कानुनमा ई शब्द नभए पनि भिसा वितरणमा समस्या हुँदैन : महानिर्देशक तामाङ

हिमाल प्रेस २६ माघ २०८० १७:०२
18
SHARES
कानुनमा ई शब्द नभए पनि भिसा वितरणमा समस्या हुँदैन : महानिर्देशक तामाङ

काठमाडौँ- अध्यागमन विभागले शुक्रबारदेखि ई-भिसा तथा अनलाइन भुक्तानी सेवा प्रारम्भ गरेको छ। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले ई-भिसा तथा अनलाइन भुक्तानी सेवा शुभारम्भ गरेका हुन्।

सरकारले ई-भिसा लागू गरे पनि नेपालको कानुनमा ‘ई’ शब्द नभएको शुभारम्भ कार्यक्रममा विभागकै महानिर्देशक रुद्रसिंह तामाङले बताए। उनले नेपालमा भिसासम्बन्धी नीति भए पनि अहिले ल्याइएको ई-भिसासम्बन्धी केही व्यवस्था नरहेको बताए। त्यसैले यसलाई पर्यटक भिसा भनेर बुझ्नुपर्ने उनको भनाइ छ।

‘नेपालले ई-भिसा लागू गर्नु सकारात्मक पक्ष हो। अहिलेको अवस्थामा पर्यटक भिसा प्रिन्ट गरेर दिने हो कि अनलाइनबाटै दिने भन्ने हो। यी दुवै सेवा ई-भिसाभित्र पर्छन्’, उनले भने ‘ई शब्द कानुनमा नहुँदा पनि भविष्यमा केही समस्या उत्पन्न हुँदैन।’

तामाङका अनुसार ई-भिसा शुभारम्भ भएपछि नयाँ भिसा प्राप्त गर्न, भिसाको म्याद थप गर्न, पदयात्रा अनुमति प्राप्त गर्न सेवाग्राहीहरू भौतिक रूपमा अध्यागमन कार्यालयमा उपस्थित हुनुपर्ने अवस्था अन्त्य हुन्छ।

नाता र विवाहका आधारमा गैरपर्यटक भिसा लिनेबाहेक अन्य सेवाग्राही विभाग आउनुपर्ने छैन्। आवेदन दिनुपर्ने, भुक्तानी गर्न लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य भएको उनको दाबी छ।

सरकारले ई-भिसा लागू गरे पनि नेपालको कानुनमा ‘ई’ शब्द नहुँदा कार्यन्यवन नहोला भन्ने पर्यटक व्यवसायीले आशंका गरेका छन्। ई-भिसा शुभारम्भले पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पर्ने पर्यटन व्यवसायीले कार्यक्रममा धारणा राखेका थिए।

विभागले सुरु गरेको अनलाइन भुक्तानी सेवाको पहिलो सेवाग्राही ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष नीलहरि बास्तोला हुन्।  ई-भिसा एक विदेशी नागरिकलाई दिएर सुरु गरिएको थियो।

‘सेवाग्राहीले सहज र छिटो सेवा लिन सक्छन्’

‘ई’ शब्द कानुनमा छैन। भोलि यसैका कारण ई-भिसामा समस्या हुँदैन?

कानुनी देशमा कानुन आवश्यक पर्छ। तर राम्रो कामलाई कानुनमा नयाँ ढंगबाट समेट्न सकिन्छ। ‘ई’ शब्द कानुनमा छैन। तर ई-भिसा पर्यटकका हकमा भएका कारण यसलाई पर्यटक भिसा भनेर बुझ्नुपर्छ। अहिलेका लागि हामीले यसरी नै व्याख्या गर्ने हो। भोलि त सम्बन्धित निकायले केही सोच्ला।

ई-भिसाले पर्यटकलाई समस्या हुँदैन भनेर के ग्यारेन्टी गर्नुहुन्छ?

अनलाइन प्रणालीले नेपाल भित्रिने पर्यटकको भिसासम्बन्धी काम गर्छ। फेरि अनलाइनबाट काम हुने भएका कारण केही समस्या हुँदैन। म यसमा ढुक्क छु। विभागले माग धान्ने गरी अनलाइन बनाएको छ।

विभागले यही माघदेखि डिजिटल हस्ताक्षर प्रयोग गर्ने गरी तयारी गरेको थियो। अहिले त्यहीअनुसार अनलाइन सेवा आएको हो।

सरकारले सञ्चालनमा ल्याएका अन्य अनलाइन सेवा महिनैपिच्छे बिग्रिने गरेका छन्। जसका कारण सेवाग्राही प्रभावित हुन्छन्। विभागको अनलाइन सेवा पनि उस्तै हुने त होइन?

अनलाइन सेवामा समस्या हुन्छ। यो प्रविधिक विषय हो। नेपालमा मात्र होइन विकसित देशमा पनि अनलाइन सेवा अवरुद्ध भएको सुनेका छौँ। समस्या समाधान गर्ने गरी ई-भिसा र सम्बन्धित अनलाइन सेवा सञ्चालनमा ल्याइएको हो।

सबै कुरा निर्माण हुँदै राम्रा हुँदैनन्। देखिएका समस्या समाधान गदै लैजानुपर्छ। अनलाइनको समस्यामा केन्द्रित काम हुनेछन्।  विभाग र अन्तर्गतका कार्यालयमा पूर्ण रूपमा डिजिटल र स्वचालित प्रणाली सुरु भएको छ। सेवाग्राहीले सहज र छिटो सेवा लिन सक्नेछन्।

अनलाइनबाट सेवाग्राहीले कस्तो सेवा पाउँछन्?

सबै प्रक्रिया अनलाइनमार्फत हुने र अन्तिममा भिसा स्टिकर टाँस्न मात्रै विभाग वा नेपालको जुनसुकै अध्यागमन कार्यालय पुगे हुन्छ। सेवालाई स्वचालित र अनलाइन सेवा दिने योजना हो। साथै सेवा शुल्क, भिसा शुल्क तथा जरिबाना सबै नेपाली बैंकका मोबाइल बैंकिङ एपको क्युआर तथा वालेट सेवा प्रदायक, कनेक्ट आईपीएसबाट अनलाइनमार्फत भुक्तानी हुन्छ। पहिला यस्तो सेवा थिएन। अनलाइनबाट अन्तर्राष्ट्रिय रूपमा भुक्तानी गर्नसक्ने व्यवस्था पनि गरिएको छ।

प्रकाशित: २६ माघ २०८० १७:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + sixteen =