भरिँदै सहर

लुम्बिनी : गाउँमा सिंहदरबार, सहरमा मानिस 

विनोद परियार ३ वैशाख २०८० १०:१८
70
SHARES
लुम्बिनी : गाउँमा सिंहदरबार, सहरमा मानिस  पाल्पाको नुवाकोटबाट देखिएको बुटवल बजार।

लुम्बिनी : सामान्यतया सडक, विद्युत्, स्कुल, अस्पतालजस्ता आधारभूत सुुविधा गाउँमै पाएपछि बसाइँ सराइ नहुनुपर्ने हो।  तर लुम्बिनी प्रदेशका पहाडी जिल्लामा अवस्था ठीक उल्टो छ।

विकासका आधारभूत सेवा घरघरसम्म हुँदासमेत पहाडी जिल्लाको जनसंख्या क्रमशः ओरालो लाग्न थालेको छ।

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार गुल्मी, पाल्पा र अर्घाखाँचीको जनसंख्या वृद्धिदर ऋणात्मक देखिएको हो। जनसंख्या ऋणात्मक हुने नेपालका ३४ जिल्लामध्ये गुल्मी सातौँ, अर्घाखाँची १० औँ र पाल्पा १८औँ स्थानमा छन्।

लुम्बिनी प्रदेशका ३० वटा स्थानीय तहको जनसंख्या अघिल्लो जनगणनामाभन्दा घटेको छ। रोल्पाको एक, प्युठानका तीन, अर्घाखाँचीका पाँच, पाल्पाका नौ र गुल्मीका १२ वटा स्थानीय तहको जनसंख्या ऋणात्मक छ।

यसरी पहाड रित्तिँदै जाँदा सहरको जनसंख्या भने थेग्नै नसक्ने गरी उकालो लागेको छ। लुम्बिनी प्रदेशमा सबैभन्दा बढी चाप रूपन्देही जिल्लामा देखिएको छ। रूपन्देही ७७ जिल्लामध्ये धेरै जनसंख्या भएको तेस्रो जिल्ला पनि हो। काठमाडौँ र मोरङपछि धेरै जनसंख्या भएको जिल्ला रूपन्देहीमा ११ लाख २१ हजार ९५७ जना जनसंख्या पुुगेको छ।

रूपन्देहीमा २०६८ सालको जनगणनाभन्दा अहिले २ लाख ४१ हजार ७६१ ले जनसंख्या वृद्धि भएको छ।

सुविधा खोज्दै सहर

लुम्बिनी प्रदेशका रूपन्देही, बाँके र दाङ पहाडी जिल्लाका मानिसको प्रमुख रोजाइमा परेका छन्। साविक लुुम्बिनी अञ्चलका मानिस रूपन्देही र विशेषगरी बुुटवलमै बसाइँ सराइ गरेको देखिन्छ।

राप्ती अञ्चलका मानिस दाङको तुलसीपुर, घोराही तथा भेरी र कर्णालीका मानिसको रोजाइमा बाँकेको नेपालगन्ज र कोहलपुर परेको छ।

जानकारहरूका अनुसार शिक्षा, स्वास्थ्य, रोजगारीको खोजीमा मानिस तराई ओर्लिरहेका छन्। लेखक एंव अध्येता युुवराज कँडेल भन्छन्, ‘सुुविधा खोज्दै मानिस बसाइँ सर्छन्।’ उनका अनुसार वैदेशिक रोजगारीले पनि बसाइँ सराइ बढाएको छ। ‘नगद भएपछि गाउँघरमा दुःख गर्न नचाहेको देखिएको छ,’ कँडेल भन्छन्।

गुल्मीको सत्यवती गाउँपालिकाको ठूलोलुम्पेक गाउँ। तस्बिर साैजन्य : कपिल ज्ञवाली।

गुल्मीको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापा पनि कँडेलको विचारमा सहमत छन्। ‘श्रीमानले पासपोर्ट बनाएकै दिन श्रीमतीले खोकिलामा बच्चा च्यापेर गाउँ छाड्छन्,’ उनी भन्छन्, ‘यहाँ सुविधा छैन भन्नु पनि मिलेन गाउँमा सडक, विद्युत्, शिक्षा, स्वास्थ्य सबै सुुधार गरिसकेका छौँ।’

कोरिया, अस्ट्रेलिया, अमेरिका र वैदेशिक रोजगारीका लागि खाडी मुलुक जाने क्रम बढेसँगै गाउँ छाड्ने लहर बढेको उनको भनाइ छ। बसाइँ सराइले विद्यालयमा विद्यार्थी कम भएपछि यो शैक्षिक सत्रदेखि तीन विद्यालय गाभेर एउटा बनाउने निर्णय भएको अध्यक्ष थापाले बताए।

बसाइँ सराइले निरन्तर जनसंख्या ओरालो लागेको पाल्पाको निस्दी गाउँपालिकाका प्रवक्ता मेखबहादुर सुनारी बताउँछन्। ‘स्थानीय सरकारले सबै सुविधा गाउँमै दिने प्रयास गरिरहेका छन्,’ सुनारीले भने, ‘तैपनि बसाइँ सराइका कागज बनाउनेको भीड दिनहुँ बढ्दो छ।’ वडा नं. ६ का अध्यक्षसमेत रहेका सुनारी गाउँगाउँमा नियमित यातायात, विद्युत्लगायत पूर्वाधार पनि रहेको बताउँछन्।

उनका अनुसार निस्तीबाट रुपन्देहीको बुुटवल, कपिलवस्तुुको विजयनगर र नवलपरासीको सर्दी चोरामारा, अरुणखोला र  कावासोतीसम्म मानिस बसाइँ सरिरहेका छन्। केहीचाहिँ काठमाडौँ, तानसेन र रामपुर झरेका छन्।

जनसंख्या घट्ने जिल्ला

पछिल्लो दशकमा लुम्बिनी प्रदेशमा ६ लाख २२ हजार ८०६ मानिस थपिएका छन्। २०६८ मा ४४ लाख ९९ हजार २७२ जनसंख्या रहेकोमा एक दशकमा बढेर ५१ लाख २२ हजार ७८ पुगेको छ।

लुम्बिनीमा २०६८ मा ८ लाख ८५ हजार २०३ परिवार संख्या रहेकोमा अहिले ११ लाख ४१ हजार ९०२ पुगेको छ।  जनसंख्या वृद्धिदर उच्च हुने जिल्लामध्ये रूपन्देही, बाँके, दाङ र कपिलवस्तु क्रमशः दोस्रो, चौथो, छैटौँ र दसौँ स्थानमा छन्। पालिकामध्ये जनसंख्या वृद्धिदर सबैभन्दा उच्च रूपन्देहीको कञ्चन, दाङको राप्ती र बाँकेको बैजनाथ गाउँपालिका छ।

तर सोही अनुपातमा पहाडी जिल्लामा भने जनसंख्या क्रमशः ओरालो लागेको छ।

लुम्बिनी प्रदेशमा सबैभन्दा बढी सरकारी कर्मचारी भएको जिल्ला हो– गुुल्मी। गुल्मी राजनीतिक र शिक्षाको हिसाबले सचेत मानिसको बसोबासको जिल्ला पनि हो। पहाडी जिल्लामध्ये सुुगम मानिन्छ। तर १० वर्षको अवधिमा गुल्मीमा ३३ हजार ६६६ ले जनसंख्या घटेको छ।

२०६८ मा २ लाख ८० हजार १६० जनसंख्या रहेकोमा २०७८ मा जनसंख्या २ लाख ४६ हजार ४९९ मा खुम्चिएको छ। गाउँगाउँमा विकास र ‘सिंहदरबार’ पुगे पनि मानिस सुविधा खोज्दै तराईतिर झरेको तथ्यांकले स्पष्ट पारेको छ।

पाल्पाको पनि जनसंख्या घटेको छ। त्यहाँको जनसंख्या १६ हजार १५३ ले घटेको हो। २०६८ मा २ लाख ६१ हजार १८० रहेकोमा अहिले २ लाख ४५ हजार २७ छ। अर्घाखाँचीमा पनि एक दशकमा २० हजार ५४६ ले जनसंख्या घटेको छ।

तराईका जिल्लाहरू दाङ, कपिलवस्तुु, बाँके, बर्दिया र नवलपरासीमा जनसंख्या वृद्धि भएको छ। दाङमा एक दशकमा १ लाख २२ हजार ३७० ले जनसंख्या वृद्धि भइ अहिले ६ लाख ७४ हजार ९५३ पुगेको छ।

बाँकेमा एक दशकमा १ लाख ३९ हजार ७८१ मानिस बढेका छन्। २०६८ मा ४ लाख ९१ हजार ३१३ जनसंख्या रहेकोमा अहिले बढेर ६ लाख ३१ हजार ९४ पुगेको हो। बर्दियामा २०६८ मा ४ लाख २६ हजार ५७६ रहेकोमा अहिले ५ लाख ५९ हजार ९०० पुगेको छ।

पश्चिम नवलपरासीमा २०६८ मा ३ लाख ३१ हजार ९०४ रहेकोमा बढेर ३ लाख ८६ हजार ८६८ पुगेको छ। कपिलवस्तुमा एक दशकमा १ लाख ११ हजार २५ ले जनसंख्या वृद्धि भएको देखिन्छ।

२०६८ मा ५ लाख ७१ हजार ९३६ रहेकोमा बढेर ६ लाख ८२ हजार ९६१ पुगेको तथ्यांकमा उल्लेख छ।

लुम्बिनीका रोल्पा, रुकुम पूर्व र प्यूूठानमा झिनो मात्रामा जनसंख्या वृद्धि भएको छ।  रोल्पामा २०६८ मा २ लाख २४ हजार ५०६ रहेकोमा अहिले बढेर २ लाख ३४ हजार ७९३ पुगेको छ।

प्युठानमा एक दशकमा ३ हजार ९ सय १७ ले जनसंख्या बढेको छ। २०७८ को जनगणनाअनुसार प्यूूठानको जनसंख्या २ लाख ३२ हजार १९ पुगेको हो। रुकुम पूर्वमा एक दशकमा ३ हजार ६०२ ले जनसंख्या वृद्धि भएको छ। २०६८ मा ५३ हजार १८४ रहेकोमा अहिले बढेर ५६ हजार ७८६ पुगेको छ।

असन्तुलित जनसंख्या

प्रकाशित: ३ वैशाख २०८० १०:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 13 =