प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)
काठमाडौँ- काठमाडौँ प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) एक साताभित्र प्रतिनिधिसभा बैठकमा उपस्थित हुने भएका छन्। उक्त कुराको जानकारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले मंगलबार प्रतिनिधिसभा बैठकमा दिएका हुन्। उनले संसद्का सबै दलका मुख्य सचेतक, प्रमुख सचेतक र सचेतकसँग छलफल गरेर प्रधानमन्त्री कार्यालयमा पनि आफूले कुराकानी गरेको बताए।
बुर्लाकोटीले भने, ‘प्रधानमन्त्रीको सचिवालयमा पनि कुराकानी गरेको छु। सम्माननीय प्रधानमन्त्रीज्यू सदनमा आउनुहुन्छ। सम्भवत: एक हप्ताभित्र सदनमा आउने जानकारी गराउन चाहन्छु।’
यसैबीच १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभा बैठक मंगलबार फेरि सुरु भएको छ। बैठक सुरु भएलगत्तै विपक्षी दलहरूले फेरि अवरोध गरेका छन्। यसअघि पनि विपक्षीले अवरोध गरेका कारण सभामुख डोलप्रसाद अर्यालले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए। दोस्रो बैठकमा विपक्षी सांसदहरूले सत्तापक्षीय सांसद जगदीश खरेलले बोलेको शब्दलाई लिएर आपत्ति जनाएका छन्।
उनीहरूले सांसद खरेलले बोलेको ‘तमासा’ शब्द असंसदीय भन्दै संसद्को रेकर्डबाट हटाउन माग गरेका छन्। सांसद खरेलले विपक्षी दलले जनाएको विरोधलाई ‘तमासा’ भनेका थिए। उनको त्यो भनाइमा कांग्रेस सांसद नरेन्द्रकुमार केरुङ आक्रोशित भएपछि बैठक स्थगित गरिएको थियो।




