सुन कारोबार ‘शून्य’, व्यवसायी भन्छन् : भाउ अझै बढ्छ

रमेश दवाडी २२ चैत २०८० १५:३२
918
SHARES
सुन कारोबार ‘शून्य’, व्यवसायी भन्छन् : भाउ अझै बढ्छ

काठमाडौँ- काठमाडौँको डिल्लीबजारस्थित कन्काई सुनचाँदी गहना एन्ड ज्वेलरी सपमा बुधबार बानेश्वरकी गीता बर्तौला एक तोला सुन खरिद गर्न आइन्। पसल पुगेपछि मात्र सुनको भाउ थाहा पाउँदा बर्तौला छक्क परिन्। त्यस दिन एक तोला छापावाल सुनको भाउ १ लाख ३३ हजार रुपैयाँ थियो। बर्तौलाले सुन खरिद नगरी फर्किएको पसलका सञ्चालकले बताए।

वैशाखमा आफन्तको बिहेका लागि मातातीर्थकी अप्सरा बस्नेत सुन खरिद गर्न पाथीभरा ज्वलर्स कलंकी पुगिन्। अप्सरा पनि सुनको भाउ सुनेर छक्क परिन्। पसलमा भेटिएकी उनले हिमालप्रेससँग  भनिन्, ‘बिहेका लागि सुन किन्न आएकी, भाउ सुनेरै किन्न मन लागेन।’

गीता र अप्सराका प्रतिनिधि कुरा हुन्। उनीहरूलाई सुनको भाउ बढ्नुको कारण थाहा छैन। अचेल सुनको भाउ निरन्तर उकाले लागे पनि एक दिन ओरालो लाग्नेमा विश्वस्त छन् उनीहरू।

व्यवसायीहरूका अनुसार अचेल सुनचाँदीको कारोबार त्यति छैन। नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्य त नेपाली सुनचाँदी बजारको अवस्था शून्य रहेको बताउँछन्। दैनिक देशभर मुस्किलले १० किलोमात्र सुन खपत भइरहेको उनको दाबी छ। शाक्यले भने, ‘अहिले नेपाली सुनचाँदी बजारको अवस्था शून्य छ। फाट्टफुट्ट उपभोक्ता सुन खरिद गर्न आइरहेका छन्। देशभर दैनिक मुस्किलले १० किलो सुन खपत भइरहेको छ।’

अर्थशास्त्रीहरूले गत वर्ष वैशाखमै सुनको भाउ प्रतिलोला डेढ लाख पुग्ने आकलन गरेको स्मरण गर्दै शाक्य भन्छन्, ‘अर्थशास्त्रीहरूको भनाइलाई आधार मान्ने हो भने सुनको भाउ अझै बढेर प्रतिलोला १ लाख ८० हजारसम्म पुग्न सक्छ।’

शाक्यले विश्व अर्थतन्त्र खस्किँदै गएर लगानीकर्ताले सुनमा लगानी गरेका कारण सुनको भाउ बढेको शाक्यले बताए। सुनको भाउ बढ्नुको कारण स्पष्ट पार्दै उनले भने, ‘विश्वका लगानीकर्ताले सुनमा लगानी गरेका छ्न्। ठूला मुलुकमा रोजगारीको समस्या छ। मानिसको क्रयशक्ति घटेको छ। बैंकको पैसा पनि सुनमा लगानी भएको छ।’

अमेरिका-चीनको श्रम द्वन्द्व, रुस-युक्रेन द्वन्द्व, इजरायल-प्यालेस्टाइन द्वन्द्वले पनि सुनको भाउमा प्रभाव पारेको उनले शाक्यकाे बुझाइ छ। नेपाली बजारमा बुधबार हालसम्मकै उच्च भाउमा सुनको कारोबार भएको थियो। बुधबार सुन प्रतितोला १ लाख ३३ हजार रुपैयाँ थियो। बिहीबार सुन प्रतितोला १ लाख ३४ हजार रुपैयाँ पुगेको छ। महासंघका अनुसार  छापावाल सुन प्रतितोला १ लाख ३४ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३३ हजार तीन सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला १ लाख ३३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३२ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो। बिहीबार चाँदीको भाउ पनि बढेको छ। चाँदीको भाउ प्रतितोला १ हजार ६५० रुपैयाँ पुगेको  छ। चाँदीको यो भाउ पनि उच्च हाे। बुधबार चाँदी प्रतितोला १ हजार ६१० रुपैयाँमा कारोबार भएको थियो।

सुनको भाउ बढेकै कारण सुनचाँदी पसल सुनसाजस्तै भएको र उपभोक्ता खरिदभन्दा बिक्री गर्न आउने गरेको कन्काई सुनचाँदी गहना एन्ड ज्वेलरी सपका सञ्चालक गणेशप्रसाद लकान्द्री बताउँछन्। उनी भन्छन्, ‘सामान्य व्यापार भइरहेको छ। सुन खरिदभन्दा बिक्री गर्नेहरूको लर्को छ। एक ताेला  खरिद गर्नेले दुई आना  खरिद गरेका छन्।’

विश्व अर्थतन्त्र धराशयी हुँदा उपभोक्ताले सुनमा लगानी गरेर स्टक राखेका कारण सुनको भाउ बढेको नेपाल सुनचाँदी व्यवसायी मञ्चका पूर्वअध्यक्ष र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको केन्द्रीय कोषाध्यक्षसमेत रहेका लकान्द्रीको बुझाइ छ। उनले भने, ‘अन्तर्राष्ट्रिय बजारमा सुन स्टक गरियो। रुस-युक्रेन, इजरायल-प्यालेस्टाइनमा भइरहेको द्वन्द्वले पनि सुनको भाउमा उतारचढाव ल्याएको हो।’ लकान्द्री पनि सुनको भाउ प्रतितोला १ लाख ५५ हजारदेखि १ लाख ६० हजार रुपैयाँसम्म पुग्ने  अनुमान गर्छन्।

प्रकाशित: २२ चैत २०८० १५:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =