माइलीले लोग्नेको शव रिक्सामा हालेर आर्यघाट पुर्‍याएपछि…

रमेश दवाडी २ चैत २०८० ६:५९
148
SHARES
माइलीले लोग्नेको शव रिक्सामा हालेर आर्यघाट पुर्‍याएपछि…

नुवाकोटको लिखु गाउँपालिका–४ रानीटारकी ५६ वर्षीया माइली राई परिवारसहित काठमाडौँको खुसिबुँमा भाडामा बस्थिन्। पति पाण्डव रिक्सा चलाउँथे। माइली बिहानबेलुका साहुको घरमा काम गर्न जान्थिन्। दुःखजिलो गरेर जीवन गुजारा भइरहेको थियो। एक छोरा र एक छोरी बेरोजगार छन्।

गत शनिबारको कुरा हो, डेरामै पाण्डवको निधन भयो। पाण्डवले मापासे गर्थे। कुन रोगले च्याप्यो भन्ने भेउ माइलीले पाउन सकिनन्।

लोग्नेको निधनपछि उनी विधवा भइन्,सहारा गुम्यो। त्यो भन्दा बढी त अब शव कसरी आर्यघाटसम्म लैजाने भन्ने चिन्ता पर्‍यो उनलाई। तैपनि उनले शववाहन बोलाइन्। चालकले आर्यघाटसम्म शव लैजान चार हजार रुपैयाँ माग्यो। माइलीसँग पैसा थिएन। शववाहन फर्कियो। घरबेटीसहित शव उठाउन वरपरका मान्छेले दबाब दिन थाले।

माइलीले लोग्नेले चलाउँदै आएको रिक्सामा शव राखिन्। छोराछोरीलाई ठेल्न लगाएर पशुपति आर्यघाट पुर्‍याइन्। शव आर्यघाटमा त लगियो दाहसंस्कारको शुल्क तिर्न सक्ने स्थितिमा थिइनन् उनी। दिनभरजसो शव रिक्सामै राखिन्।

माइलीलाई कसैले समाजसेवी तथा बागमती प्रदेशका पूर्वसांसद नरोत्तम वैद्यका बारेमा सुनाए। फोन नम्बर दिए। अनि वैद्य घाटमा पुगेर  पैसा तिरिदिए। माइलीले लोग्नेको अन्त्येष्टि गरिन्। त्यसपछि अर्को तनाव थपियो बिहान–बेलुका खानेकुरा जुटाउन पनि मजदुरी गर्न बाध्य भएकाले कहाँ बस्ने? कसरी किरिया गर्ने?

वैद्यले पशुपति आर्यघाटस्थित किरियापुत्री भवनको १०७ नम्बर कोठामा बस्ने व्यवस्था मिलाइदिए। माइलीको हातमा केही नगद राखिदिए। त्यसपछि माइलीका विषयमा समाचार आउन थाल्यो। अहिले देशविदेशबाट राहत संकलन भइरहेको छ। १० लाख रुपैयाँ नगद र खाद्यान्न संकलन भएको माइलीले बताइन्।

यति बेला माइलीको गरिबीका बारेमा संसद्ंमा पनि कुरा उठ्न थालेको छ। बिहीबार प्रतिनिधिसभा बैठकमा सांसद ईश्वरी न्यौपानेले सरकारलाई आर्यघाटको १०७ नम्बरको किरियापुत्री भवनमा गएर ती महिलाको अवस्था बुझ्न आग्रह गरेकी छन्।

समाजसेवी तथा बागमती प्रदेशका पूर्वसांसद नरोत्तम वैद्य।

समाजसेवी वैद्यले हिमाल प्रेससँग भने, ‘माइलीको दयनीय अवस्था देखेर दाहसंस्कार गर्न र किरियापुत्री भवनमा बस्ने व्यवस्था मिलाइदिएको हुँ। केही नगद पनि सहयोग गरेको छु।’ माइलीलाई आफूले सहयोग गरेपछि सहयोगी हातहरू बढेको उनले बताए।

साथै माइलीको गाउँ नुवाकोटको लिखु गाउँपालिका वडा अध्यक्ष आएर सहयोग गर्ने वचन दिएको वैद्यले जानकारी दिए। माइलीको नागरिकता पनि नबनेको वैद्यले बताए। ‘करिब १३ लाख रुपैयाँ सहयोग संकलन हुने अनुमान छ। किरिया सकेपछि माइलीको परिवारलाई गाउँमै फर्काउन सहयोग गर्नेछु, यसमा वडा अध्यक्षले पनि साथ दिने भएका छन्’, वैद्यले भने।

भिडिओ

 

प्रकाशित: २ चैत २०८० ६:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 10 =