आज महाशिवरात्रि, शिवालयमा भक्तजनको घुइँचो

हिमाल प्रेस २५ फागुन २०८० ६:३६
10
SHARES
आज महाशिवरात्रि, शिवालयमा भक्तजनको घुइँचो

काठमाडौँ- महाशिवरात्रिको पावन अवसरमा आज देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ। काठमाडौँको पाशुपत क्षेत्रसहित देशका विभिन्न भागमा रहेका शिवालयमा भक्तजनको घुइँचो लागेको हो।

निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा एवम् शिव महिमा कीर्तन शिवरात्रि पूजा अर्चनाका मुख्य अंक मानिन्छन् भने शिवरात्रिको पालनाले योग र मोक्ष दुवैको प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास रहिआएको छ।

भूमिसँग भगवान् शिवको सम्बन्ध विभिन्न वैदिक ग्रन्थमा वर्णन गरिएको पाइन्छ। शिवोत्पत्ति भएको विश्वास गरिने मानसखण्डको भू–भाग, शिवको विचरणस्थल मानिने हिमवत्खण्डको मुख्य भूगोल एवम् निवासस्थल मानिने पवित्र पाशुपत क्षेत्र नेपालमा छ।साथै मुलुकका धेरै धार्मिक सम्प्रदायभित्र विद्यमान सनातन संस्कृतिमा शिवसँग सम्बन्धित आस्था र विश्वास निरन्तर प्रतिविम्बित भएको पाइन्छ।

वैदिक परम्परामा शिवलाई मूलतः सम्हारका शक्ति मानिएको भए पनि शिवशक्तिमा सौम्य तथा रौद्र दुवै स्वरूप समाहित छन्, जसले प्रकृतिको सिर्जनात्मक एवं संहारकारी शक्तिलाई बराबर प्रतिनिधित्व गर्दछन् भन्ने धार्मिक विश्वास छ।

त्यसैगरी सौम्य शक्तिले मानव चेतनामा असल पक्षको बोध गराइ त्यसलाई मात्र ग्रहण गर्न उत्प्रेरित गर्ने भएकाले नै ‘सत्यम् शिवं सुन्दरम’ प्राचीन लोकोक्तिका रूपमा रहेको तथा रौद्र शक्तिले खराब रोजाइबाट उत्पन्न परिणामलाई दण्डित गर्दछ भन्ने विश्वास गरिन्छ।

यस अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना सन्देश जारी गर्दै सांस्कृतिक एवं धार्मिक सम्पदाको यथोचित संरक्षण गर्न प्रण गर्नुपर्ने बताएका छन्। उनीद्वारा जारी सन्देशमा भनिएको छ,‘पूर्खाको नासोका रूपमा हामीले पाएका सम्पदालाई मौलिक स्वरूपमा भावी पुस्तासमक्ष हस्तान्तरण गर्नु हाम्रो दायित्व हो, बागमती सभ्यता विकास भएको तथा काठमाडौँ उपत्यकाको जलाधारको रूपमा रहेको बागमती नदीलाई स्वच्छ र सफा राखिराख्नका लागि आजको दिनले सबैलाई प्रेरणा मिल्ने विश्वास लिएको छु।’

प्रकाशित: २५ फागुन २०८० ६:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 4 =