२०१४ विश्वकप टोलीले जित्यो तिलोत्तमा एक्स्ट्राटेक लेजेन्ड कपको उपाधि

हिमाल प्रेस २८ फागुन २०८० २०:३७
20
SHARES
२०१४ विश्वकप टोलीले जित्यो तिलोत्तमा एक्स्ट्राटेक लेजेन्ड कपको उपाधि

लुम्बिनी- रुपन्देहीको तिलोत्तमामा भएको एक्स्ट्राटेक लिजेन्ड कप क्रिकेट प्रतियोगिताको उपाधि सन् २०१४ विश्वकप लिजेन्ड्सले हात पारेको छ। तिलोत्तमा नगरपालिका वडा नं १७ पूर्व दरखसवामा नवनिर्मित एक्स्ट्राटेक ओभल मैदानको उद्घाटनस्वरुप सोमबार एक्स्ट्राटेक लिजेन्ड कप टी–१० प्रतियोगिता आयोजना गरिएको हो। फाइनलमा रेस्ट अफ नेपाललाई १७ रनले पराजित गर्दै २०१४ टोलीले उपाधि हात पारेको छ।

२०१४ टोलीले दिएको १०२ रनको विशाल लक्ष्य पछ्याएको रेस्ट अफ नेपाल टोली १० ओभरमा ९ विकेट गुमाएर ८४ रन मात्र बनाउन सक्यो। रेस्ट अफ नेपालका लागि लाक्पा लामा १० बलमा २० रन बनाएर अविजित रहे।

यस्तै युनिल श्रेष्ठले १२ बलमा १८ रन बनाए। ओपनर सीता राना मगरले १४ बलमा १२ रन जोडिन्। अन्य व्याटर भने चल्न सकेनन्। २०१४ टोलीका लागि साम्सनजंग थापाले ४ विकेट लिए भने शक्ति गौचन र बद्री पंगेनीले समान २-२ विकेट लिए। दीपेन लाम्गादेले १ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको २०१४ विश्वकप लिजेन्ड्सले निर्धारित १० ओभरमा ७ विकेट गुमाएर १०१ रनको विशाल योगफल खडा गरेको थियो। २०१४ टोलीका लागि कप्तान पारस खड्काले विस्फोटक इनिङ खेल्दै १२ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ३९ रन बनाए। यस्तै ओपनर वीरेन्द्र शाहले १८ बलमा २९ रन बनाए। प्रफुल्ल वैद्यले १३ तथा दीपेन लाम्गादेले ९ रन जोडे।

रेस्ट अफ नेपालका लागि लाक्पा लामा एक्लैले ४ विकेट लिए। उनले अन्तिम ओभरमा ४ विकेट लिएका थिए। यस्तै राजकुमार प्रधान र दीपेन्द्र चौधरीले समान १–१ विकेट लिए।

रेस्ट अफ नेपालले रुपन्देही लिजेन्ड्सलाई हराउँदै फाइनलको यात्रा तय गरेको थियो भने २०१४ टोलीले १९९६ लिजेन्ड्सलाई हराउँदै फाइनल प्रवेश गरेको थियो।

प्रतियोगितामा नेपालले सन् १९९६ मा मलेसियामा पहिलो एसीसी ट्रफीमार्फत अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गर्दाको सहभागी खेलाडीको टोली लिजेन्ड्स ९६, विश्वकप २०१४ मा सहभागी टोली, रेस्ट अफ नेपाल तथा रुपन्देही लिजेन्ड्स टोली सहभागी थिए। प्रतियोगिताको सोमबार बिहान लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले उद्घाटन गरेका हुन्।

पहिलो खेल सन् १९९६ र सन् २०१४ मा मुलुकबाट अन्तर्राष्ट्रिय खेलमा प्रतिनिधित्व गर्ने टिमबीच भइरहेको छ। सन् १९९६ को टीमको नेतृत्व एलबी क्षेत्री र सन् २०१४ टीमको नेतृत्व पूर्व राष्ट्रिय क्याप्टेन पारस खड्काले गरिरहेका छन्। पारसको टीमले फिल्डिङ गर्दैछ।

उदघाटनमा सहभागी स्थानीय तह, प्रदेश र संघमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिले वैदेशिक रोजगारीमा अस्ट्रेलियामा रहेका व्यक्तिको लगानीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण गरेर प्रतियोगिता आयोजना गरिएकोमा प्रशंसा गरेका छन्।

कार्यक्रममा रुपन्देहीबाट संघमा प्रतिनिधित्व गर्ने विष्णु पौडेल, छविलाल विश्वकर्मा, वासुदेव घिमिरेका साथै गुल्मीबाट प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारी र गोकर्ण विष्टले निजी लगानीमा रंगशाला निर्माणले वैदेशिक रोजगारीमा रहेर मुलुकमा केही गर्न चाहने युवालाई प्रोत्साहन गर्ने बताएका थिए।

प्रकाशित: २८ फागुन २०८० २०:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 5 =