पूर्वमन्त्री सूर्यमान गुरुङको निधन

हिमाल प्रेस २५ वैशाख २०८१ १६:३०
30
SHARES
पूर्वमन्त्री सूर्यमान गुरुङको निधन

काठमाडौँ-नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री सूर्यमान गुरुङको निधन भएको छ। ८४ वर्षीय गुरुङको काठमाडौंको कमलपोखरीस्थित हिमाल अस्पतालमा उपचारको क्रममा मंगलबार दिउँसो निधन भएको हो।

उनी १८ महिनादेखि बाथ र सुगरले थलिएको कांग्रेस ताप्लेजुङका सभापति डम्बर तुम्याहाङले जानकारी दिए। उनको शव अहिले त्रिवि शिक्षण अस्पतालमा राखिएको छ। दुई छोरा विदेशमा रहेकाले पूर्वमन्त्री गुरुङको शव केही दिन अस्पतालमै राखिने भएको छ। उनका श्रीमती र दुई छोरीसमेत छन्।

उनको पुख्र्यौली घर ताप्लेजुङको सदरमुकाम फुङलिङ नगरपालिका–६ छ। उनी २०७३ सालमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र स्थानीय विकासमन्त्री भएका थिए। उनी प्रजातान्त्रिक आन्दोलनका योद्धा पनि हुन्। २०१८ सालमा कांग्रेसले गरेको सशस्त्र क्रान्तिको क्रममा गुरुङले ताप्लेजुङ र पाँचथरमा क्रान्तिको नेतृत्व गरेका थिए।

क्रान्तिकै क्रममा २०१८ साल चैत्र १७ गते सदरमुकाम फुङलिङमा रहेको प्रहरी ठाना कब्जा गरेका थिए। कारागारका कैदीबन्दीहरूलाई भगाएका थिए। त्यसपछि उनी लामो समय भारत निर्वासित भएको र २०३६ सालमा आममाफी पाएपछि नेपाल फर्किएका थिए। त्यहीबेला उनी केही समय पञ्चायतमा लागे।

२०४६ सालसम्म जिल्ला पञ्चायतको सभापति भए। तर, २०४६ सालको आन्दोलन सफल भएपछि भने कांग्रेसमै फर्किएका थिए। उनले पहिलोपटक २०५१ सालमा ताप्लेजुङका निर्वाचन क्षेत्र २ बाट चुनाव लडे। एमालेका अम्बिकाप्रसाद साँवासँग पराजित भए। २०५६ सालमा क्षेत्र नम्बर १ बाट उम्मेवदार बने। त्यसबेला एमालेका तिलकुमार मेन्याङबोसँग पराजित भए।

चुनाव लडेको डेढ दशकपछि २०६४ सालको संविधानसभा निर्वाचनमा भने उनले माओवादीका राम कार्कीलाई पराजित गरे। २०७० मा भएको दोस्रो संविधानसभामा उनी कांग्रेसबाट समानुुपातिक सभासद भए। त्यहीबेला उनी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र पछि स्थानीय विकासमन्त्री भएका थिए।

पुराना क्रान्तिकारी योद्दा सूर्यमानका बुबा डेलमान गुरुङ पनि सशस्त्र सङ्घर्षमै मिसिएका थिए। उनलाई २०१८ मा पक्राउ गरी पञ्चायती प्रहरीले धनकुटा जेलमा राखेको इतिहासका अध्येतासमेत रहेका लेखक धर्मेन्द्र नेम्वाङले बताए।

प्रकाशित: २५ वैशाख २०८१ १६:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =