वैशाख १५ गते उपनिर्वाचन

हिमाल प्रेस १३ फागुन २०८० १३:३३
40
SHARES
वैशाख १५ गते उपनिर्वाचन

काठमाडौँ- निर्वाचन आयोगले आगामी वैशाख १५ गते उपनिर्वाचन गराउन सरकारलाई सिफारिस गरेको छ। निर्वाचन आयोगको आइतबार बसेको बैठकले उपनिर्वाचनको मिति तय गरेको हो।

जसअनुसार पूर्वसभामुख सुवास नेम्वाङको निधनपछि रिक्त भएको इलाम-२ मा आगामी वैशाख १५ गते उपचुनाव हुनेछ। इलाम-२ बाट निर्वाचित नेम्वाङको भदौ २६ गते हृदयघातका कारण निधन भएको थियो।

आयोगले सुदूरपश्चिम प्रदेशसभाअन्तर्गत बझाङ-१ मा पनि वैशाख १५ मै उपचुनाव गराउने निर्णय गरेको छ। बझाङ–१ को प्रदेशसभामा नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह निर्वाचित भएका थिए। सिंहको गत असार २५ मा सवारी दुर्घटनामा निधन भएपछि पद रिक्त छ।

‘निर्वाचन आयोगको आज मिति २०८० फागुन १३ गते बसेको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारको परामर्श समेतको आधारमा इलाम जिल्ला निर्वाचन क्षेत्र नं २ का रिक्त प्रतिनिधिसभा सदस्य पद एक र सुदूरपश्चिम प्रदेश बझाङ जिल्ला प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा रिक्त प्रदेशसभा सदस्यको उपनिर्वाचन आगामी २०८१ साल वैशाख १५ गते शनिबार गर्नेगरी निर्वाचनको मिति तोकेको छ,’ निर्वाचन आयोगको विज्ञप्तिमा भनिएको छ।

संविधानको धारा ८४ उपधारा ७ मा प्रतिनिधिसभाको कार्यकाल छ महिनाभन्दा बढी अवधि बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाद्वारा पूर्ति गरिने व्यवस्था छ।

यसैगरी धारा १७६ को उपधारमा ८ मा प्रदेशसभाको कार्यकाल छ महिनाभन्दा बढी अवधि बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाद्वारा पूर्ति गरिने उल्लेख छ।

 
प्रकाशित: १३ फागुन २०८० १३:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − eight =