सबैको मुहारमा उज्यालो छाओस्!

हिमाल प्रेस १ वैशाख २०८१ ६:४१
48
SHARES
सबैको मुहारमा उज्यालो छाओस्!

शिशिरले उजाड बनाएको रूखमा पालुवा पलाउँदा यति बेला प्रकृति आकर्षक देखिएको छ। बगैँचामा ढकमक्क फुलेका फूलको सौन्दर्यमा जोकोही पनि मन्त्रमुग्ध भएका छन्। कोइलीको सुरिलो आवाजले वनपाखामा संगीतको झन्कार उत्पन्न भइरहेको छ। प्रकृतिको रमणीय वातावरणमा भुलिरहेका बेला हामी विक्रम संवत् २०८१ को स्वागतमा उभिएका छौँ ।

वैशाख १ गते घामको उज्यालो किरणसँगै विक्रम संवत्को नयाँ वर्ष आरम्भ भएको छ। वर्ष र ऋतु परिवर्तन हुनु भनेको पात्रोको पाना पल्टनु मात्रै होइन, नयाँ जोसजाँगरसहित समृद्धिको यात्रातर्फ लम्कने अठोट गर्ने समय पनि हो। साथै विगतका कमजोरी सच्याएर सही बाटोतर्फ लाग्न प्रण गर्ने दिन हो आज। यस क्रममा हामीले गत वर्ष भोग्नुपरेका विकृतिलाई पनि भुल्नु हुँदैन।

२०८० सालमा नेपाली समाजले आशाभन्दा निराशा बढी पायो। विपन्न वर्गको आर्थिक अवस्था सुध्रिएन। शिक्षा र स्वास्थ्यमा व्यापारीकरण भयो। रोजगारी नपाउँदा युवा विदेश पलायन हुन बाध्य भए। कैयौँ युवाको विदेशी भूमिमा ज्यान गयो। सरकारले उद्धारका लागि पहल गरेको देखिएन। उच्चशिक्षाका लागि अध्ययन गर्न विदेश जाने किशोरकिशोरीको लर्काे बढिरह्यो।

राजनीतिक नेतृत्वले युवालाई स्वदेशमा टिकाउन विशेष चासो देखाएको पाइएन। सरकारी नीति र योजना कागजमै सीमित भए। दलका नेताहरू सुन तस्करी, मानव तस्करी, एनसेल कर छलीजस्ता प्रकरणमा मुछिएर विवादित बने। सहकारी पीडित, उखु किसान, मिटर ब्याजपीडित, सशस्त्र द्वन्द्वपीडितका समस्या वर्षभरि समाचार माध्यमका मुख्य विषय बने। शक्तिको आडमा रहेर विधिको शासनविपरीतका गतिविधि भए। कानुनी शासनको उपहास भयो। विवादित व्यक्तिमाथि कानुनअनुसार अनुसन्धान नहुँदा सरकारबाटै नीतिगत भ्रष्टाचारलाई मलजल गर्ने काम भयो। भ्रष्टाचारीको संरक्षण गर्ने गलत परम्पराको विकास भएको छ। अर्थतन्त्र सुधारका लागि ठोस पहल भएन। संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय नहुँदा नीति निर्माण र विकासका काममा बाधा पुगेको छ। वैदेशिक सम्बन्धमा पनि उल्लेख्य प्रगति हुन सकेन। यस्ता विकृति खोतल्दै जाने हो भने लामो सूची बन्न सक्छ।

यसरी समस्याको चाङ थपिनुमा सरकार र त्यसलाई हाँक्ने राजनीतिक दलको भूमिका प्रमुख छ। सिंहदरबारमा बस्ने शासकहरू जनजीविकाप्रति संवेदनशील छैनन् भन्ने आरोप सत्यको नजिक छ। जनताको अभिमत लिएर संसद्मा पुगेका नेताहरू सदन अवरुद्ध गर्न व्यस्त भएका छन्। उनीहरू जनताप्रति जबाफदेही हुनु पर्दैन? हामी यस्तो देशका बासिन्दा हौँ, जहाँका प्रधानमन्त्रीको प्रतिबद्धता कार्यान्वयनमा आउन सक्दैन। जहाँ गयो त्यहाँका श्रोतादर्शकको मन जित्न मात्रै चर्का भाषण गरिदिने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रवृत्तिले जनता आजित छन्। यद्यपि प्रधानमन्त्री प्रचण्ड भाषण गर्दा आफूले हरेक क्षेत्रमा महत्त्वपूर्ण काम गरेको दाबी गर्न बिर्सँदैनन्।

सत्ताधारी दलका नेतामा मात्रै होइन, प्रतिपक्षी र युवा नेता पनि दलीय र व्यक्तिगत स्वार्थको राजनीतिबाट माथि उठ्न सकेको अवस्था छैन। नयाँदेखि पुराना दलसम्म ‘पपुलिजम’ मा रमाउन व्यस्त भएका छन्। जनताले नेताहरूको झुटा आश्वासन पत्याइदिनुपर्ने अवस्था छ। नेताहरू गल्ती गर्छन्। एउटा गल्ती छोप्न खोज्दा धेरै प्रकरण सार्वजनिक हुन्छन्। त्यसैले राजनीतिक नेतृत्वप्रति जनतामा सकारात्मक सन्देश प्रवाह हुन सकेको छैन।

संघमा मात्रै होइन प्रदेशमा पनि राजनीतिक अस्थिरताले जरा गाडेको छ। यस्तो अवस्थामा जनताका मुद्दा सधैँ ओझेलमा परिरहनेछन्। त्यसैले प्रदेशको औचित्यमाथि प्रश्न उठ्ने गरेको छ। प्रमुख दलका केही नेताहरू नै केन्द्र र स्थानीय तहबीच समन्वय भएमा मुलुकको विकास सहज हुने बताउन थालेका छन्।

सिंहदरबारदेखि वडासम्मको नेतृत्व गर्ने व्यक्ति इमानदार हुने हो भने यस्ता धेरै विकृति अन्त्य हुनेछ। नेताहरू भाषणमा रमाउनुभन्दा जिम्मेवारीमा केन्द्रित भएमा जनताले विश्वास गर्नेछन्। जनताको दैनिकीसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा नेतृत्व संवेदनशील हुनैपर्छ। त्यसो त मुलुकलाई सही बाटोमा अघि बढाउन राजनीतिक नेतृत्व मात्रै होइन, कर्मचारी, शिक्षक, सेना, प्रहरी, कानुन व्यवसायी, उद्योगी, पत्रकार, चिकित्सक, अधिकारकर्मी, नागरिक समाज, विद्यार्थीसहित हरेक तह र तप्काका नागरिकको पनि उत्तिकै भूमिका रहन्छ। त्यसैले आजको दिनमा हामी सबैले जबाफदेही बनेर सही मार्गमा लाग्नै प्रण गरौँ र आगामी दिनमा सदाचारपूर्वक अगाडि बढौँ।

नयाँ वर्षको बिहानीमा घामको किरणमा जसरी रूखका पालुवा हाँसेका छन् त्यसैगरी संवत् २०८१ मा नेपाली जनताको मुहारमा उज्यालो छाउन सकोस्। सबै जना खुसी होऊन्। राजनीतिक स्थिरता भएर आमनागरिकले लोकतान्त्रिक र जबाफदेही सरकार रहेको महसुस गर्न पाऊन्! भर्खरै गठन भएको गठबन्धनले मुलुकको हितमा काम गर्न सकोस्। सबैलाई नयाँ वर्षको शुभकामना!

प्रकाशित: १ वैशाख २०८१ ६:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =