संस्मरण

जन्त जाने रहर

हरिकुमार श्रेष्ठ २६ फागुन २०८० १६:०५
362
SHARES
जन्त जाने रहर सन् १९६० को दशकमा तनहुँको कुनै गाउँमा भएको बिहेको यो तस्बिर पिस कर्प्सबाट साभार गरिएको हो।

फागुन महिनाको अन्तिम साता, अहिले बिहेको लगनको माचामाच छ। बिहेको लगन भन्नेबित्तिकै जन्ती पनि स्वतः जोडिने नै भयो। धेरैलाई  अहिले आफन्त, नातागोता, साथीभाइको बिहेमा जन्त जान भ्याइनभ्याई छ। जन्त जानु कतिलाई रहर त कतिलाई बाध्यता पनि होला। मलाई भने सानैदेखि बिहेमा जन्त जाने औधी रहर लाग्थ्यो। पञ्चेबाजाको तालमा जन्त जानेको लर्कन देख्दा आफू पनि कहिले ठूलो हुँला र जन्तीको हुलमा मिसिन पाउँला भनेर कल्पी बस्थेँ। धन्न त्यसका लागि मैले धेरै वर्ष कुर्नु परेन।

मैले चौध वर्षको कलिलो उमेरमा २०२६ सालमा एसएलसी परीक्षा दिएँ। त्यो यस्तो उमेर थियो जहाँ म केटाकेटी अवस्थामा छु वा किशोरवयमा प्रवेश गर्न लागेँ भन्ने दोसाँधमा थिएँ। परीक्षा सकेर रिजल्ट नआउन्जेल केही महिना म घरमै फाल्तु बसेको थिएँ। त्यही साल हिउँदमा हाम्रा ठूलोबाका छोरा गोविन्द दाइको आँबुखैरेनीमा बिहे भयो। हामी ठेट्ना केटाहरू पनि हौसिएर जन्तीमा मिसियौँ। बिहेमा जन्त गएको त्यो मेरो पहिलो अनुभव थियो।

जन्त जानु के थियो, जन्तीले जस्तो दुःख अरूले पाउँदा रहेनछन् भन्ने म आफैँले प्रत्यक्ष भोगेँ। हाम्रो गाउँबाट आँबखैरेनी पुग्न दिनभर हिँड्नुपर्थ्यो। अहिले जस्तो मोटरबाटो थिएन। पृथ्वी राजमार्गको मार्गचित्र बल्ल कोरिँदै थियो। मर्स्याङ्दी नदीमा झोलुंगेपुल पनि थिएन। हामी हिँड्ने सत्रसयफाँटपारि अकलामाई स्थाननेर  मर्स्याङ्दी नदी साँगुरो गल्छेँडामा बगेको ठाउँमा हिउँदको सुख्खायाममा ठूला बाँसको घना तेर्स्याएर मान्छे हिँड्ने कच्ची पुल राखिन्थ्यो जसलाई ‘धुले पुल’ भनेर पनि चिनिन्थ्यो। दुइटा बाँसको घना र डोरीको  सहायताले बनेको धराप पुलमा हातपाउ टेकेर पारी पुगेपछि बल्ल लामो सास फेरिन्थ्यो। मर्स्याङ्दीको छालले बाँसको घनामा हिर्काउँदा हामी लछप्पै भिज्थ्यौँ। अलिकति चिप्लियो कि खेल खत्तम।  त्यस्तोमा पनि हामी जन्तीहरुको उत्साहमा कुनै कमी देखिन्थेन।

जन्तीमा सामेल भएका  हामी  फुच्चे केटाहरूको दिमागमा बिहेघर आँबुखैरेनी फाँटमा त्यतैकतै होला भन्ने थियो। त्यसबला आँबुखैरेनीले बजारको स्वरूप लिएको थिएन, दुईचार फाट्टफुट्ट घर थिए। दुलहीको घर त्यहाँबाट दुई घन्टा उकालो छिम्केश्वरी डाँडाको काखमा पो रहेछ। बिहेघरमा जन्ती पुग्दा रात परिसकेको थियो। हामी अँध्यारोमा छामछाम छुमछुम गर्दै टर्चको सहायताले उकालो बाटो हिँडेर झम्के साँझमा दुलहीको घरमा पुग्यौँ। दिनभर हिँड्दाको लखतरान, त्यसमाथि खाने सुत्ने ठेगान थिएन। हामीले बारीको डिलमा लस्करै बसेर सालको टपरीमा चिसो भात खाएर भोक मेट्यौँ। बूढापाकाले ‘बरु अन्त जानु, जन्तचाहिँ नजानू’ त्यसै भनेका रहेनछन्।

त्यसो त जन्तीले दु:ख पाउने त अनादिकालदेखिकै चलन हो। देवाधिदेव महादेव माता पार्वतीको हात माग्न कैलाश पर्वतदेखि गौरीशंकर हिमालको काखमा जन्ती लिएर आउँदा बाटोमा भोकप्यासले प्याकप्याक भएका शिवगणलाई हाम्रै दोलखा जिल्लाको माथी लेकका बासिन्दाले जौको सातु र सखरको सर्वत ख्वाएर जन्तीको भोकतिर्खा मेटाएका थिए रे। शिवपार्वतीको विवाह अक्षय तृतीयाको पुण्य तिथिमा भएको रहेछ। जौको सातु र भेलीको सर्वत खाने र ख्वाउने चलन त्यहीँबाट सुरु भएको रहेछ। त्यो कथा मैले महाशिवरात्रिको पावन दिनमा युट्युब च्यानलमा सुनेको हुँ।

त्यसैले भन्न सकिन्छ – पौराणिक कालदेखि अहिलेसम्म पनि जन्तीले केही न केही दु:ख भोगिनै रहेका छन्, जस्तो मैले पनि भोगेँ। पहिलोपटक जन्ती जाँदा कुकुरले नपाउने दु:ख पाए पनि त्यसले मेरो कलिलो हृदयमा कुरकुरे बेँसको टुसा उमारिदियो। बिहेघरमा दाइको साली पर्ने मेरै उमेरकी एकजना चनमती केटी थिइन्। सबैले मलाई ‘अर्को साल तेरो पालो’ भनेर उल्लीबिल्ली बनाए। तर त्यो अर्को साल फेरि आएन, कारण अर्को वर्ष त कलेज पढ्न म काठमाडौँ आइहालेँ। रातो रिबन बाटेर चिटिक्क परेकी त्यो चुलबुले केटी धेरै दिनसम्म मेरो कलिलो हृदयमा बास बसिरहिन्। त्यही बैला मैले मुनामदन कण्ठ गरेँ, मधु-मालतीको कथा पढेँ अनि रेडियोमा रोमान्टिक गीत सुन्न रुचाउने भएँ। त्यतिखेर बज्ने बच्चुकैलाशको ‘कल्पनाको गगन’, फत्तेमानको ‘यस्तो पनि हुदो रैछ जिन्दगीमा कहिले कहिले’ अनि प्रेमध्वजको ‘घुम्तीमा नआऊ है ‘ जस्ता गीतले हृदयलाई तरंगीत पार्थे। उमेर नै त्यस्तो थियो।

अर्को वर्ष जाडोको छुट्टीमा घर आउँदा फेरि जन्त जाने साइत जुर्‍यो। यसपालि तनहुँ जिल्लाको सिमलचौरका हाम्रा नजिकका आफन्ती राम दाइको बिहे थियो। पहिले जन्त जाँदाको दुःख बिर्सिसकेको थिएँ। फेरि जन्ती भएर जाने रहर पलायो। जन्तीमा सामेल हुन यसपटक पनि  घरबाट दिनभरको बाटो लखरलखर हिँड्नुर्‍यो। खानु न पिउनु दिनभरि हिँडेपछि बल्ल साँझपख जन्तीमा सामेल भइयो।

जन्ती पर्सिने बेला पञ्चेबाजा घन्किँदा, नरसिंहा फुक्दा अनि भरुवा बन्दुक पड्काउँदा त रमाइलै भयो। दुलही पक्षकाले दुलाहालाई भित्र्याएर घरभित्र लगेपछि भने जन्तीलाई वास्तै गरेनन्। माघ महिनाको चिसो, बारीको डिलमा बसेर सिङ उम्रेको भात र दुई टुक्रा चिसो मासुको झोलसँगै हाम्रो जन्तेभोज पनि सकियो। सुत्नलाई भर्खर दाइँ हालेको परालको सिरक डसना थिए। त्यसैमा गुँडुल्किएर रात बितायौँ।

दुलही अन्माउन त्यत्तिकै अलमल। बेलैमा जन्ती बिदा गर्ने  सुरसार थिएन। दुलाहा र लमी आफैँ नुन खाएको कुखुराजस्तै झोक्राएर बसेका थिए। त्यस्तो स्थितिमा जन्ती जानेमध्येका मर्दजवानले ठूलो स्वरमा असन्तोष व्यक्त गर्ने त पुरानो चलन नै थियो। जन्तीपक्ष र माइतीपक्षबीच वादविवाद चर्कँदै जादा हात हालाहालको स्थिति पनि आउने तितो अनुभव बुवाले सुनाउनुहुन्थ्यो। उहाँले भनेअनुसार परिस्थिति धेरै बिग्रेमा दुलही नलिईकनै जन्ती आफ्नो बाटो लाग्थे अनि सामदाम, दण्डभेद सबै उपाय प्रयोग गरी जन्तीले अर्कै कन्या खोजेर डोलीमा दुलही राखेर घर फर्कन्थे। हाम्रो हकमा दुलही चाँडै अन्माउने विषयलाई लिएर जन्तीपक्ष र  माइतीपक्ष बीच चर्काचर्कीसम्म पऱ्यो तर रित्तो डोली घर फर्कनचाहिँ परेन।

नेपाली चेलीसँग बिहे गर्न आमासहित काठमाडौँ आएका क्यानाडेली युवक। तस्बिर : हरिकुमार श्रेष्ठ

दुलही लिएर घर फर्केपछि भने जन्तीको अर्कै फुर्तीफार्ती। नाचगान, भोजभतेर त्यस्तै। आफ्नै घरजस्तो भएकोले मलाई  खानबस्न केही समस्या थिएन। घरमा जे पाकेको छ मागेर खाए भयो, पिँढी-दलान जहाँ खाली छ त्यही गुँडुल्किएर सुते पनि भयो। मैले जन्त जादाँको दुःख छिनमै बिर्सिए।त्यसमाथि आफू कलेज पढ्दै गरेको लोर्के केटो- दुलही भित्र्याउन भेला भएका भर्खरका नवयौवना केटीहरूको  नजरमा पर्ने नै भइयो। तारुघाट, कुन्छा, मानेचौकातिरका थुप्रै केटीहरू निम्ता मान्न आएका थिए। तिनीहरूसँग हाँसखेल गर्दा दिन बितेको पत्तै हुन्थेन। त्यहाँ पनि ‘झ्याइँ पार्ने हैन?’ भनेर उक्साउने थुप्रै थिए तर आफूलाई मन परेको केटीको  हात टपक्क समातेर हिँड्ने आँट ममा पलाइसकेको थिएन। चार आँखा त थुप्रैसँग भयो तर त्यो  धेरै समय टिकेन। समयको गतिसँगै ती धूमिल भए।

अनि मैले बिस्तारै बुझ्दै गएँ- जन्त जानु र त्यही मौका पारेर आफ्नो पनि सिद्राको व्यापार गर्नु पशुपतिको जात्रामा गएजस्तो कहाँ  सजिलो हुँदोरहेछ र?  लगनगाँठो जोड्न त लगन नै कुनुपर्दो रहेछ ।

त्यसपछि भने ममा जन्त जाने रहर बिस्तारै मर्दै गयो। जन्त गएर खासै लछारपाटो लाग्दो रहेनछ भन्ने कुरा मेरो घैँटोमा घाम लाग्न थाल्यो। तर भनेर के गर्नु? आफ्नै बिहेमा जाँदा जन्तीसरह आफूले पनि दुःख पाइयो। बेहुला हुँदा पनि कम्ती सास्ती बेहोर्नुपर्ने रहेनछ भन्ने मैले त्यतिबेलै अनुभव गरेँ। जन्तीमा मेरा केही मिल्ने  साथी पनि सम्मिलित थिए। जन्ती पर्सेपछि तिनीहरू आफूखुसी लाखापाखा लागे। कोही बजार घुम्न गए, कोही थकाल्नीको होटेलतिर पसे। तर बेहुलालाई भने त्यस्तो स्वतन्त्रता थिएन। उल्टै झ्याइँकुटी पारेर स्वयंवर गर्ने ठाउँमा लगे। त्यहाँको अनुष्ठान ‘जसो जसो बाहुनबाजे उसैउसै स्वाहा’ थियो। अहिले जस्तो बेहुलाबेहुली हात समातेर मस्किएर जग्गेमा बस्ने चलन थिएन। घुम्टोभित्रकी दुलही आफूले रोजेको वा अर्कैले खोजेको केही भेउ पाइन्थेन। त्यस्तोमा औँठी साटासाट गरेपछि  प्रणयसूत्रमा बाँधिएको पक्कापक्की हुन्थ्यो।

त्यसपछिको कन्तबिजोगको त झन् के कुरा गर्नु? स्वयंवरको अनुष्ठान पूरा भएपछि दुलाहालाई एउटा कोठामा थुनेर बेहुली पक्षका बेपत्ता हुन्थे। दुलही अन्माउने बेला नहुन्जेल केही वास्ताव्यास्ता गर्थेनन्। दुलहीको खुट्टा धुने अनि कन्यादानको विधिका लागि रातभर व्यस्त हुन्थे। विचरा बेहुला गुमनाम कोठामा एक्लै नजरबन्दमा बस्नुपर्थ्यो। बरु दुःखै पाए पनि साथमा आएका जन्ती हँसिमजाक, रमाइलो छेडखानी गरिरहेका हुन्थे। त्यसबेला आफूलाई पनि नजरबन्दबाट भागेर जन्तीमा सामेल हुने हुटहुटी चल्थ्यो।

यसरी मेरो जन्त जाने रहर मर्दै, पलाउँदै अहिलेसम्म पनि जस्ताको तस्तै छ। पञ्चेबाजा, नौमती बाजाको धुन, नरसिंहा फुकेको आवाज अनि सहनाईको स्वर सुन्दा कलिलो उमेरमा जन्त गएको सम्झना घरीघरी ताजा भएर आउँछ।

अब त जन्ती हुदाँको  तितामिठा सम्झना मात्र बाँकी छन्। जमाना कहाँबाट कहाँ पुगिसक्यो- आफूले चाहेर पनि पहिलाजस्तो जन्तीमा सामेल हुन्छु भन्दा पनि पाउँदिनँ। बिहेको सिजनमा बिहेको निम्तो त प्रशस्त आउँछन् तर विडम्बना – जन्ती प्रस्थान, स्वयंवर, कन्यादान, प्रीतिभोज प्रायः एकै ठाउँमा –  त्यो पनि पार्टी प्यालेस, इभेन्टस् अथवा ब्यान्क्केटजस्ता बनिबनाउ ठाउँमा आयोजना हुन्छन्। त्यो नयाँ संस्कृतिले बेहुला र कन्याका परिवारलाई केही सजिलो त बनाएको होला तर त्यसले बिहेको हाम्रो समृद्ध मौलिक संस्कार र परम्परालाई चाहिँ बिस्तारै समाप्त पार्दैछ।

त्यसैले होला- त्यस्ता मेकानिकल बिहे पार्टीमा म सकभर जान मन गर्दिनँ। अहिले त झन् सजिलो छ- बिहेको निम्तो कार्ड  भाइबर, मेसेन्जरबाटै आउँछ अनि निम्तो मान्न असमर्थताको जानकारी पनि मोबाइलको एउटा छोटो मेसेजले दिए पुग्छ। टन्टै खलास। त्यसरी असमर्थताको मेसेज पठाउँदै गर्दा म कहिलेकाहीँ गम खाएर सोच्दछु- कि हाम्रो जन्त गएर दुलही ल्याउने मौलिक संस्कृति साँच्नै विलुप्त  हुने त होइन ?

बरु पछिल्लो समयमा विदेशमा स्थायी बसोबास गर्ने दोस्रो पुस्ताका नेपालीमा नेपालको मौलिक संस्कृति संरक्षण गर्ने केही हुटहुटी पलाएको देख्न सकिन्छ। त्यसको एउटा सानो झिल्को म आफैँले पनि देख्न पाएँ। हालै मात्रको कुरा हो- क्यानाडामा कर्मथलो बनाएकी एक नेपाली चेलीले त्यहाँको नागरिकसँग कानुनी रूपमा विवाह बन्धनमा बाधिएपछि नेपालको मौलिक संस्कृतिक परम्पराअनुसार लगनगाँठो कस्न वरवधुका परिवारसहित नेपाल आएकी रहिछन्। त्यो विवाह उत्सवमा मैले पनि जन्तीमा सामेल हुने मौका पाएँ। नेपाली पहिरनमा सजिएका ती क्यानाडेली बेहुला र सारीचोलीको पहिरनमा सजिएकी उनकी आमा हाम्रो समृद्ध परम्पराअनुसार नेपाल आएर विवाह गर्न पाएकोमा दंगदास देखिन्थे। हामी भने बिहेमा कसार बाट्न छाडेर अनि रत्यौली नाच्न छाडेर आयातित मेहन्दीमा गर्व गर्छौँ। यसलाई विडम्बना नभनेर के भन्ने?

प्रकाशित: २६ फागुन २०८० १६:०५

प्रतिक्रिया

One thought on “जन्त जाने रहर

  1. माघ महिनाको चिसो, बारीको डिलमा बसेर सिङ उम्रेको भात र दुई टुक्रा चिसो मासुको झोलसँगै हाम्रो जन्तेभोज पनि सकियो। सुत्नलाई भर्खर दाइँ हालेको परालको सिरक डसना थिए। त्यसैमा गुँडुल्किएर रात बितायौँ।

    Sabai yesta chhan ki kun chai tipau. Wow Hari Sir, Hara hara

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + two =