गगनको प्रतिवेदनमा देउवाले जनाए सहमति, बन्दसत्र सुरु हुँदै

हिमाल प्रेस ८ फागुन २०८० ७:५३
14
SHARES
गगनको प्रतिवेदनमा देउवाले जनाए सहमति, बन्दसत्र सुरु हुँदै ललितपुरको गोदावरीमा सुरु भएको नेपाली कांग्रेसको महासमिति बैठकमा उद्घाटन समारोहमा सहभागी। तस्बिर : हिमाल प्रेस

काठमाडौँ- सांगठनिक प्रतिवेदनमा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच सहमति भएपछि नेपाली कांग्रेसको महासमिति बैठकको बन्दशत्र सुरु हुने भएको छ।

महामन्त्री थापाले निर्वाचन पूर्व गठबन्धन गर्न नपाइने भन्ने विषय प्रतिवेदनमा राखेपछि सभापति देउवासँग कुरा मिलेको थिएन। तर सोमबार (हिजो) राति बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा सहमति भएको सहमहामन्त्री भीष्मराज आङदेम्बेले  हिमाल प्रेसलाई जानकारी दिए।

‘हिजो बेलुका कुरा मिल्यो। साथीहरूको प्रतिवेदनलाई नकरात्मक असर नपरोस् भनेर सहमति गरियो,’ आङदेम्बेले भने,‘आफ्नो पार्टीको भोट बढाउन केन्द्रित गर्नुपर्छ भन्नेबारे छलफलमा यसको निकास भेटियो।’ आङदेम्बेले अहिलेको गठबन्धनका बारेमा भने प्रतिवेदन नबोलेको बताए। ‘यो गठबन्धनबारे बोलिएको छैन। आउँदो दिनको चुनावका बारेमा मात्र यो शर्त लागु हुन्छ।’

उनका अनुसार बाध्यत्मक परिस्थितिमा भने पार्टीले निर्णय लिन पाउने कुरा भएको छ। महासमिति बैठकको सोमबार (हिजो) उद्घाटन गरिएको थियो। तर प्रतिवेदनमा कुरा बाझ्दा कार्यतालिका नै प्रभावित भएको थियो।

अहिले ९ बजेबाट बैठक सुरु हुने जनाइएको छ। १० गतेसम्म चल्ने बैठकमा करिब २२ सय प्रतिनिधि सहभागी छन्। बैठकको बन्दसत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक र महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक प्रतिवेदन पेस गर्ने तालिका छ।

त्यस्तै अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक र केन्द्रीय सदस्य श्याम घिमिरेले लेखा समितिको प्रतिवेदन पेस गर्नेछन्। प्रतिवेदनमाथि विभिन्न समूहमा रहेर पार्टीका प्रस्तावहरुमाथि छलफल सुरु हुनेछ।

प्रकाशित: ८ फागुन २०८० ७:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − seven =