सदनमा लिङ्देन र उपसभामुखबीच दोहोरी, सांसदहरू बने रमिते

हिमाल प्रेस २२ जेठ २०८१ १४:३०
62
SHARES
सदनमा लिङ्देन र उपसभामुखबीच दोहोरी, सांसदहरू बने रमिते प्रतिनिधिसभाको मंगलबार बसेको बैठक। तस्बिर : रासस

काठमाडौँ- अर्थमन्त्री वर्षमान पुन अनुपस्थित भएपछि मंगलबार प्रतिनिधिसभामा उपसभामुख इन्दिरा रानामगर र राप्रपाका सांसद राजेन्द्र लिङ्देनबीच दोहोरी चलेको छ। आर्थिक वर्ष २०८१/८२ को बजेटमा छलफलका लागि सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले अर्थमन्त्री पुन नदेखेपछि भनेका थिए, ‘मेरो आँखाले देखेको छैन, अर्थमन्त्री कता हुनुहुन्छ? कसले सुनिदिन्छ त मेरा कुरा?’ त्यसपछि उपसभामुख इन्दिरा रानामगरले अर्थमन्त्री पुन राष्ट्रियसभा बैठकमा रहेको जानकारी दिएकी थिइन्।

लिङ्देनले भने, ‘के हुन्छ यस्तो? मन्त्रीज्यू त हुनुपर्ला, कि उहाँको बदला कसैले सुनिदिनुपर्ला।’ रानामगरले मन्त्री त्यहीँ अगाडि रहेको बताएकी थिइन्। त्यसपछि सभामा सहभागीहरू हाँसेका थिए। सांसद लिङ्देनले भने, ‘त्यसरी भएन अर्थमन्त्री हुनुपर्‍यो। अर्थमन्त्रीजीलाई सुनाउनकै लागि हामी छलफलमा छौँ। तपाईँले ल्याउनुभएको यो भयो, यो भएन भन्ने त सुनाउन पर्‍यो।’

सत्ता पक्षका सांसदले भेटेर छलफल गर्न पाउने उनको भनाइ थियो। उनले भने, ‘मिलाएरै गरेको होला, समर्थन गरे पनि विरोध गरे पनि। हामी बाहिरकाहरूले यहीँ त हो सुनाउने।’ त्यसपछि उपसभामुख रानामगरले आफूले बोलाउन पठाएको बताएकी थिइन्। लिङ्देनले बोलाएपछि मात्रै छलफलमा भाग लिने बताए।

उनले भने, ‘पावरले फरक परेको हो भनेर हेर्न खोजेँ, देखिनँ मैले।’ उनले संसद् बैठक केही बेर स्थगित गर्न आग्रह गरेका थिए। उपसभामुखले खानेपानी मन्त्री सदनमा रहेकाले छलफलमा भाग लिन आग्रह गरेकी थिइन्। लिङ्देनले अर्थमन्त्री नै चाहिने अडान राखेका थिए।

उनले भनेका थिए, ‘खानेपानीमन्त्रीले म सक्छु भनेर भनेदेखि ठिक छ।’ रानामगरले फेरि भनिन्, ‘माननीयज्यू अगाडि बढौँ, मन्त्रीजी आउँदै हुनुहुन्छ। तपाईँलाई समय बढाउँला।’ लिङ्देनले अर्थमन्त्री आएपछि समय गणना हुने हो भनेर प्रश्न गरेका थिए। उनी मन्त्री आएपछि सुरु गर्छु भनेर रोस्ट्रममा उभिइरहे।

उनले भने, ‘म उभिन सक्छु, एकछिन ब्रेक गरौँ।’ रानामगरले ब्रेक नगरौँ बरु अर्थसम्बन्धी केही टुक्का भन्दै गर्नुहोला भनेकी थिइन्। त्यसपछि सत्तापक्षीय सांसदले सदन दोहोरी खेल्ने ठाउँ हैन भनेर आपत्ति जनाएका थिए। अनि राप्रपा सांसद ज्ञानेन्द्र शाहीले बजेटसम्बन्धी छलफलमा अर्थमन्त्री उपस्थित हुनैपर्ने बताएका थिए। त्यसपछि  सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए।

प्रकाशित: २२ जेठ २०८१ १४:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 15 =