आगलागी भएको सन्थाल समुदायको घर बनाउन पहल हुन्छ : मुख्यमन्त्री कार्की

हिमाल प्रेस १५ चैत २०८० ९:४० | Thursday, March 28, 2024
आगलागी भएको सन्थाल समुदायको घर बनाउन पहल हुन्छ : मुख्यमन्त्री कार्की

इटहरी- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मोरङको रंगेलीस्थित सन्थाल बस्तीमा भएको आगलागी पीडित परिवारको बासस्थानलाई स्थायी समाधानका लागि पहल गरेको बताएका छन्।

पीडित परिवारसँग प्रत्यक्ष भेट गरी बासस्थानका लागि स्थानीयबासी, प्रदेश सरकार, स्थानीय सरकार र विभिन्न सामाजिक संघसस्थाको सहकार्यमा स्थायी समाधान गरिने बताएका हुन्।

गत चैत्र ३ गते सन्थाल समुदायको बसोबास रहेको सो ठाउँमा आगलागीबाट २३ वटा घर जलेर नष्ट भएको थियो। सन्थाल बस्ती सुकुम्वासी बस्ती हो।

उनीहरूले दैनिक रूपमा गुजारा गरेर जीविकोपार्जन गर्दै आएका छन्। प्रत्यक्ष भेटका क्रममा मुख्यमन्त्री कार्कीले अब विपन्नले विपन्न मात्रै नभइ सम्पन्न बन्ने अभियानमा लाग्नुपर्ने बताए।

उनले भने, ‘यो दुःखदायी अवस्था भएपनि यसलाई असारको हिलो सम्झनुहोस्, जहाँ केही मिहिनेत गरियो भने, मंसिरमा अन्न भित्राउन पाइन्छ।’

मुख्यमन्त्री कार्कीले स्थानीय तहले सन्थाल समुदायलाई आफ्नै जग्गाको व्यवस्थाका लागि अग्रसरता लिनसमेत आग्रह गरे। ‘प्रदेश सरकारले सुकुम्बासीले घर बनाउनका लागि लिएको जग्गाको ऋणको ब्याज मिनाहा गर्ने योजना ल्याएको छ । तपाईँ हामीले आँट गर्यौँ भने उहाँहरूलाई सम्पन्न बनाउन सकिन्छ।’ उनले भने।

कार्कीको नेतृत्वमा विराटनगर १२ मा सुकुम्बासीहरूले ऋण लिएर खरिद गरेको जग्गामा सम्पन्न बस्ती निर्माण अन्तिम चरणमा पुगेको छ। जहाँ ऋषिदेव समुदायका १४५ परिवारले आफैंले जग्गा किनेर त्यसको किस्ता आफ्नै श्रमबाट मासिक रूपमा तिरिरहेका छन्।

सोही जग्गामा मुख्यमन्त्री कार्कीको नेतृत्वमा विभिन्न सामाजिक संघसस्थाको सहकार्यमा घर निर्माण कार्य भएको हो। मुख्यमन्त्री कार्कीले भने, ‘यही मोडलबाट यहाँ पनि घर बनाउन सकिन्छ, अब विपन्न समुदाय विपन्न मात्रै भइरहने होइन, सम्पन्न बन्ने अभियानमा होमिनु पर्दछ। जसका लागि प्रदेश सरकारले मानवीय विकासमार्फत यसको सुरुवात गरिसकेको छ।’

प्रकाशित: १५ चैत २०८० ९:४० | Thursday, March 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast