बसाइँसराइले उजाडिएको गाउँमा रमाइरहेको पौडेल दम्पती

हिमाल प्रेस २५ फागुन २०८० १५:३५
12
SHARES
बसाइँसराइले उजाडिएको गाउँमा रमाइरहेको पौडेल दम्पती

ढोरपाटन (बागलुङ)- वरपरका छरछिमेकी बसाइँसराइ गरेर कोही चितवन, कोही गैँडाकोट त कोही पोखरा गएका छन्। दिनप्रति दिन गाउँ सुनसान बन्दै छ। गाउँमा भएका युवा दिनहुँ विदेश पलायन भइरहेका छन्। घरमा भएका छोरोछोरी पनि पढाइका लागि बजार झर्न थालेका छन्। सेवासुविधाको खोजीमा गाउँले तराई झर्न थालेपछि बागलुङको जैमिनी नगरपालिका–४ सर्कुवा गाउँ सुनसान बन्न थालेको छ।

सुनसान बन्दै गएको गाउँमा स्थानीय बाबुराम पौडेल र उनकी श्रीमती मायादेवी पौडेल भने व्यावसायिक मौरीपालनमा रमाइरहेका छन्। बसाइँसराइले उजाड बन्न थालेको गाउँमा व्यावसायिक बन्दै गएका पौडेल दम्पतीलाई बसाइँसराइ गर्नुभन्दा गाउँमै उद्यमी बन्नु ठीक लाग्यो। अहिले उनीहरू धेरैका लागि प्रेरणाको स्रोत बनेका छन्।

पौडेलले तराईमा घडेरीसमेत जोडेका छन्। गाउँमा जस्तो स्वच्छ हावापानी र वातावरण नहुँने हुँदा बसाइँसराइ नगरेको बाबुरामले बताए। उनको घरको बार्दली, कौसी, छानो र पिँढीभरि मौरीका घार छन्। घारमा मौरीले रस बनाइरहेका छन्। आधुनिक प्रविधि अपनाएर मौरीपालनमा लागेको पौडेल दम्पतीले तरकारीसँगै सुन्तला खेती पनि गर्दै आएको छ।

बाबुराम आफैँले आधुनिक मौरीको घार बनाउने हुँदा हरेक वर्ष हजारौँको खाली र मौरीसहितका घार बिक्री हुने गरेको उनले बताए। हातमा सिप र जाँगरले गर्दा सुनसान गाउँमा बाबुराम सफल उद्यमीका रूपमा चिनिन्छन्।

बाबुराम बारीमा दुईवटा हाइटेक टनेल बनाएर मौसमी तथा बेमौसमी तरकारीखेती गर्दै आएका छन्। पाँच वर्ष अगाडि लगाएका एक सय बोट सुन्तलाले पनि अहिले उत्पादन दिन थालेका बाबुरामले बताए। मौरीपालनलाई मुख्य पेसा बनाएको भन्दै लोकल कुखुरा, दूध, घ्युका लागि भैँसीसमेत पालन गरेको उनको भनाइ छ।

गाउँमा थुप्रै छिमेकी धमाधम बसाइँसराइ गरे पनि यहाँ अवसर धेरै भएकाले गाउँ छोड्न नसकेको बाबुरामले बताए। दश वर्ष अगाडि साथीभाइको लहलहैमा मलेसिया पुगेर २२ महिना दुःख गरेको सुनाउँदै सङ्घर्ष गरे घरमै पनि प्रशस्त कमाइ गर्न सकिने उनको भनाइ छ।

घरमा पहिले बाउबाजेको पालादेखि दुई÷चार घार मौरी पाल्दै आएको बताउँदै बाबुरामले अहिले आधुनिक तरिकाले व्यावसायिकरुपमा लागिएको जानकारी दिए।

‘गाउँमा काठ जति पनि पाइन्छ, हातमा सिप भएकाले मौरीको घार आफैँ बनाउँछु। पहिले मुडे घारमा मौरी पाल्ने चलन थियो, अहिले सबै आधुनिक घारमा राखेका छौँ’, बाबुरामले भने, ‘विदेश २२ महिना बसेर आएपछि स्वदेशमै केही गरौँ भन्ने लागेर व्यावसायिक मौरीपालन सुरु गरको हुँ। अहिले प्रशस्त आम्दानी भइरहेको छ।’

आफूले मौरीपालन सुरु गर्दा कुनै तालिम नलिएको बताउँदै बाबुरामले व्यवसाय सुरु गरेको धेरै वर्षपछि मौरी विकास केन्द्र गोदावरीबाट तालिम लिएको जानकारी दिए। झण्डै डेढ दशकदेखि मौरीपालन गर्दै आए पनि आठ वर्ष अगाडि मात्रै फर्म दर्ता गरेर व्यवसायलाई व्यवस्थित गरेको उनको भनाइ छ।

बाबुरामले हाल ४० घार मौरी पालेका छन्। गत वर्ष एक सय घार मौरी रहेकामा केही बिक्री गरेको र २० घार बचेका उनको भनाइ छ। पोहोर साल धेरै घार मौरी अपरिचित रोगले मर्दा झण्डै रू पाँच लाख नोक्सानी व्यहोर्नु परेको बाबुरामले बताए। पौडेल दम्पतीले मौरीपालनबाटै दुई छोरोछोरीलाई पोखरामा पढाइरहेका छन्। छोरीले आईटी इन्जिनियर छोराले कम्प्युटर विज्ञान पढिरहेका छन्।

बाबुरामकी पत्नी मायादेवी बिहान सबेरै उठेदेखि साँझसम्म मौरीको हेरचार र बारीमा रहेका सुन्तला, टनेलमा गोडमेल र पानी लगाउने काम गर्छिन्। उनीहरूले आफ्नो जग्गा कतै पनि बाँझो राखेका छैनन्। बारीमा बाँझो जमिनमा लम्सी र फलफूलका बिरुवा लगाएका छन्। जमिनलाई उपयोग गर्ने मान्यताले सबै ठाउँमा विभिन्न प्रजातिका वनस्पतिका बिरुवा लगाइएको मायादेवीले बताइन्। गत वर्ष ४० घार मौरी बेचेकामा यस वर्ष भने कम भएको उनको भनाइ छ।

दुई सिजनमा मौरीको घारबाट मह निकाल्ने हुँदा आम्दानी पनि राम्रो हुने मायादेवीले बताइन्। उनीहरूले हरेक वर्ष दुई क्विन्टल मह बच्ने गरेका छन्। एक किलोलाई रू एक हजार पाँच सय देखि दुई हजारसम्ममा बिक्री हुँदा मेहनतको मूल्य पर्ने गरेको उनले सुनाइन्।

महको माग धेरै हुने भएकाले बजारको अभाव नभएको मायादेवीले बताइन्। यस वर्षदेखि सुन्तला उत्पादन हुन थालेपछि पहिलो पटकमा रू ७० हजार बढीको बिक्री भएको उनले जानकारी दिइन्। तरकारीबाट पनि विस्तारै आम्दानी हुन थालेको भन्दै गाउँको माया र माटोप्रतिको सम्मानले गर्दा अन्त बसाइँ सर्न मनले नमान्ने उनले बताइन्।

गाउँमा सामान्य कृषि गर्नेले राज्यबाट पाउने अनुदान सहजै प्राप्त गरिरहेका भन्दै आफूहरूले निरन्तर यही काम गर्दै आए पनि सहयोग पाउन नसकेको बाबुरामले दुखेसो पोखे। टाढाबाठाले मात्रै अनुदान पाउने तर वास्तविक किसानले नपाउने उनको भनाइ छ।

‘मलाई यहाँ भएको कुनै पनि बारी बाँझो राख्न मन लाग्दैन, गाउँमा हरेक दिन खेतीयोग्य जमिन बाँझो बन्दै गएका छन्। मकै, गहुँ खेती गर्दैनौँ’, मायादेवीले भनिन्, ‘फलफूल र तरकारीखेती तथा मौरीपालनलाई निरन्तरता दिएका छौँ। मौरीले बारीबाट रस लिन्छन्। मौरी, बोट बिरुवा र माटोसँग खेल्न निकै आनन्द लाग्छ।’ रासस

प्रकाशित: २५ फागुन २०८० १५:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + twenty =