सुदूरपश्चिममा कोरोना भाइरस संक्रमण उकालो लाग्दै

हिमाल प्रेस ९ चैत २०८० ६:०४
6
SHARES
सुदूरपश्चिममा कोरोना भाइरस संक्रमण उकालो लाग्दै

धनगढी- सुदूरपश्चिम प्रदेशमा पछिल्ला हप्तामा कोरोना भाइरसको संक्रमण दर उकालो लाग्न थालेको छ। स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कका अनुसार पछिल्लो आठ दिनमा प्रदेशमा २१ जना कोरोना भाइरस संक्रमित फेला परेका छन्। यसअघि गत फागुन १२ देखि ३० गते सम्मको १८ दिन २६ जनामा कोरोनाको संक्रमण देखिएको थियो।

कोरोना संक्रमित बढ्दै गएपनि यो रोगको रोकथाम र निगरानीका लागि त्यति चासो देखिएको पाइँदैन। कोरोना भाइरसको संक्रमण बढेको भए पनि यसको रोकथाममा त्यति चासो नदेखाइएको गौरीफन्टा सीमानास्थित ‘हेल्थ डेस्क’का अहेब गणेश साउदले बताए।

हेल्थ डेस्कमा एन्टिजेन विधिबाट कोरानाको नमुना जाँच हुने गरेको छ। ‘देशका अरु नाकामा यो रोगका संक्रमित देखिएका छैनन्, सुदूरपश्चिमका नाकामा कोरोनाका बिरामी फेला परेका छन्’ उनले भने। कोरोनालाई नागरिकले सामान्य रुपमा लिँदा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउनमा चासो नदिने गरेको पाइएको पनि छ।

धनगढीका स्थानीयवासी लेखराज ओझाले भने,‘कुनै समयमा गाउँमा हैजा, झाडापखाला लाग्दा रोगी नजिक जानु नहुने र रोगबाट जोगिन स्वस्थ्य व्यक्ति गाउँनै छोडेर सुरक्षित भएर बस्नुपर्ने अवस्था थियो, नागरिकले अहिले कोरोनालाई पनि सामान्य रोगजस्तै लिन थालेको हुनसक्छ।’

पछिल्लो हप्तामा सुदूरपश्चिमका सीमा नाकाहुँदै भित्रिने नागरिकमध्ये शङ्कास्पद छ सय २० को एन्टिजेन विधिबाट को नमुना जाँच गरिएको छ। हेल्थ डेस्कमा कोरोनाको नमुना जाँच गर्ने कीट, लगायतका सामग्रीको अपर्याप्तता देखिएको छ।

प्रदेशमा विगतमा कोरोना संक्रमितको उपचार व्यवस्थापनका लागि बनाइएका क्वारेन्टाइन,र होल्डिङ सेन्टर प्रयोगविहीन अवस्थामा छन्। गौरीफन्टा, गड्डाचौकी, लगायतका सीमा नाका हुँदै भित्रिने नागरिकमा कोरोना संक्रमण देखिने गरेको हो।

गएको पुस अघिको आठ/दश महिना शून्य रहेको कोरोना संक्रमण पुस महिनादेखि पुनःदेखिन थालेको हो। सेती प्रादेशिक अस्पताल धनगढीका मेडिकल सुपरिटेन्डेन्ट डा.शेरबहादुर कमरले कोरोना संक्रमण रोकथामका लागि निरन्तर निगरानी भइरहेको बताए। उनले भने, ‘यो मौसममा भाइरलको समस्या बढ्ने भएकोले सबैले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइ सचेतता अपनाउन जरुरी छ।

प्रकाशित: ९ चैत २०८० ६:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − four =