सन्दीप लामिछानेको मुद्दामा प्रत्यर्थी झिकाउन उच्चको आदेश

हिमाल प्रेस २३ चैत २०८० १६:११
72
SHARES
सन्दीप लामिछानेको मुद्दामा प्रत्यर्थी झिकाउन उच्चको आदेश फाइल तस्बिर

काठमाडौँ– बलात्कार मुद्दामा जिल्ला अदालतबाट दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनले प्रत्यर्थी झिकाउने आदेश गरेको छ। उच्च अदालत, पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र न्यायाधीश कृष्णराम कोइरालाको इजलासले सुनुवाइपछि प्रत्यर्थी झिकाउन आदेश दिएको हो।

काठमाडौँ जिल्ला अदालत काठमाडौँका न्यायाधीश शिशिरराज ढकालको इजलासले गत पुस २५ गते उनलाई आठ वर्ष कैद र तीन लाख जरिवानाको फैसला गरेको थियो। उक्त फैसलाविरुद्ध गत फागुन १० गते सन्दीप लामिछानेले पुनरावेदन दिएका थिए। उच्च अदालत पाटन प्रशासनका अनुसार मुद्दाका दुवै पक्षलाई झिकाउने आदेशसँगै वैशाख ३ गतेलाई अर्को पेसी तोकिएको छ।

गौशाला २६ सांकेतिक नाम दिइएकी एक युवतीले जाहेरी दिएपछि जबरजस्ती करणीको मुद्दामा जिल्ला अदालत काठमाडौँबाट सन्दीप दोषी ठहर भएका थिए। पीडित युवती गौशाला २६ का तर्फबाट पनि सरकारी वकिलले सन्दीपलाई काठमाडौँ जिल्ला अदालतले तोकेको सजाय कम भएको भन्दै पुनरावेदन गरेका छन्।

गौशाला २६ लाई काठमाडौँ जिल्ला अदालतले १८ वर्ष पूरा भएर बालिग भएको फैसला दिएको थियो। तर उनी नाबालिग नै रहेको दाबी गर्दै उच्चमा पुनरावेदन गरिएको हो। उक्त निवेदनमा पनि शुक्रबार नै छलफल भएको थियो।

प्रकाशित: २३ चैत २०८० १६:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =