बाटो छ, बत्ती छ तर मान्छे छैनन्

हिमाल प्रेस ७ भदौ २०८० १५:०५
6
SHARES
बाटो छ, बत्ती छ तर मान्छे छैनन् चितवनको इच्छाकामना गाउँपालिका–६ कुयलघारीमा मान्छे बस्न छाडेको घर। तस्बिरः कृष्ण आचार्य/रासस

भरतपुर- चितवनको इच्छाकामना गाउँपालिका–३ खानी गाउँका ज्ञानबहादुर मगरलाई आजभोलि गाउँघर शून्य लाग्छ। उनका अनुसार गाउँमा पहिले जस्तो चहलपहल छैन। धेरै मानिस बसाइँसराइ गरेर बजार पुगेका छन् भने युवा जति विदेशमा।

पहिले १२ घरपरिवार रहेको उनकाे टाेलमा अहिले पाँच घर मात्रै छन्। केटाकेटी पढ्नका लागि बजार झरिसकेको र गाउँमा बुढापाका मात्रै बाँकी भएको उनको भनाइ छ। ‘हाम्रो घरमा पनि श्रीमान र श्रीमती मात्रै छौँ,’ मगरले भने, ‘कोही छोरा भरतपुर त कोही विदेशमा छन्।’

सोही वडाको कुयलघारीमा अधिकांश घर खाली छन्। यो भूकम्प प्रभावित ठाउँ पनि हो। भूकम्पपछि यहाँबाट बसाइँसराइ गर्ने बढेका थिए। यस ठाउँलाई भूकम्पको जोखिमयुक्त ठाउँ घोषणा गरेपछि झन् गाउँ छाड्ने बढेको कुयलघारीका सन्तुलाल विकले बताए।

मानिसको बसोबास घट्दै गएपछि खेतयोग्य जमिन बाँझो हुन थालेको छ। पशुपालन र कृषि कर्म पनि घट्दै गएको छ। खानीगाउँ र कोयलघारीमा मगर, गुरुङ, चेपाङ र दलित समुदायको बसोबास छ। जुन हरेक दिन पातलाे हुँदैछ।

खानीगाउँदेखि नारायगणगढ–मुग्लिन राजमार्ग ५ किलोमिटरमात्रै दूरीमा पर्छ। गाउँमा अहिले मोटरबाटो पुगेको छ। विद्युत्, खानेपानीलगायतको सुविधा पनि छ। कुयलघारीका सेतु विकले भने, ‘पहिले केही नहुँदा गाउँमा खेतीपाती, पशुपालन सबै थियो। अहिले बाटोघाटो छ, बत्ती छ तर मान्छे छैनन्।’

मानिसको बसोबास कम हुँदै गएपछि गाउँका घर जीर्ण बन्दै गएका छन्। इच्छाकामना गाउँपालिकाकी कार्यपालिका सदस्य परिमाया कामीले भन्छिन्, ‘बसाइँसराइ बढेपछि गाउँघरका घर भत्किने अवस्थामा पुगेका छन्।’

इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले किसानका लागि गाउँपालिकाले कृषि कार्यक्रम ल्याएको बताए। तर त्यो सुविधा लिने कोही छैनन्। ‘गत वर्ष कृषि अनुदानका लागि छुट्याइएको बजेट पनि खर्च भएन,’ उनले भने, ‘गाउँपालिकाले ५० प्रतिशत अनुदानमा बाख्रा खोर र गोठ सुधारका कार्यक्रम ल्याएको थियो।’

यहाँका मानिस भरतपुर, सिमलढाप, गैँडाकोटलगायत क्षेत्रमा बसाइँसराइ गर्ने गरेका छन्।

–रासस

प्रकाशित: ७ भदौ २०८० १५:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + one =