दुर्घटना न्यूनीकरणका उपाय अवलम्बन गर्न सरकारलाई सुझाव

हिमाल प्रेस ७ चैत २०८० १३:५९
4
SHARES
दुर्घटना न्यूनीकरणका उपाय अवलम्बन गर्न सरकारलाई सुझाव राष्ट्रियसभाको बुधबारको बैठकमा सभाका सदस्यहरू। तस्बिर : रासस

काठमाडौँ- राष्ट्रियसभाका सदस्यहरुले सवारीसाधन दुर्घटना न्यूनीकरणका उपाय तत्काल अवलम्बन गर्न सरकारलाई सुझाव दिएका छन्। राष्ट्रियसभा बैठकको बुधबार आकस्मिक समयमा उनीहरुले पछिल्लो समय सडक दुर्घटना बढ्दै गएको र धेरै जनाको ज्यान गएको बताए। सांसदहरूले सवारी दुर्घटना न्यूनीकरणका उपाय तत्काल अवलम्बन गर्न सरकारलाई सुझाव दिए।

राष्ट्रियसभा सदस्य विमला घिमिरेले जीर्ण सडक, चालकको लापरबाही, सवारीसाधनको बिग्रँदो अवस्था, सडकमा सवारीको चाप बढ्नुलगायत कारणबाट दुर्घटना बढिरहेको बताइन्। सवारीसाधनको परीक्षण, सडकको स्तरोन्नति, चालक तथा सहचालकलाई तालिम दिनुपर्ने उनले बताइन्। घिमिरेले सुरक्षाका मापदण्ड अपनाउनका लागि सरकारको ध्यानाकर्षण गराइन्।

त्यस्तै राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्माले कर्णाली प्रदेशमा धेरै सवारी दुर्घटना भइरहेको अवस्थामा सडकलाई स्तरोन्नति गरी सुरक्षित यात्राको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरे।

अर्की सदस्य जयन्ती राईले सडक दुर्घटनामा मृत्यु हुनेको संख्या हरेक वर्ष बढ्दै गएको भन्दै दुर्घटना न्यूनीकरणमा विशेष ध्यान दिन माग गरिन्। उनले सवारीसाधनहरुको अनुगमन गर्दै सडक स्तरोन्नतिमा पनि ध्यान दिनुपर्ने बताइन्। राष्ट्रियसभा सदस्य कृष्णबहादुर रोकाय, तुलप्रसाद विश्वकर्मालगायतले पनि सवारीसाधनको दुरावस्था, चालकको लापरबाहीलगायत कारणबाट दुर्घटना बढिरहेको भन्दै सडक दुर्घटना न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण गराएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + six =