रुसी सेनामा ‘२३२ नेपाली घाइते’

रमेश भारती २८ माघ २०८० २०:४२
126
SHARES
रुसी सेनामा ‘२३२ नेपाली घाइते’ रुसी सेना।

काठमाडौँ- रुसी सेनामा भर्ती भएका नेपालीमध्ये २ सय ३२ जना घाइते भएको सूचना परराष्ट्र मन्त्रालयमा आएको छ। उनीहरू युक्रेनसँगको युद्धका क्रममा घाइते भएका हुन्। मन्त्रालय स्रोतका अनुसार युद्धमा खटिएर घाइते भएका ती नेपालीको रुसका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको अवस्थाबारे जानकारी नपाएको मन्त्रालयका एक अधिकारीले बताए।

ती अधिकारीले भने, ‘रुसी सेनामा भर्ती भएका २ सय ३२ नेपाली घाइते छन् भन्ने मात्र सूचना पाएका हौँ। उनीहरूको अवस्था कस्तो छ र कसरी उपचार भइरहेको छ भन्ने जानकारी लिने काम भइरहेको छ।’ उनका अनुसार यो मस्कोस्थित नेपाली दूतावासले दिएको अनौपचारिक सूचना हो। ‘यही सूचनाका आधारमा अहिले रुसका विषयमा छलफल भइरहेको छ। घाइते नेपालीको अवस्था कस्तो छ भन्न सकिँदैन’, ती अधिकारीले भने।

रुसी सेनामा भर्ती भएका परिवारका आफन्तले दैनिक उद्धारका लागि कन्सुलर विभागमा निवेदन दिने गरेका छन्। रुसी सेनामा भर्ती भएका धेरै नेपाली घाइते भएको भन्दै उपचार र उद्धारका लागि आफन्तले दैनिक निवेदन दिएको कन्सुलर विभागका कानुन अधिकृत कृष्णप्रसाद बस्यालले जानकारी दिए। बस्यालका अनुसार रुसी सेनामा भर्ती भएका २ सय जनाको परिवारले उद्धारका लागि आवेदन दिएका छन्।

उनले भने, ‘यति नै संख्यामा घाइते छन् भन्ने तथ्यांक हुँदैन। घाइतेका परिवार र आफन्तले उद्धारका लागि आवदेन दिने गरेका छन्’, बस्यालले भने। उनका अनुसार उद्धारका लागि आवेदन परेकामध्ये ४५ जना स्वदेश फर्किएका छन्।

त्यहाँ रहेका नेपालीको खोजीका लागि रुसको विदेश तथा रक्षा मन्त्रालयमा पत्र पठाइएको बस्यालले बताए। उनले भने, ‘उद्धारका लागि आवेदन परेका धेरै व्यक्तिसँग सम्पर्क हुन सक्दैन। अहिलेको ठूलो समस्या यही हो। रुसमा कति नेपाल छन् भन्ने तथ्यांक संकलन गर्न पनि समस्या छ।’

रुसी सेनामा भर्ती हुन नेपाली कतार, यूएई, भारत र अन्य देशबाट अवैध रूपमा गएका कारण यकिन तथ्यांक पाउन समस्या भएको हो। परराष्ट्रका कर्मचारीहरु नेपाल सरकारले पटकपटक रुसको सम्बन्धित पक्षसँग त्यहाँको सेनामा भर्ती भएका नेपालीको अवस्था, तथ्यांक र अन्य विवरण मागे पनि रुसी पक्षले बेवास्ता गर्दै आएको बताउँछन्।

रुसी सेनामा भर्ती भएका नेपाली यति नै घाइते छन् भन्ने तथ्यांक नहुने गरेको रुसी सेनाबाट भागेर स्वदेश फर्किएका खोटाङका सुमन राईले जानकारी दिए। राईका अनुसार रुसी सेनामा धेरै नेपाली मारिएका छन्। तर यस्तो सूचना लुकाइने उनको भनाइ छ। सोही कारण त्यहाँ घाइते भएको नेपालीको अवस्था जानकारी पाउन कठिन  हुने गरेको उनले बताए।

‘सामान्य घाइते भएको नेपाली पीडा सहन नसकेर आफैँ गोली हानेर मर्ने गरेका छन्। कतिपय घाइतेलाई गोली हानेर युद्धस्थलमै मारिन्छ। कति भाग्न नसकेर र उपचार नपाएर युद्धस्थलमै मर्छन्’, राईले भने, ‘सामान्य तालिम लिएका नेपाली युक्रेनीको पहिलो निसानामा पर्छन्। रुसीले सामान्य तालिम दिए युद्धमा पठाउने भएका कारण पनि धेरै नेपाली युद्धस्थलमा घाइते हुने गरेका छन्।’

तालिम सकेर युद्धमा खटिएकै दिन धेरै नेपालीको मृत्यु भएका घटना पनि थाहा पाएको उनको भनाइ छ। उनले रुसी सेनामा धेरै नेपाली कार्यरत रहेको बताए पनि संख्याबारे आफूलाई केही थाहा नभएको बताए। अमेरिकी सञ्चार संस्था सीएनएनले रुसी सेनामा १५ हजार नेपाली भर्ती भएको उल्लेख गरेको छ।

रुसी सेनमा कार्यरत रहेका बेला १३ जनाको मृत्यु भइसकेको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ। मृतकका परिवारले शव पाएका छैनन्।

प्रकाशित: २८ माघ २०८० २०:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =