पोखरा पुगेका ओलीले भने : खरानीको डल्लो फुटेर नयाँ गठबन्धनको सरकार बनेको छ

हिमाल प्रेस २३ चैत २०८० १४:१२
50
SHARES
पोखरा पुगेका ओलीले भने : खरानीको डल्लो फुटेर नयाँ गठबन्धनको सरकार बनेको छ

पोखरा- एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेससहितको गठबन्धन फुट्नुको विकल्प नभएको टिप्पणी गर्दै एमालेविरुद्धको दक्षिणपन्थी गठबन्धन तोकिन पुगेको बताएका छन्। उनले उक्त गठबन्धनलाई खरानीको डल्लो भनी संज्ञा दिए।

‘त्यतिबेलाको गठबन्धनलाई मैले भनेको थिएँ, यो खरानीको डल्लो हो, सुक्यो भने पनि फुट्छ भिज्यो भने पनि फुट्छ। जे गरे पनि फुट्छ,’ एमाले कास्कीको ११ औं अधिवेशनबाट निर्वाचित कार्यसमितिको सपथ समारोहमा शुक्रबार बोल्दै उनले भने, ‘त्यो फुट्नेवाला थियो। फुट्नुको विकल्प नै थिएन। नभन्दै खरानीको डल्लो फुट्यो।’

ओलीले गठबन्धन भत्काउँदैछौँ भन्नेबारेमा कति महिना पहिले सूचना दिनुपर्ने हो भनी कांग्रेसप्रति अर्को व्यङ्ग्य कसे। एमाले छिर्के लागेर लडेपछि चुपचाप नबस्ने उठेर हमला गर्ने पार्टी रहेको समेत बताए।

माओवादी केन्द्रले कांग्रेससँगको गठबन्धन तोडेर एमाले–रास्वपालगायत दलसँग गत २१ फागुनमा नयाँ सत्तासमीकरणको सहमति गरेको थियो। जसका कारण अहिले प्रदेश सरकार पनि हल्लिन पुगेका छन्। गण्डकीमा सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि नयाँ सरकार गठनको आहवान भइसकेकोमा एमालेलाई साथ दिन राप्रपालाई आग्रहसमेत गरे।

पोखरा सभागृहमा भएको सपथ समारोहमा पुग्नुअघि उनले राप्रपा गण्डकी प्रदेश संसदीय दलका नेता पञ्चराम गुरुङलाई भेट गरी एमालेलाई साथ दिन आग्रह गरेका हुन्। उनले अहिले आफूलाई साथ दिनुस् पछि जे गर्नुपर्ला गरौं भनी आश्वासन दिएको नेता गुरुङले बताए।

गण्डकीमा नयाँ सरकार गठनको लागि प्रदेश प्रमुखले यही चैत २७ दिउँसो ३ बजेसम्म समयसीमा दिएका छन्। जबकि नयाँ समीकरणका दलहरु एमाले–माओवादीले बहुमत पुर्‍याउन सकेका छैनन्। ६० सदस्यीय प्रदेशसभामा कांग्रेसका २७, एमाले २२, माओवादी सभामुखसहित ८, राप्रपा २ र स्वतन्त्र १ सांसद छन्।

प्रकाशित: २३ चैत २०८० १४:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =