कांग्रेस महासमिति बैठकमा फेरि विवाद

सन्तोष अधिकारी १० फागुन २०८० १६:२५
74
SHARES
कांग्रेस महासमिति बैठकमा फेरि विवाद

ललितपुर– ललितपुरमा जारी नेपाली कांग्रेसको महासमिति बैठकमा फेरि विवाद भएको छ। बैठकका क्रममा बिहीबार बागमती प्रदेशका सभापति इन्द्र बानियाँले संयुक्त छलफलपछि निष्कर्ष सुनाउँदा विवाद भएको हो। बानियाँले समूहगत छलफलबाट तयार पारिएको प्रतिवेदनमा उल्लेख भएको विषयभन्दा आफ्ना कुरा व्यक्त गर्न थालेपछि हलमा होहल्ला भएको थियो।

विवादको विषय भने गठबन्धन गर्ने या नगर्ने भन्ने छ। गठबन्धनमा विमति जनाउने सदस्यहरूले जबर्जस्ती गठबन्धन गर्ने भन्ने निर्णय गर्न लागिएको भन्दै विरोध गरेका हुन्।

बैठक अघि बढ्ने अवस्था नभएपछि महामन्त्री गगन थापाले स्टेजबाट सम्झाएका थिए। उनले भने, ‘हलले पास गर्ने प्रस्ताव अहिले पेस भएकै छैन। तपाईँहरू सबै बसिदिनुस्। मूल प्रस्ताव आउनै बाँकी छ। यो अहिले हलमा भएको कुरा मात्रै आएको हो।’ महामन्त्री थापाको आग्रहपछि बैठक साम्य भएको थियो। त्यसपछि लुम्बिनीका सभापतिले समूहमा भएको छलफलको निष्कर्ष सुनाउन थालेका छन्।

महासमिति बैठकको चौथो दिन महासमितिको समूहगत छलफलमा उठेका सुझावलाई प्रदेश सभापतिहरुले महासमिति बैठकमा प्रस्तुत गर्ने क्रम सुरु भएको छ। बैठकमा उठेका सुझावहरुलाई केन्द्रीय पदाधिकारीहरुसहितको संयुक्त बैठकमा प्रस्तुत हुन थालेको हो।

उपप्रधान तथा रक्षामन्त्रीसमेत रहेका उपसभापति पूर्णबहादुर खड्काले प्रस्तुत गरेको नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाले प्रस्तुत गरेको सांगठनिक प्रस्ताव, महामन्त्री विश्‍वप्रकाश शर्माले प्रस्तुत गरेको समसामयिक राजनीतिक प्रस्ताव, अर्थमन्त्री  प्रकाशशरण महतले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक श्याम घिमिरेले प्रस्तुत गरेको लेखा परीक्षण प्रतिवेदनमाथि बुधबार दिनभर महासमिति सदस्यहरुले चार समूहमा रहेर समूहगत छलफल गरेका थिए।

महासमिति सदस्यहरुले गठबन्धनको विषय, सामाजिक तथा आर्थिक मुद्दाहरु, शिक्षा, स्वास्थ्य र रोजगारीलगायतका विषयमा नेपाली कांग्रेसले विशेष पहल गर्नुपर्ने सुझाव प्रस्तुत गरेका छन्।

ललितपुरको गोदावरीमा सोमबार सुरु भएको महासमिति बैठकको आज चौथो दिन हो।  महासमिति बैठकको समापन पनि आज नै गरिने महासमिति बैठकका प्रचार प्रसार संयोजक मीनबहादुर विश्‍वकर्माले बताएका छन्।

नेपाली कांग्रेसमा चुनावमा गठबन्धन गर्ने या नगर्ने भन्ने विषयमा फरकफरक मत रहँदै आएको छ। सभापति शेरबहादुर देउवा गठबन्धन रणनीतिक विषय भएकाले चुनावका बेला निर्णय गर्नुपर्ने पक्षमा छन्। महामन्त्री गगन थापाले पेस गरेको प्रस्तावमा भने गठबन्धन गर्न नहुने प्रस्ताव गरिएको छ। महासमिति बैठकमा पनि सदस्यहरू यिनै दुई कित्तामा उभिँदै आएका छन्।

महासमिति बैठकका क्रममा विवाद हुँदै आएको छ। यसैगरी बिहीबार बागमती र गण्डकी समूहमा भइरहेको छलफलमा स्याङ्जाका मेखलाल श्रेष्ठलाई बोल्न दिएपछि प्रतिनिधिहरूले आपत्ति जनाएका हुन्। गण्डकीका उपसभापतिसमेत रहेका श्रेष्ठ प्रदेशका पूर्वमन्त्रीसमेत हुन्। उनी महासमिति सदस्य नरहेको भन्दै सदस्यहरूले विरोध जनाएका थिए।

बुधबार पनि महासमिति सदस्यहरूले बोल्न समय कम दिइएको भनेर विरोध जनाएका थिए। त्यस क्रममा केही समय बैठकमा निकै होहल्ला भएको थियो। सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले माफी मागेपछि विवाद साम्य भएको थियो।

प्रकाशित: १० फागुन २०८० १६:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 9 =