‘४२ प्रतिशत यौनकर्मी महिलामा यौनरोग’

हिमाल प्रेस ३ फागुन २०८० १७:३५
14
SHARES
‘४२ प्रतिशत यौनकर्मी महिलामा यौनरोग’

काठमाडौँ- यौन व्यवसायमा संलग्न महिलालाई विभिन्न प्रकारका यौन रोगको लक्षण देखिएको अध्ययनमा पाइएको छ।  नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सार्वजनिक गरेको ‘महिला यौनकर्मीबीच एकीकृत जैविक र व्यावहारिक निगरानी सर्वेक्षण’ मा गरिएको अध्ययनमा ४२ प्रतिशतमा यौनरोगको लक्षण देखिएको पाइएको हो।

अध्ययनमा सहभागी अनुसन्धानकर्ता प्रतिमा दवाडीले एचआईभी/एड्स, हेपाटाइटिस ‘बी’, हेपाटाइटिस ‘सी’ र भिरंगीजस्ता रोग ती महिलामा देखिएको बताइन्।

उनका अनुसार एचआईभी तथा एड्स चार जनामा, हेपाटाइटिस ‘बी’ चार जनामा, हेपाटाइटिस ‘सी’ छ जनामा र भिरंगी ५४ जनामा देखिएको थियो। अध्ययनमा यौनरोग लागेका ३४ प्रतिशतले मात्र औषधि सेवन गरिरहेको पाइएको छ। यौन व्यवसायमा लागेका ५५ प्रतिशत महिलाले एचआईभी परीक्षण पनि नगरेको पाइएको छ।

परिषद्ले पोखरामा गत वैशाखदेखि असोजसम्म ३६४ जनामा यौन व्यवसायमा संलग्न महिलामा अध्ययन गरेको थियो। तीमध्ये विवाहित १६९, अविवाहित ८१ र सम्बन्धविच्छेद गरेका ९९ र विधवा १५ जना थिए। अध्ययनमा १८ वर्षदेखि ५८ वर्ष उमेरसमूहका महिला थिए।

परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा. मेघनाथ धिमालले धेरै महिलामा एचआईभी एड्स र शारीरिक सम्बन्धबाट लाग्ने रोगबारे कम जानकारी रहेको पाएको बताए।

अध्ययनअनुसार पहिलो पटक शारीरिक सम्पर्क हुँदा १० वर्ष र बढीमा २५ वर्ष उमेर रहेको पाइएको अनुसन्धानकर्ता दवाडीको भनाइ थियो।

उनले यौन व्यवसायमा २१ वर्षदेखि ३० वर्ष उमेरसमूहका बढी रहेका, ६० प्रतिशत महिलाले १६ देखि २० वर्षभित्रमा विवाह गरिसकेका र ३५ प्रतिशत महिलाले गर्भपतन गराएको पाइएको जानकारी दिइन्। ‘धेरैजसोले परिवारमा पैसाको अभावकै कारण यौन व्यवसाय लाग्नुपरेको बताएका थिए। यसैगरी लकडाउन, पतिको मृत्यु, पतिले छोडेर गएकाले पनि यौन व्यवसायमा संलग्न भएको पाइयो’, दवाडीले भनिन्। रासस

प्रकाशित: ३ फागुन २०८० १७:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 20 =