प्रधानमन्त्री कार्यालयले लिन थाल्यो नीति तथा कार्यक्रममा सुझाव

हिमाल प्रेस ८ चैत २०८० १८:२०
10
SHARES
प्रधानमन्त्री कार्यालयले लिन थाल्यो नीति तथा कार्यक्रममा सुझाव

काठमाडौँ– प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रमको तयारीका क्रममा विभिन्न क्षेत्रसँग छलफल तथा सुझाव संकलन सुरु गरेको छ। प्रधानमन्त्री कार्यालयमा गठित समितिले विभिन्न क्षेत्रसँग आगामी आवको नीति तथा कार्यक्रमका विषयमा छलफल तथा सुझाव संकलन गन थालेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेट प्रणाली तथा नीति तथा कार्यक्रमको ढाँचामा परिवर्तन गरी समावेशी र सबैको अपनत्व हुने गरी निर्माण गर्ने घोषणा गरेका थिए। सोहीबमोजिम समिति गठन भएको थियो।

बिहीबार समष्टिगत आर्थिक, उद्योग, व्यापार, पर्यटन, कृषि, वन तथा वातावरण र बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित क्षेत्रका प्रतिनिधि तथा विज्ञहरुसँग छलफल तथा सुझाव संकलन गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

प्रधानमन्त्री कार्यालयमा आयोजित उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ, सामुदायिक वन उपभोक्ता महासंघ, राष्ट्रिय सहकारी महासंघ, गैरआवासीय नेपाली संघ, नेपाली महिला चेम्बर, नेपाल युवा उद्यमी परिषद् लगायतका निजी क्षेत्र सँग सम्बन्धित संस्थाहरूका प्रतिनिधि थिए। उनीहरूले आगामी नीति तथा कार्यक्रममा समेट्नुपर्ने विभिन्न सुझाव प्रस्तुत गरेका छन्।

कार्यक्रममा नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल कृषि अनुसन्धान परिषद्, त्रिभुवन विश्वविद्यालय, कृषि सामग्री कम्पनी लगायतका निकायका प्रतिनिधिहरूले पनि आफ्नो विचार राखेका थिए।

कार्यक्रममा विज्ञहरूले नयाँ नीति तथा कार्यक्रममा उद्योग दर्ता तथा नवीकरणमा सहजीकरण गर्ने व्यवस्था गरिनुपर्ने, महिला उद्यमीलाई प्रोत्साहन गर्ने नीति ल्याइनुपर्ने, विश्वविद्यालयलाई अध्ययन अनुसन्धानको जिम्मा दिई सोबमोजिम मन्त्रालयहरुलाई कार्यान्वयन गर्ने नीतिगत व्यवस्था गर्नुपर्ने, वनको उपयोगलाई समृद्धिसँग जोड्ने गरी कार्यक्रम ल्याइनुपर्ने, कृषि क्षेत्रको अनुसन्धानमा पर्याप्त बजेट छुट्ट्याइनुपर्नेलगायतका सुझाव दिएका छन्। कार्यक्रममा प्रधानमन्त्री कार्यालय तथा नेपाल सरकारका विभिन्न विषयगत मन्त्रालयका अधिकारीहरुको पनि उपस्थिति थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − fourteen =