कर्मचारी सञ्चय कोषले बाँड्यो ४५८ करोड मुनाफा

हिमाल प्रेस ८ वैशाख २०८१ ११:१९
264
SHARES
कर्मचारी सञ्चय कोषले बाँड्यो ४५८ करोड मुनाफा

काठमाडौँ- कर्मचारी सञ्चय कोषले आफ्ना सञ्चयकर्तालाई मुनाफा वितरण गरेको छ। कोष सञ्चालक समितिको मंगलबार बसेको बैठकले आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण स्वीकृत गर्दै मुनाफा वितरण गर्ने निर्णय गरेको हो।

कोषले सञ्चय कोषका सञ्चयकर्ता तथा निवृत्तभरण कोषका योगदानकर्तालाई आर्थिक वर्ष २०७९/८० को व्यक्तिगत खातामा रहेको सुरु मौज्दात रकममा १.१० प्रतिशतका दरले हुन आउने रकम मुनाफाका रुपमा वितरण गरिएको जनाएको छ। कोषका सञ्चयकर्ता तथा निवृत्तभरण कोषका योगदानकर्ताको खातामा उक्त रकम जम्मा गरिएको छ।

कोषले आथिक वर्ष २०७९/८० मा सञ्चयकर्तालाई कोष रकमको धितोमा प्रवाह भएको विशेष सापटीमा लगाउने ब्याज र कोष रकममा प्रदान गर्ने व्याजदरमा १.१० प्रतिशतको फरक रहेकोमा यस मुनाफा विवरणपछि सञ्चयकर्तालाई थप ब्याजको भार नपर्ने भएको छ।

आव २०८०/८१ का लागि कोषमा रहेको रकममा ७.५ प्रतिशतका दरले ब्याजसमेत प्रदान भइरहेको कोषले जनाएको छ। कोषको यो निर्णयसँगै सञ्चयकर्ताले आव २०८०/८१ को सुरु मौज्दातमा ८.६ प्रतिशतका दरले ब्याज प्राप्त गरेका छन्।

कोषमा आर्थिक वर्ष २०७९/८० को सुरु मौज्दात ४१,६३६ करोड रुपैयाँ रहेको थियो। उक्त रकमका आधारमा मुनाफा रकम वितरण भएपछि ४५८ करोड बराबरको रकम कार्यरत तथा पूर्वसञ्चयकर्ताको करिब ८ लाख ६० हजार खातामा जम्मा गरिएको छ।

कोषले आफ्नै स्रोतबाट स्वास्थ्य उपचार सुविधा¸ काजकिरिया अनुदान¸ सुत्केरी तथा शिशु स्याहार सुविधा¸ दुर्घटना क्षतिपूर्ति अनुदानलगायतका सामाजिक सुरक्षा सुविधा प्रदान गर्दै आएको छ।

कोषले मुनाफाको रकम सञ्चयकर्ताा लागि खडा गरिएका कोषमा जम्मा गरी यस प्रकारका योजना सञ्चालन गर्दै आएको हो। सामाजिक सुरक्षा योजना सञ्चालनका लागि यस वर्ष मुनाफाको १२ प्रतिशतले हुने रकम ७२ करोड २० लाख रुपैयाँ छुट्ट्याइएको कोषले जनाएको छ।

कोषले आफ्ना सदस्यहरुको सेवाकालको आवश्यकता परिपूर्ति गर्ने उद्देश्यले विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, घर मर्मत सापटी, सरल कर्जा¸ जग्गा खरिद सापटी जस्ता सापटी सुविधासमेत उपलब्ध गराउँदै आएको छ।

प्रकाशित: ८ वैशाख २०८१ ११:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − one =