हलमा ‘बद्री बहादुर’, तेस्रो सातामा ‘महाजात्रा’

दोस्रो सातामा ‘महाजात्रा’ काे १० करोड १४ लाख ग्रस कलेक्सन

हिमाल प्रेस २३ चैत २०८० १२:०३
454
SHARES
हलमा ‘बद्री बहादुर’, तेस्रो सातामा ‘महाजात्रा’

काठमाडौँ- शुक्रबार (आज) बिहानदेखि हलमा फिल्म ‘बद्री बहादुर’ प्रदर्शन भइरहेको छ। शोभित बस्नेत निर्देशित फिल्म उपत्यकामा वान सिनेमाज, आइएनआइ सिनेमाज, बिएसआर मुभिज, सिडिसी सिनेमाज, रञ्जना सिनेप्लेक्स र कीर्तिपुर सिनेप्लेक्समा फिल्मको सो छ।

निर्देशक शोभित बस्नेतसहित  फिल्ममा जय किसन बस्नेत, एलिना गुरुङ, छुल्ठिम गुरुङ, राजीवजंग बस्नेत, धिरेन शाक्य, उत्तम केसी, वर्षा चौलागाईंलगायत कलाकारको अभिनय छ। निर्माण टिमले पोस्टरमार्फत धेरै हाँस्न नसक्ने दर्शकलाई फिल्म नहेर्न आग्रह गरेको छ।

रामकाजी घिमिरे लेखन रहेको फिल्म विनोद सापकोटाले छायांकन गरेका हुन्। काठमाडौँ, लमजुङ, धरान र संखुवासभामा छायांकन गरिएको छ। बन्दे प्रसादले फिल्मको सम्पादन गरेका छन्। फिल्ममा टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, रामजी राउत र ज्ञान कुमार कट्टेलको मुख्य सहायक निर्देशन छ। सञ्चारकर्मी तथा विकास बोर्डका सदस्य समेत रहेका रवि अधिकारी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता मिथुन भोटे हुन्। विजय गोपाल दली प्रस्तुतकर्ता रहेको फिल्म एवी पिक्चर्स फार्म र सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण भएको छ।

योसँगै  चैत ९ देखि प्रदर्शनरत फिल्म ‘महाजात्रा’ तेस्रो सातामा चलिरहेको छ। षट्कोण आर्टस्ले निर्माण गरेको फिल्म दर्शकबाट राम्रो प्रतिक्रिया पाएसँगै आक्रामक व्यापार गर्ने निश्चित छ। प्रदीप भट्टराई निर्देशित फिल्मले दोस्रो सातामा १० करोड १४ लाख ग्रस कलेक्सन गरेको निर्माण टिमको दाबी छ।

फिल्ममा आपतकालीन रुपमा पैसा व्यवस्थापन गर्न आइपर्ने अवसर र त्यसको क्रममा तीन पात्रले गर्ने संघर्ष देखाइएको छ। तीन पात्रले जीविकोपार्जनका लागि गर्ने सङ्घर्ष, विभिन्न अवरोधबीच टिकेको मित्रता र उनीहरूको नैतिकतालाई फिल्ममा प्रस्तुत गरिएको छ।

फिल्ममा वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्कालगायत कलाकारको अभिनय छ। फिल्म म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले निर्माण गरेका हुन्।

प्रकाशित: २३ चैत २०८० १२:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 2 =