समीक्षा

‘जात्रा’ र ‘जात्रैजात्रा’ कै शैलीमा ‘महाजात्रा’

सुस्मिता बजगाईं १६ चैत २०८० ७:०७
76
SHARES
‘जात्रा’ र ‘जात्रैजात्रा’ कै शैलीमा ‘महाजात्रा’

काठमाडौँ- ‘जात्रा’, ‘जात्रैजात्रा’ अनि ‘महाजात्रा’। अघिल्ला दुई शृंखलाजस्तै तस्करीको धन लुकाउन तीनजना पात्रले गर्ने संघर्षको नयाँ संस्करण हो ‘महाजात्रा’। चैत ९ गतेदेखि देशभर प्रदर्शन भइरहेको फिल्म ‘महाजात्रा’का निर्देशक प्रदीप भट्टराई हुन्। ‘जात्रा’, ‘जात्रैजात्रा’ का कलाकारलाई मुख्य भूमिकामा राखेर निर्देशक भट्टराईले ‘महाजात्रा’ बनाएका हुन्। फिल्मको तीनवटै शृंखला निर्देशक भट्टराईले लेखेका हुन्।

पहिलो शृंखलामा  तस्करीको तीन करोड रुपैयाँ र दोस्रोमा १० किलो सुन पचाउन फिल्मका मुख्य तीन पात्रले गरेको संघर्षलाई कमेडी शैलीमा प्रस्तुत गरिएको थियो। तेस्रो अर्थात् ‘महाजात्रा’ मा पनि तीनै पात्रले सामान ओसारपसारका क्रममा एक गाडी पैसा लुकाउने संघर्षमा आधारित छ। तेस्रो शृंखलामा उही तीन पात्रको मनोदशा प्रस्तुत छ- फणीन्द्र तिमल्सिना (विपिन कार्की), मुन्ना ठाकुर (रवीन्द्र झा) र जोयस (रवीन्द्रसिंह बानियाँ) को।

अघिल्ला शृंखलामा तीन करोड र १० किलो सुन लुकाउन सकिन्छ कि भनेर उनीहरूले जसरी जात्रा र जात्रैजात्रा गरेका थिए, त्यसरी नै यसपटक एक गाडी पैसाका दश दिन लुकाइदिन ‘महाजात्रा’ गरेका छन्। पैसा लुकाउन गर्ने संघर्ष र त्यसमा आइपर्ने परिस्थिति नै फिल्मको मुख्य कथावस्तु हो।

अन्तमा राजनीतिमा घुसेको अपराध र तस्करीको मूल्य सामान्य पात्रहरूले कसरी चुकाउन बाध्य भइरहेका छन् भन्ने ‘महाजात्रा’ फिल्मको आशय हो। फिल्मको अन्तमा निर्देशक भट्टराईले अहिलेको समाज, राजनीतिक अवस्था र भ्रष्टाचारविरुद्ध कटाक्ष गरेका छन्।

‘जात्रा’ र ‘जात्रैजात्रा’ कै शैलीमा ‘महाजात्रा’

इन्सपेक्टर खत्री (दिव्य देव)लाई सुपरम्यानको शैलीमा लुटेरा समात्ने दाउमा भागभागको दृश्यबाट फिल्म ‘महाजात्रा’ सुरु गरिए पनि दुई वर्षदेखि बेरोजगार फणीन्द्र, विदेश जाने चक्कर काटिरहेका मुन्ना र फिल्मको हिरो बन्ने सपनामा अडिसन दिन अफिसमा भौँतारिहेको जोयसको जब कामको सिलसिलामा पुनः जम्काभेट हुन्छ तब कथा भन्ने पुरानै शैली हाबी भएको छ।

फिल्मको घटनाक्रम दुई शृंखलाकै शैलीमा देखिन्छ। कालो धन र सुन लुकाउन सडक व्यापारी, कामदारले गरेको संघर्ष। संयोगवश एउटै कम्पनीमा फणीन्द्र चालक, मुन्ना सामान लोड गर्ने र जोयस सेल्स म्यानेजरको रूपमा भेट हुनु। ओसारपसारकै क्रममा उनीहरूले सामानको सट्टा बरामद एक गाडी पैसा लगिरहेको थाहा पाउनु। त्यही पैसा लुकाउन गर्ने संघर्षको कथा वरिपरि दुई घण्टा ४० मिनेट फिल्मको आधा कथा सकिन्छ। उनीहरू पैसा पचाउन सकिन्छ कि भन्नेतिर लागिरहन्छन्।

दोस्रोमा जस्तै महाजात्रामा पण्डित (राजाराम पौडेल) ले उनीहरूको अघिल्लो कामको आधारमा जानीजानी एउटै कम्पनीमा काम दिलाउनुले पनि उस्तै लाग्छ। दोस्रोमा पिकनिक जाने निहुँमा प्रयोग भए भने अहिले दश दिन पैसा लुकाइदिने बाध्यतामा।
भरिया बनेका गाउँका टोले अपराधी समात्न सफल इन्सपेक्टर खत्री अब उनीहरूको नाइके समात्ने योजनामा छ। सुरुमै फिल्मको कथावस्तुको केही खुड्किला अनुमान गर्न सकिन्छ।

पैसाको अभाव, पारिवारिक दबाब हुँदाहुँदै के इन्सपेक्टर खत्रीको तस्करीको नाइके पक्रिने मिसनमा यी तीन निर्दोष पात्रले साथ देलान त?, कि फेरि जेल पर्छन?, कि यसपटक पैसा पचाउँछन्? मध्यन्तरपछि बढी राजनैतिक सेरोफेरोमै फिल्म सकिएको छ।

फिल्मको शीर्षक सार्थकता मध्यान्तरपछि देखिन्छ जहाँ निर्देशकले त्यो पैसा कसको हो भनेर खुलाएका छन्। तस्करी र भष्टाचार गरेर कमाएको धनले राजनीति गर्ने, निर्वाचन जित्ने र मन्त्री हुँदै प्रधानमन्त्रीसम्म बन्न चल्ने होडबाजी देशको वास्तविक राजनीति परिवेशलाई कमेडी शैलीमा उनले फिल्ममा ढाल्ने प्रयास गरेका छन् जुन विगतका शृंखलामा भन्दा हास्यरस कम र ययार्थ बढी देखिन्छ। यसले शृंखलाको क्रमबद्धलाई भने बलियो बनाएको छ। सामान्य मान्छेलाई दुई नम्बरी धन्दामा लगाएर पैसाको शक्तिमा पदका लागि होडबाजी गरिरहेका नेतालाई व्यंग्य गरिएको छ।

पात्रहरूको उस्तै दैनिकी

‘जात्रा’मा नक्कली पैसाको कारण जेलबाट निस्किएपछि फेरि सुन तस्करीमा फसेका ‘जात्रैजात्रा’का तीन पात्र दुई वर्षदेखि बेरोजगार नै छन्। फणीन्द्रले सीप भएपनि भनेजस्तो काम पाइरहेको छैन्। जोयश हिरो बन्न भौँतारिरहेको छ भने मुन्ना विदेश जाने चक्करमा।

यसमार्फत निर्देशकले अहिले देशको बेरोजगारी अवस्था र वैदेशिक रोजगारीमा जाने युवाको लर्को केही हदसम्म छुने प्रयास गरेका छन्। तर महाजात्रासम्म आइपुग्दा परिवेश फरक भएपनि यी तीन पात्रको अवस्था र दैनिकीको उस्तै चित्रण गरिएको छ। छाक टार्न धौधौ अवस्थामा अकस्मात् पैसा फेला पर्दा उनीहरूको मनमा लालच पलाउनु स्वभाविक हो। पैसा पचाउने तीन जनाको संघर्षलाई निर्देशक भट्टराईले कमेडी शैली संवादमा एक सामान्य व्यक्तिले जेलसम्म पुग्न कस्तो परिस्थिति भोग्छन् भनेर पहिलेनै देखाइसकेका थिए।

आठ वर्ष बितिसक्दा पनि उनीहरूको समस्या भने ज्यूँकात्यूँ छन्। काठमाडौँमा घर किनेर परिवार र सन्तानलाई सुख दिन सकेका छैनन्। सासुको विदेश जाने सल्लाह नमानेर पहिले काठमाडौँमा सैलुन खोलेर धनी बन्ने सपना बोकेर आएको मुन्नाको अवस्था पनि उस्तै छ। अहिलेसम्म न विदेश जान सकेको छ न एजेन्ट बनेर खाएको पैसा तिर्न नै।

जोयसको भने फिल्ममा हिरो बन्ने सपना। महाजात्रामा भने बलिउड कलाकारको बडीमा आफ्नो टाउको मिलाउँदै अडिसन दिन भौँतारिरहेको। कहिले सुन, कहिले पैसा त सामान ओसार्ने क्रममा फसिरहेका उनीहरू तस्करी र अपराधको जालोबाट उम्कन सकिरहेका छैनन्।

फणीन्द्रकी पत्नि सम्पु (वर्षा राउत) ‘जात्रैजात्रा’मा ठेलागाडामा रोटी बेचेर दैनिक छाक टारिरहेकी थिइन् भने अहिले बेरोजगार पतिलाई घरायसी काममा लगाएर आफू पार्लरमा काम गरिरहेकी छन्। घरायसी काम र पतिको कमाइकै भरमा दैनिकी गुजार्नुपर्ने सप्पुको भूमिका र अभिनयले महिलाहरूको बढ्दो आत्मनिर्भरतालाई झल्काएको छ।

लामो समयपछि पनि चरित्रअनुसार फणीन्द्र, मुन्ना, सम्पुको चरित्र दुरुस्तै लाग्छ। उतिखेर लुरे देखिएका पात्रहरूको शरिर फेरबदल हुनु स्वभाविक हो। फिल्म हेरिरहँदा उनीहरूको व्यावहार, चालचलन, स्वभावमा पुरानै स्वरूप झल्कन्छ। यसले कलाकारको अभिनय पक्ष बलियो बनाएको छ। दुईपटक ठक्कर खाइसकेपछि धनकै लालचमा लाग्नुले परिवर्तन हुन नसकेको उही प्रवृत्तिका पात्रहरूलाई गिज्याइरहेको लाग्छसक्छ।

अब प्रसङ्ग जोडौँ फिल्म ‘जात्रा’ को। उपत्यकाको चर्चित असनबजारको भित्री गल्लीमा फणीन्द्र किताब (स्टेसनरी) पसले, मुन्ना सैलुन र जोयस कपडा पसल गरेर जेततेन दैनिकी गुजारिरहेका थिए। पेसाले उनीहरू सडक व्यापारी। ७२ सालको भूकम्पपछि व्यापार नभएर हैरान भएका उनीहरू न पसल बिक्री गर्न सकिरहेका थिए न व्यापारमा वृद्धि। तीनै जनाको उस्तै दैनिकी थियो।

मिरमिरेमा साइकलमा पत्रिका पुर्‍याउन लाग्दा फणीन्द्रले किताब भनेर बैंकबाट लुटिएको तीन करोड रुपैयाँ फेला पार्छन्।  त्यसमा मुन्ना र जोयस जाेडिन्छन्। त्यस पैसाले समस्या टर्ने र सुखकाे जीवन सुरु हुने निष्कर्षमा तीनै जना पग्छन्। तर अन्तिममा  जेलसम्म पुग्छन्।

‘जात्रैजात्रा’मा जेलबाट निस्किएपछि कामदार बनेका तीन पात्र फेरि सुन तस्करीको फन्दामा परेका थिए। एउटै कथालाई तोडमोड गर्दै सिक्वेलको नाममा निर्देशकले सधैँ एउटै परिबन्धबाट उम्कन नसकेको पात्रको उकुसमुकुस दैनिकीलाई नयाँ सिर्जना भन्दा पनि महाजात्रामा पुनः बजारीकरण गरिएझैँ देखिन्छ।

अन्तमा प्रहरीको फन्दामा परेपछि प्रहरीसँगको सहकार्यले नै महाजात्राको सकारात्मक सन्देश हो। जति नै लालचमा लागेपनि आफूभित्रको इमान्दारी भ्रष्ट नेतालाई घुँडा टेकाउन तीनैजना मिलेर सकारात्मक सन्देश छोड्न सफल छन्। तर भ्रष्ट नेतालाई उसको कमजोरी पक्ष समातेर पक्रिने प्रवृत्ति नयाँ लाग्दैन।

महाजात्रामा थपिएका छन् इन्सपेक्टर खत्री अर्थात् दिव्य देव। अहिलेको समाजलाई कटाक्ष गर्दै हेर्ने हो भने ऊ भाइरल इन्सपेक्टर। आफूले गरेको हरेक कामको विवरण सामाजिक सञ्जालमा पोस्ट्याउने गर्छ। कानुनको नजरमा कोही सानो ठूलो नहुने र अपराध गर्नेलाई समात्न उसको अडान। छोटो भूमिकामा दिव्यको अभिनयले पात्रलाई न्याय गरेको लाग्छ। उसको इमान्दारिताले पुराना पात्रको सोचलाई पनि परिवर्तनशील बनाएको छ।

खलनायकमा थपिएका नयाँपात्र पुण्यप्रसाद (हरिवंश आचार्य)। पुण्यप्रसाद जनताको नजरमा असल नेता। भाइरल अनि इमान्दार पनि। जनताको मन जितेको तर उसको डढेको ठुटोजस्तो कतुर्त ती सोझा जनतालाई के थाहा? सुरुमा उ सामान्य मान्छे। राजनीतिमा लागेर समाज र सत्तासम्म पुग्दा गर्ने हर्कत उनले छर्लङ्ग देखाएका छन्।

सुरुमा उनी अभिनयमा पोख्त देखिएका छन् तर मध्यान्तरपछि उनको अभिनयमा यथार्थभन्दा हास्य बढी लाग्छ। जसले दर्शकलाई उनको अभिनयमा खलपात्र कम र कमेडी बढी देखिन्छन्। अर्का पात्र सुमन कार्कीको छोटो तर भर्सटायल भूमिकाले केही हदसम्म हसाउन प्रयास गरेको छ। जात्रामा इन्स्पेक्टर बनेका सफल भट्टराई (प्रवीण खतिवडा), असइ (शिशिर वाङ्देल), पण्डित (राजाराम पौडेल)ले महाजात्रासम्म निभाएका भूमिका अन्यजस्तै छ।

फिल्ममा अहिले पनि तराईबासीलाई गर्ने व्यवहारमा परिर्वतनआएको छैन। तीन शृंखलामा  समावेश जात्राको गीत ‘नोट’, जात्रैजात्राको गीत ‘जीवन जात्रा हो’ र ‘माया पिरिम’ र महाजात्रामा समावेश गरिएको ‘साथी’ गीतले कथालाई बाधेको छ। ‘यत्रो टेन्सन हुँदा नि बेहोस् हुँदिनत’,‘हामीजस्तो करोडपतिलाई गरिब हुन गाह्रो हुँदैन’,‘कि ज्वाइँ नभनिस्योस् कि त नभनिस्योस’लगायत यथार्थ संवाद बोल्ने शैलीले दर्शकलाई मनोरञ्जन गराएको छ।

फिल्ममा सडक व्यापारीको कथा उठाएका निर्देशक भट्टराईले अन्तमा सामान्य मान्छे अपराध र तस्करीको संसारमा पुग्दा आइपर्ने परिस्थितिलाई समयानुकूल जात्रादेखि महाजात्रासम्म कथालाई बगाएका छन्। भ्रष्ट नेताको जालमा सोझा कामदार उनीहरूको कर्तुत लुकाउने साधन बनिरहेको परिस्थितिलाई देशको अहिलेकाे राजनीतिप्रति कटाक्ष गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 4 =