दुई दशकमा ४८८ वटा भारतीय परियोजना सम्पन्न

हिमाल प्रेस २ वैशाख २०८१ १६:२४
10
SHARES
दुई दशकमा ४८८ वटा भारतीय परियोजना सम्पन्न भारत सरकारद्वारा नेपालका विभिन्न जिल्लालाई उपहारस्वरुप प्रदान गरिएका एम्बुलेन्स। तस्बिर सौजन्य : भारतीय दूतावास

काठमाडौँ- भारतले सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा ५५० वटाभन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ। तीमध्ये ४८८ वटा परियोजना सम्पन्न भइसकेका काठमाडौँस्थित भारतीय दूतावासले जनाएको छ।

यसका साथै भारत सरकारले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसका अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई ९७४ वटा एम्बुलेन्स र २३४ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरेको छ। दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहँदै आएको छ।’

यसैबीच भारतीय दूतावासले आइतबार नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने संघसंस्थालाई ३५ वटा एम्बुलेन्स र ६६ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरेको छ। भारतीय राजदूत नवीन श्रीवास्तवले अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा उक्त एम्बुलेन्स तथा स्कुल बसका चाबी हस्तान्तरण गरेको दूतावासले जनाएको छ।

समारोहमा मेयर तथा विभिन्न जिल्लाका नगरपालिका एवम् गाउँपालिकाका अध्यक्ष, विभिन्न लाभग्राही संस्थाका प्रतिनिधि, राजनीतिक प्रतिनिधि, नेपाल सरकारका पदाधिकारी तथा समाजसेवीको उपस्थिति थियो।

कुल १०१ सवारीसाधनमध्ये दुईवटा एम्बुलेन्स दूूतावासका प्रतिनिधिले भूकम्प प्रभावित जाजरकोट र रुकुम (पश्चिम) जिल्लामै पुगेर जिल्ला अधिकारी तथा स्थानीय बासिन्दाको उपस्थितिमा हस्तान्तरण गरेका थिए।

नेपालका स्वास्थ्य तथा शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै भारत सरकारले तीन दशकदेखि भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न भागमा रहेका विभिन्न लाभग्राही संस्थाहरुलाई एम्बुलेन्स तथा स्कुल बस उपहारस्वरुप प्रदान गर्दै आएको छ।

नेपालका लागि भारतीय राजदूतले उक्त एम्बुलेन्स तथा स्कुल बसको हस्तान्तरण स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा पूर्वाधार विकास गर्न नेपाल सरकारले चालेका प्रयासलाई थप बलियो बनाउन नेपाल–भारत विकास साझेदारी कार्यक्रमअन्तर्गत भारत सरकारले लामो समयदेखि लिँदै आएको पहलमध्येको एक रहेको बताए।

संखुवासभाको चिचिला गाउँपालिका–३ मा निर्माण हुने दिदिङ आधारभूत विद्यालयको भवनको शिलान्यास गरिँदै। तस्बिर सौजन्य : भारतीय दूतावास

यसैगरी भारतीय दूतावासका प्रथम सचिव अविनाशकुमार सिंह र चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नुर्बु शेर्पाले नेपाल-भारत विकास सहकार्यअन्तर्गत भारत सरकारको नेरु. ४.०२९ करोड आर्थिक सहयोगमा संखुवासभा जिल्लाको चिचिला गाउँपालिका–३ मा निर्माण हुने दिदिङ आधारभूत विद्यालयको विद्यालय भवनको शिलान्यास गरेका छन्।

‘नेपाल-भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग यस विद्यालयलाई आवश्यक अन्य सुविधासँगै दुईतले शैक्षिक तथा प्रशासनिक भवनको निर्माणमा उपयोग गरिने दूतावासले जनाएको छ।

नेपाल सरकार र भारत सरकारबीच भएको सम्झौताअन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइनेछ। परियोजना नेपाल र भारतबीचको बलियो विकास साझेदारीको एक महत्त्वपूर्ण दृष्टान्तका रूपमा विज्ञप्तिमा उल्लेख छ।

कोशी प्रदेशका विभिन्न क्षेत्रमा भारतले विभिन्न ८५ वटा परियोजना सञ्चालन गरेको छ। तीमध्ये दुईवटा परियोजना संखुवासभामा छन्। कोशी प्रदेशलाई १४१ वटा एम्बुलेन्स र ३५ वटा स्कुल बस उपहारस्वरूप प्रदान गरिएकोमा १३ वटा एम्बुलेन्स र ३ वटा स्कुल बस संखुवासभा जिल्लालाई उपलब्ध गराइएको भारतीय दूतावासले जनाएको छ।

प्रकाशित: २ वैशाख २०८१ १६:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − two =