काठमाडौँ- अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटबाट मनोमानी रूपमा करका दर हेरफेर नहुने स्पष्ट पारेका छन्। आज (आइतबार) यहाँ आयोजित पूर्वबजेट छलफलका क्रममा उनले आर्थिक शिथिलता अन्त्य गरेर अर्थतन्त्र चलायमान बनाउनुपर्ने अवस्था रहेको बताउँदै कसैका स्वार्थ हेरर नभई मुलुक हेरेर करका दर हेरफेर गरिने बताएका हुन्।
‘कोही चिनेका, मेरो पार्टी निकटका वा सरकार निकटका व्यवसायीलाई हेरेर करका दरहरूमा आफूखुसी जे मन लाग्यो त्यही गर्दिनँ। करसम्बन्धी व्यवस्था पहिला के थियो, अहिले के छ र के कारणले हेरफेर भएको कारणसहित तीन महलेसहित आर्थिक ऐन आउँछ,’ उनले भने, ‘एउटा अर्थमन्त्रीको सनकले निजीको वर्षौँसम्म गरेको लगानी डुबाउन मिल्दैन। जनताले र राज्यले विश्वासपूर्वक दिएको जिम्मेवारी विश्वासपूर्वक निर्वाह गर्नुपर्छ। त्यसमा हाम्रो प्रतिबद्धता छ।’
अर्थमन्त्री पुनले नेपालले लोकतान्त्रिक र खुला तथा प्रतिस्पर्धात्मक व्यवस्थाको अभ्यास गरिरहेकाले उद्योग व्यवसायसम्बन्धी नीति पनि खुला र पारदर्शी हुनुपर्नेमा सरकार स्पष्ट रहेको बताए।