आगोको पिरलोमा कोशी

विवेक विवश रेग्मी ४ चैत २०८० २०:५८
28
SHARES
आगोको पिरलोमा कोशी

इटहरी- पछिल्लो केही दिनयता कोशी प्रदेशका विभिन्न ठाउँमा आगलागीका घटना बढेका छन्। यस वर्ष कोशी प्रदेशमा पानी नपर्नु र सुक्खा मौसम बढ्दै जानुले पनि आगलागीका घटना बढेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार आइतबार (आज) सुनसरीको बर्जु गाउँपालिकामा आगलागी हुँदा २७ वटा घर जलेर नष्ट भएका छन्। बर्जु गाउँपालिका वडा नम्बर ४ मा पर्ने जयनगर मुस्लिम टोलमा भएको आगलागीमा २७ वटा घर जलेर नष्ट भएका हुन्।

स्थानीय बिसुनदेव पौदारको घरबाट सुरु भएको आगो टोलमा फैलिएको थियो। अधिकांश घर आपसमा टाँसिएका र बाँस, फुसजस्ता सामग्री प्रयोग गरी बनाइएका भएकाले आगो चाँडै फैलिएर धेरै घरमा क्षति भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

आगालागीमा घरसहित स्थानीयको अन्न, कपडालगायत धनमाल जलेर नष्ट भएको छ। क्षतिको विवरण र आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसै गरी आइतबार नै तेह्रथुमको फेदाप गाउँपालिका-१, सिम्लेमा आगलागीबाट १९ वटा घर जलेर नष्ट भएका छन्। जंगलबाट सल्किएको आगो वस्तीमा पुगेको थियो।

आगलागीमा परी सिम्लेका रातमाटे, बाँझीगरा, टाहारी, अम्फुवा र मयन्तपाका घरहरू जलेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता, एसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए।

उनका अनुसार केही दिनयता कोशी प्रदेशको पहाडी क्षेत्रसँगै तराई क्षेत्रमा पनि आगलागीका कारण ठूलो क्षति भएको छ। यसै गरी शनिबार रातिको समयमा मोरङको पथरीशनिश्चरे-१, बुद्धचोकमा रहेको कोशी चिउरा मिलमा आगलागी हुँदा एक करोड ५० लाख बराबरको क्षति भएको एसपी तिम्सिनाले बताए।

भोजपुरमा भने आगलागीका कारण मानवीय क्षतिसमेत भएको छ। भोजपुरको हतुवागडी गाउँपालिका-७ मा शनिबार साँझ भएको आगलागीमा परी एकै घरका तीन बालबालिकाको मृत्यु भएको हो। मृत्यु हुनेहरूमा सोही स्थान बस्ने केदार कार्कीको ५ वर्षीय छोरा प्रनिष कार्की, रमेश कार्कीको ७ वर्षीया छोरी दिप्सिका कार्की र दिप्सिकाकै भाइ ३ वर्षीय दिउनिस कार्की रहेका छन्।

शनिबार दिउँसो मोरङको रङ्गेली नगरपालिका-३ बाबुसाहेव टोलको सन्थाल बस्तीमा आगलागी हुँदा १९ घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

शनिबार र आइतबार मात्रै सुनसरी, मोरङ, उदयपुर, भोजपुर, तेह्रथुमलगायतका जिल्लाहरूमा आगलागीका कारण क्षति भएको छ। अहिले पनि खोटाङको खोटेहाङमा वन, जंगलमा डढेलो लागिरहेको स्थानीयवासीले बताएका छन्।

स्थानीय पेशल ढकालले आज दिउँसोदेखि जंगलमा लागेको डढेलो गाउँ पस्ने चिन्ताले स्थानीयवासी रातभर सुत्न सक्ने अवस्था नरहेको बताए। ‘जंगलमा लागेको डढेलो गाउँ पस्ला कि भनेर चिन्ताले रातभर सुत्नसक्ने अवस्था रहेन,’ उनले हिमाल प्रेससँग फोन सम्पर्कमा भने, ‘सुक्खा मौसम भएका कारण आगो भयावह रूपमा फैलिरहेको छ। निभाउन सक्ने अवस्था छैन।’

पछिल्लो समय कोशी प्रदेशका विभिन्न स्थानमा आगलागीका घटना भइरहेका छन्। क्षतिको यकिन विवरण अद्यावधिक भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

प्रकाशित: ४ चैत २०८० २०:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 4 =