एमाले सुनसरी अध्यक्षले कुटे प्राडा पोखरेल

विवेक विवश रेग्मी ६ जेठ २०८१ २०:५०
76
SHARES
एमाले सुनसरी अध्यक्षले कुटे प्राडा पोखरेल

इटहरी- नेकपा एमाले सुनसरीको जिल्ला अधिवेशनमा भाँडभैलो भएको छ। एमालेको जिल्ला अधिवेशन शनिबार पार्टीका उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले उद्घाटन गरेका थिए। आइतबार बन्द सत्रका क्रममा विवादले उग्ररूप लिएको छ।

पार्टी सुनसरीका अध्यक्ष रेवतीरमण भण्डारीले प्रा.डा. बद्रीविशाल पोखरेलमाथि कुटपिट गरेको आरोप लागेको छ। अधिवेशनको बन्द सत्रमा प्रस्तुत प्रतिवेदनको विषयमा भनाभन हुँदा अध्यक्ष भण्डारीले आफूमाथि धकेल्दै हातपातसमेत गरेको पोखरेलले बताए।

‘म साढे ३ बजेतिर अधिवेशनमा गएँ। त्यहाँ एउटा प्रतिवेदनमा बद्रीविशाल पोखरेल अराजक हो, कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ भनेर लेखेको देखेँ,’ पोखरेलले भने, ‘मैले प्रतिक्रिया स्वरूप म अराजक कि तपाईँ अराजक ? भनेर प्रतिवाद गरेपछि ममाथि हातपात भयो।’

आफूले कारबाहीमा परेका मानिसलाई, योग्यता नपुगेकालाई जिल्लामा लगिएको विषयमा समेत आफूले प्रतिवाद गरेकाले हातपातसम्म भएको बताए।

‘कारबाही मलाई गर्नुको कारण के हो? भन्दा भण्डारीले घडी लगाएको हातले ठेलेर हिर्काएँ,’ प्रा.डा. पोखरेलले भने, ‘घटना हेर्दा सामान्य भए पनि एउटा वरिष्ठ प्राध्यापकलाई हात हाल्ने? म एमाले भएपनि अर्कमण्य गतिविधिलाई त सहन्न नि?’

उनले आज आफ्नो ‘हात फुटाउनेले भोलि अरूको टाउको पनि फुटाउन के बेर?’ भन्दै प्रश्नसमेत गरे। हातपात भएपछि भण्डारीलाई प्रतिनिधिहरूले तानेरै लगेका थिए। हातमा लागेको चोट देखाउँदै उनले भने, ‘भनाभन हुँदा भण्डारीले मुक्का हान्न खोजे, मैले छेक्न खोज्दा उनको हातमा लगाएको घडीले मेरो हातमा लाग्यो। घडीले चोट लाग्यो र रगत बग्यो।’

प्रतिवेदनमा स्थानीय तह निर्वाचन, प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पार्टी उम्मेदवारविरुद्ध गतिविधि गर्नेहरूलाई कारबाही गर्ने कुरा उल्लेख गरिएको छ। सोही विषयमा ‘अन्य पार्टी अनुशासन उल्लंघन गरी कारबाहीको प्रक्रियामा रहेको’ शीर्षकमा प्रा.डा. बद्रीविशाल पोखरेलको नाम पनि उल्लेख छ। पोखरेलले सोही विषयमा आपत्ति जनाएका थिए।

यता कुटपिटको विषयमा बुझ्न खोज्दा जिल्ला अध्यक्ष भण्डारीले कुटपिट नभएको बताए। ‘उहाँ मलाई कुट्नका लागि झम्टिएर आउनुभएको थियो,’ कुटपिट भएकै हो ? भन्ने प्रश्नमा भण्डारीले हिमाल प्रेससँग भने, ‘होइन, होइन। कुटपिट गरेको कुरा मिथ्या हो।’ यद्यपि सामान्य विवाद भने भएको उनले बताए। उनले पोखरेललाई ‘अराजककै संज्ञा’ समेत दिए।

उम्मेदवारको मनोनयन प्रक्रिया अगाडि बढ्यो

यसैबीच प्रतिनिधि मनोनयनको विवाद मिलेसँगै नेतृत्व छनौटका लागि उम्मेदवारको मनोनयन दर्ता सुरु भएको छ। प्रमुख निर्वाचन अधिकृत गोविन्द मिश्रका अनुसार मनोनयन दर्ताको काम भइरहेको छ।

अधिवेशनमा सर्वसम्मत रूपमा नेतृत्व छनौटको प्रयास भए पनि सर्वसम्मत हुन नसकेपछि निर्वाचनको माध्यमबाट नेतृत्व छनौटको प्रक्रिया अगाडि बढाइएको हो। मुख्य निर्वाचन अधिकृत मिश्रका अनुसार मतदाता नामावली प्रकाशन, मतदाता नामावलीप्रति दाबी विरोध सकिएर अहिले मतदाताको अन्तिम नामावली प्रकाशन सम्पन्न भएको छ।

प्रकाशित: ६ जेठ २०८१ २०:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + four =