अस्ताए गुणग्राही समालोचक दधिराज सुवेदी

विवेक विवश रेग्मी १४ चैत २०८० ९:३६
180
SHARES
अस्ताए गुणग्राही समालोचक दधिराज सुवेदी

इटहरी- वरिष्ठ साहित्यकार तथा समालोचक प्राज्ञ दधिराज सुवेदीको निधन भएको छ। २००३ सालमा भोजपुरको दिङ्लामा जन्मिएका सुवेदीको बुधबार (आज) बिहान ३ बजे निधन भएको हो। क्यान्सर रोगबाट प्रताडित सुवेदीको विराट मेडिकल कलेज एन्ड टिचिङ अस्पताल बूढीगंगा मोरङमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

सुवेदी विराटनगरलाई कर्मक्षेत्र बनाएर नेपाली भाषा र साहित्यमा सक्रिय थिए। पूर्वाञ्चल विश्वविद्यालयमा १२ वर्षसम्म सूचना अधिकृतको रूपमा काम गरेका उनका एक दर्जन कृति, सम्पादित कृति १५० बढी छन् भने सयौँ रचनामा समालोचना गरेका छन्।

वरिष्ठ भाषाविद् प्राडा टंकप्रसाद न्यौपाने भन्छन्, ‘दधिराज सुवेदी मेरा अनन्य मित्र हुनुहुन्थ्यो। पूर्वाञ्चलको दुईवटा कुरामा उहाँका महत्त्वपूर्ण योगदान छ जसलाई जीवनभर हामीले भुल्न हुँदैन।’ न्यौपानेका अनुसार साहित्यिक सिर्जना र समालोचना क्षेत्रमा सुवेदीले योगदान दिएका छन्।

‘उहाँको आफ्नो लेखन त छँदैछ। त्यसबाहेक समालोचना गर्ने र सयौँ मानिसका प्रेरणाको स्रोत पनि हुनुहुन्थ्यो,’ उनले भने, ‘उहाँले साहित्यिक संस्था खोले र साहित्यमा भिज्न चाहने मानिसलाई प्रेरित गर्नुहुन्थ्यो।’ न्यौपानेका नजरमा सुवेदी गुणग्राही चरित्रका समालोचक हुन्। त्यसबाहेक उनको छवि लब्धप्रतिष्ठित थियो। सुवेदीले विराटनगरमा परोपकार घाट र परोपकार पुस्तकालय स्थापना गरेर सामाजिक व्यक्तित्वको पहिचान बनाएका छन्।

‘उहाँलाई गुमाउनुपर्दा विराटनगरबाट एउटा सामाजिक र साहित्यिक व्यक्ति गुमाएको अनुभूति भएको छ,’ न्यौपानेले भने।

मोरङको झोराहट निवासी कवि तथा नाट्यकर्मी भरत गुरागाईँ बर्बरिकले हजारौँं शिष्यका गुरु र उत्प्रेरणाका स्रोत सुवेदीको निधनबाट नेपाली भाषासाहित्यमा ठूलो क्षति पुगेको बताए। ‘अनुज पुस्तालाई पनि अग्रज सोसरह नै माथि उठाउन खोज्नुहुन्थ्यो,’ बर्बरिकले सम्झिए, ‘उहाँ काठमाडौँमा रहनुभएको भए ज्यादै ठूलो मानिस हो।’ सुवेदीले धेरै साहित्यकारहरूलाई सम्बोधन गरेर पुस्तक लेखेका छन्।

सुनसरीको इनरुवा निवासी साहित्यकार डम्बरुबल्लभ भण्डारी भन्छन्, ‘कुनै पनि साहित्यकार उहाँ (दधिराज)का घरमा आए भने उसलाई दिनुपर्ने खुराक दिनुहुन्थ्यो। ठूलासँग र सानासँग बराबरी घुलमिल हुने स्वभावको हुनुहुन्थ्यो।’ कोशी प्रदेशमा गनिएका मानिसको नाम लिनुपर्दा सुवेदीको नाम अग्रपंक्तिमा आउने उनले सुनाए।

कसैलाई लेख्नका निम्ति उत्प्रेरित गर्ने, समालोचना लेख्ने र विराटनगरलाई नजिकबाट चिन्ने व्यक्तित्वका रूपमा रहेका सुवेदीको निधनले नेपाली साहित्य क्षेत्रमा अपूरणीय क्षति भएको उनले सुनाए। उनले भने, ‘हामी उमेरमा थोरै मात्रै तलमाथि हौँं। उहाँ सबैको आदरणीय व्यक्ति हुनुहुन्थ्यो।’

सुवेदी सरल र सहज मानिस रहेको बताउँछिन्, विराटनगरकी साहित्यकार लक्ष्मी पोखरेल। उनी भन्छिन्, ‘कसैप्रति पनि कहिल्यै नराम्रो व्यवहार गर्नुभएन। कहिल्यै कसैप्रति रिसराग राख्नुभएन। उहाँको निधनले विराटनगरवासी शोकाकूल छ।’ सुवेदीको निधनले नेपाली भाषा, साहित्यमा क्षति पुगेसँगै नवपुस्ताका प्रेरणाका स्रोतसमेत गुमेको उनले सुनाइन्। लेख्न, पढ्न र पुस्तक प्रकाशन गर्नका लागि प्रेरित गर्ने सुवेदीको निधनले साहित्यसँगै सामाजिक पाटोमासमेत क्षति पुगेको पोखरेलले बताइन्।

दधिराजका भाइ दिनेशराज सुवेदीका अनुसार नगरपञ्चायतमा बहिदार पदबाट उनले जागिरे जीवन सुरु गरेका थिए। सुवेदीले नेपाल खानेपानी संस्थान स्थापना हुँदा नगरपालिकाको एक फाँटअन्तर्गत काम गरे। उनले विराटनगरमा आदर्शरात्रि र कन्या क्याम्पस स्थापना भएपछि त्यहाँ केही वर्ष अध्यापनसमेत गराएका थिए।

सुवेदीका नेपाली वाङ्मयका विशिष्ट साधक र उनका साधनाको अभिरेखाङ्कन (२०४४), प्रतिभा र प्रस्तुति (२०४५) र नेपाली साहित्यका मुस्कानहरू (२०६९) लगायतका समालाेचनात्मक कृति प्रकाशित छन्। दुई सय बढी किताबमा भूमिका लेखिसकेका सुवेदी एक सय पचास बढी संस्थामा आजीवन सदस्य थिए।

उनको नाममा स्थापित दधिराज पुरस्कार प्रतिष्ठानबाट २०७३ सालदेखि बर्सेनि दुई जना स्रष्टा सम्मानित हुँदै आएका छन्। सुवेदीका छोराद्वय शरदराज सुवेदी र रुपकराज सुवेदीले राखेको रु.१५ लाखको अक्षयकोषको ब्याजबाट उक्त पुरस्कार प्रदान गरिन्छ। सुवेदीका दुई छोरा, एक छोरी र पत्नी  छन्।

प्रकाशित: १४ चैत २०८० ९:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 17 =