मधेश सरकारबाट बाहिरियो लोसपा, वनमन्त्री कुर्मीले बुझाए राजीनामा

हिमाल प्रेस ४ वैशाख २०८१ १७:४८
18
SHARES
मधेश सरकारबाट बाहिरियो लोसपा, वनमन्त्री कुर्मीले बुझाए राजीनामा

काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेश प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ। लोसपाको संसदीय दलको मंगलबार बसेको बैठकले सरकारबाट बाहिरिने र मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत नदिने निर्णय लिएको हो ।

लोसपाबाट वन तथा वातावरण मन्त्री रहेका रमेशप्रसाद कुर्मीले पनि राजीनामा दिएका छन्।  प्रदेश सभामा ९ सांसद भएको लोसपाले थप एक मन्त्रालय पाउनुपर्ने माग गर्दै आएको थियो। मधेशमा जनता समाजवादी पार्टीका सरोजकुमार यादव मुख्यमन्त्री छन्।

मुख्यमन्त्री यादवले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेश सभा बैठकमा जनमत पार्टीका सांसदले अवरोध गरेका थिए। सभामुखले १० मिनेटका लागि स्थगित गरेको बैठक अझै सुरू भएको छैन।

प्रदेश सभा बैठक सञ्चालनका लागि सभामुखले सर्वदलीय सहमतिको प्रयास गरिरहेका छन्। १०७ सदस्यीय प्रदेश सभामा एमालेका सभामुखसहित २४, नेपाली कांग्रेसका २२, जसपाका १९, जनमत पार्टीका १३, माओवादी केन्द्र र लोसपाका ९/९ र एकीकृत समाजवादीका ७ सांसद छन्।

नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी पार्टीका एक/एक सांसद मधेश प्रदेश सभामा छन्। एक जना स्वतन्त्र सांसद पनि छन्। मधेशमा सरकार जोगाउनका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ।

प्रकाशित: ४ वैशाख २०८१ १७:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =