संसद् भवनमा लघुवित्तपीडितको प्रदर्शन : सुरक्षा प्रमुखसँग गृहमन्त्रीको सोधपुछ

हिमाल प्रेस १४ फागुन २०८० २१:२५
24
SHARES
संसद् भवनमा लघुवित्तपीडितको प्रदर्शन : सुरक्षा प्रमुखसँग गृहमन्त्रीको सोधपुछ

काठमाडौँ- सुरक्षाकर्मीलाई छक्याएर लघुवित्तपीडितहरूको समूह सोमबार संसद् भवन प्रवेश गरेको विषयलाई लिएर गृहमन्त्री नारायणकाजी श्रेष्ठले तीनवटा सुरक्षा संगठनसँग जानकारी लिएका छन्।

उनले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखहरूसँग सुरक्षा कमजोरीका विषयमा सोधपुछ गरेका हुन्। घटना भएपछि उनले सुरक्षा प्रमुखहरूको आकस्मिक बैठक डाकेका थिए।

सोमबारको घटना छानबिनका लागि एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा तीन सदस्यीय छानबिन समितिसमेत बनाइएको छ, जसमा एसपी नवराज अधिकारी र डीएसपी दिनेश घिमिरे छन्। संसद् भवनको सुरक्षामा खटिएका ३२ जनाको टोलीलाई पनि फिर्ता बोलाई नयाँ टोली खटाइएको प्रहरी स्रोतको भनाइ छ।

नयाँ बानेश्वर क्षेत्रमा जुलुस निकाल्न र विरोध प्रदर्शन गर्न निषेध छ। संसद् भवन भएकाले पनि प्रशासनले निषेधित क्षेत्र तोकेको हो। जुलुस लिएर माइतीघरबाटै बानेश्वरतर्फ जानै पाइँदैन। कोटेश्वरतिरबाट जुलुस अघि बढेमा तीनकुनेको पुल कट्न पाउँदैन। प्रहरीले रोक्छ। अगाडि नबढ्न माइकिङ गर्छ र उस्तै परे पानीको फोहोरा र लाठी नै प्रहार गर्न सक्छ।

तर सोमबार भने लघुवित्त पीडितको समूह संसद् भवन परिसरमा प्रवेश गरी नारा लगाउन थालेका थिए। पीडितहरू संसद् भवनभित्रै छिर्न खोजेपछि रोक्नका लागि मर्यादापालक नै खटिएका थिए।

लघुवित्त पीडितहरू लामो समयदेखि आन्दोलनमा छन्। आफ्नो माग सुनुवाइ नभएको भन्दै उनीहरूले सोमबार संसद् भवन परिसरम प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागी ४९ जनालाई पक्राउ गरिएको छ।

प्रकाशित: १४ फागुन २०८० २१:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − six =