एड्सबाट दैनिक २७४ बालबालिकाको मृत्यु

हिमाल प्रेस २ साउन २०८० ७:२२
2
SHARE
एड्सबाट दैनिक २७४ बालबालिकाको मृत्यु तस्बिर साभार : आइस्टक

बालबालिकाका लागि एचआईभी/एड्स संक्रमण अभिशाप बनेको छ। हरेक दिन एचआईभी/एड्सका कारण २ सय ७४ बालबालिकाको मृत्यु भइरहेको छ। त्यस्तै प्रत्येक दिन ७ सय ४० नयाँ रोगी थपिइरहेका छन्। एक नयाँ अध्ययनअनुसार सन् २०२२ मा २ लाख ७० हजार एचआईभी संक्रमित पत्ता लागेका छन्।

संयुक्त राष्ट्रसंघले हालै सार्वजनिक गरेको ‘द पाथ देट इन्ड्स एड्स’ प्रतिवेदनअनुसार सन् २०२२ मा एक लाखभन्दा बढी बच्चाले एचआईभीका कारण ज्यान गुमाएका छन्। तीमध्ये ७३ हजार बालबालिका त १० वर्षमुनिका थिए।

धेरैजसो केटाकेटीको मृत्यु यस रोगको रोकथाम, हेरचाह र उपचार सेवामा पहुँच नभएकाले भएको पनि प्रतिवेदनमा उल्लेख छ। त्यस्तै एड्सले गर्दा १ करोड ३९ लाख बालबालिकाले आमाबुबा गुमाएका छन्।

एड्सपीडितको तथ्यांक बढ्दै गएको छ। त्यसमा ९ लाखभन्दा बढी बालबालिका छन्। तिनको आयु १० वर्षभन्दा कम छ। १६ लाख ५ हजार किशोरकिशोरी छन्। जसको उमेर २० वर्षभन्दा कम छ।

प्रतिवेदनअनुसार सन् २०२२ सम्म करिब १ करोड ३९ लाख बालबालिकाले एड्सका कारण आमा वा बुबामध्ये एकलाई गुमाएका छन्। उनीहरूको उमेर अहिलेसम्म १८ वर्ष पुगेको छैन।

संसारभर ३ करोडभन्दा बढी एड्सपीडित छन्। तीमध्ये करिब तीन करोड रोगीका लागि यसको रोकथाम गर्न एन्टी रेट्रोभाइरल थ्यारेपी उपलब्ध छ। बाँकी मानिसको अहिले पनि उपचारमा पहुँच छैन। उनीहरू एचआईभीसँग बाँच्न बाध्य छन्।

राष्ट्रसंघका अनुसार एड्सबाट गत वर्ष ६ लाख ३० हजारले ज्यान गुमाएका थिए। त्यस्तै २०२२ मा एचआईभीका १३ लाख नयाँ रोगी पत्ता लागेका छन्।

एचआईभी/एड्सका लागि काम गरिरहेको संयुक्त राष्ट्रको संस्था यूएनएड्सले सन् २०३० सम्म एड्सलाई पूर्ण रूपले समाप्त गर्न बलियो राजनीतिक नेतृत्वका साथै विज्ञानलाई अपनाउने, विषमताको सामना गर्नेलगायत आवश्यकता औँल्याएको छ।

यूएनएड्सकी कार्यकारी निर्देशक विनी ब्यानिमाले अहिलेका नेताहरूसँग लाखौँ मानिसको ज्यान बचाउने अवसर रहेको बताएकी छन्। ‘उनीहरूले लाखौँ जीवन बचाउन सक्छन्,’ उनी भन्छिन्, ‘सबैको स्वास्थ्य रक्षा गर्न सक्छन्। नेतृत्वमार्फत केके गर्न सकिन्छ भनेर देखाउन सक्छन्।’

प्रकाशित: २ साउन २०८० ७:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =