिएको थियो।

देवकोटा गोरखा–२ (क) बाट निर्वाचित भएका हुन्। उनी तत्कालीन केन्द्रीय गठबन्धन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीका साझा उम्मेदवार थिए। मुख्यमन्त्री पाण्डेले गोरखा–२ (ख) बाट निर्वाचित भएका हुन्।

नेसपाले अहिले कांग्रेसलाई सघाउनुको मुख्य कारण डा.भट्टराईको राजनीतिसँग जोडिएको नेताहरू बताउँछन्। डा.भट्टराई आगामी चुनावमा गोरखा-२ बाट चुनाव लड्ने तयारीमा छन्। उनले गत चुनाव (२०७९) मा भने उम्मेदवारी नदिएर हालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ठाउँ छाडिए।

नेसपाका एक नेता भन्छन्, ‘प्रचण्डलाई छाडेपछि जिल्लावासी र पार्टी नेताकार्यकर्ताबाट आलोचित भएका डा.भट्टराई अब त्यो गल्ती दोहोर्‍याउने पक्षमा हुनुहुन्न।’

भट्टराईले आगामी चुनावमा गोरखा–२ बाट चुनाव लड्न तयारी थालेका छन्। पाण्डेलाई विश्वासको मत दिनु पनि एउटा तयारी रहेको ती नेताको बुझाइ छ।

नेसपाका ती नेता भन्छन्, ‘गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई हामीले विश्वसको मत दिएर ठिक गर्‍यौँ। यसले तत्कालीन र दीर्घकालीन अर्थ राख्छ। हिजो कांग्रेससहितको गठबन्धन बनाएर चुनावमा गएका थियौँ। अहिले अलग हुनुपर्छ भन्ने छैन। हामीले भोलिको बाटो पनि हेर्नुपर्छ। भाेलि पनि हामीलाई कांग्रेसको साथ चाहिनसक्छ।’

देवकोटाले कांग्रेसलाई भोट हाल्नुको अर्थ जनताको आवश्यकता सम्बोधन गर्न खोजेको बताए। उनले भने, ‘प्रदेशसभामा आएपछि म जहिल्यै पनि सकारात्मक नतिजाको लागि उभिएको छु। यो कुरा बारम्बार भनेको छु। तपाईंहरूले कति बुझ्नुभएको छ?’

गोरखा-२ मा मुख्यमन्त्री पाण्डे कांग्रेसका बलिया उम्मेदवार हुन्। पाण्डेलाई अहिलेदेखि नै विश्वासमा लिनसके आगामी चुनावमा गोरखा–२ डा.भट्टराईलाई गाह्रो नपर्ने र कांग्रेससँग गठबन्धन गर्दा सजिलै चुनाव जित्ने नेसपा गोरखाको विश्वास छ। गोरखा-२ बाटै डा.भट्टराईले लगायतार तीन पटकसम्म चुनाव जितिसकेका छन्। २०७४ सालको चुनावमा पनि डा.भट्टराई कांग्रेसकै सहयोगमा चुनाव जितेका थिए।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =