चैत ४ मा पोखरालाई ‘पर्यटकीय राजधानी’ घोषणा गरिने

हिमाल प्रेस १ चैत २०८० १७:०४
6
SHARES
चैत ४ मा पोखरालाई ‘पर्यटकीय राजधानी’ घोषणा गरिने पोखरा लेकसाइड

पोखरा- पोखरालाई आगामी चैत ४ गते आइतबार ‘पर्यटकीय राजधानी’ घोषणा गरिने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त दिन फेवाताल किनारमा आयोजित औपचारिक समारोहबीच पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने पोखरा महानगरका मेयर धनराज आचार्यले बताए।

पोखरा नेपालकै प्रमुख पर्यटकीय गन्तव्य हो। पश्चिम नेपालको यो सहर प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ। गण्डकी प्रदेशको राजधानी पोखरालाई गएको ७ वर्षदेखि नै औपचारिकरुपमा पर्यटकीय राजधानी घोषणा तयारी भए पनि बल्ल मूर्तरुप पाएको हो।

राजधानी घोषणाअघि लेकसाइडको बसुन्धरापार्कबाट विभिन्न झाँकीसहितको र्‍याली निकालिने छ। उक्त र्‍याली फेवाताल किनार वाराहीघाटमा पुगेर सभामा परिणत हुनेछ। र, उक्त समारोहमा प्रधानमन्त्री प्रचण्डले पर्यटकीय राजधानी घोषणा गर्ने कार्यक्रम तय गरिएको छ। अन्तिम तयारीसँगै यहाँका पर्यटन व्यवसायी उत्साहित छन्।

पोखराका पर्यटन व्यवसायीहरूको छाता संस्था पोखरा पर्यटन परिषद् अध्यक्ष पोमनारायण श्रेष्ठले सरकारको निर्णयले आफूहरूलाई निकै खुसी लागेको प्रतिक्रिया दिए। उनले आफूहरूले विगतदेखि उठाउँदै आएको माग बल्ल पूरा हुन लागेको भन्दै यहाँका पर्यटकीय क्षेत्रको प्रवर्द्धननसँगै लगानी भित्राउन मद्दत मिल्ने विश्वास लिए।

पोखरालाई ‘पर्यटकीय राजधानी’ घोषणा गर्न गण्डकी प्रदेश सरकारले यसअघि अध्ययन समिति गठन गरेको थियो। प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाको अध्यक्षतामा गठित समितिमा पर्यटन सम्बद्ध संस्थाका प्रतिनिधि, पर्यटन विज्ञ सहित ११ जना सदस्य छन्। जसको प्रतिवेदन तयार भइसकेपछि पनि सार्वजनिक गरिएको छैन।

नेपालमा बर्सेनि करिब १० लाख पर्यटक घुम्न आउने अनुमान छ। त्यसको करिब ४० प्रतिशत पोखरा आउने अनुमान छ। पोखरामा प्राकृतिकरुपमा विभिन्न गन्तव्य तय भए पनि मानवनिर्मित संरचना खासै बनेका छैनन्।

पर्यटकीय राजधानी घोषणालाई प्रवद्र्धन गर्न एनसेल बाह्रखरी गल्फ एन्ड बियोन्ड हुँदैछ। त्यसको पूर्वसन्ध्यामा बिहीबार साइकल र्‍याली भयो। बाह्रखरी मिडियाले ३ दिनसम्म अन्तक्र्रिया एवं गल्फ गर्न लागेको हो। गल्फ प्रतियोगिताको चैत ३ गते प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने छन्।

प्रकाशित: १ चैत २०८० १७:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + fifteen =