रुस‍-युक्रेन युद्धभूमिबाट बाँचेर आएका राई भन्छन् : भाग्न खोजे रुसी सेनाले गोली हानेर मारिदिन्छ [भिडिओसहित]

रमेश भारती २५ माघ २०८० १८:०२
296
SHARES
रुस‍-युक्रेन युद्धभूमिबाट बाँचेर आएका राई भन्छन् : भाग्न खोजे रुसी सेनाले गोली हानेर मारिदिन्छ [भिडिओसहित]

काठमाडौँ– खोटाङ दिक्तेलका सुमन राई वैदेशिक रोजगारीको खोजीमा थिए। म्यानपावर कम्पनी धाउने क्रममा उनी एजेन्टको सम्पर्कमा पुगे। तिनै एजेन्टले आठ लाख रुपैयाँ लिएर आफूलाई गत कात्तिकमा मस्को  पठाएको राईले बताए। उनी एजेन्टमार्फत यूएई हुँदै मस्को पुगेका थिए।

उनी रुसी सेनामा भर्ती भए। त्यहाँ बाँच्न नसक्ने अवस्था उत्पन्न नभएपछि युद्धस्थलबाट भागेका उनी गत साता नेपाल फर्किएका हुन्। अजरबैजान र भारत हुँदै स्वदेश फर्किएको उनले बताए।

बल्लबल्ल ज्यान जोगाएर फर्किएका उनी रुसी सेनामा भर्ती भएर फर्किदाँसम्म ११ जना दलालबाट ठगिनुपरेको सुनाउँछन्। राईले भने, ‘रुसी सेनामा भर्ती भएपछि पनि दलालले पैसा खाँदा रहेछन्। मैले रुसी सेनामा भर्ती भएपछि दलाललाई एक लाख रुपैयाँ बुझाएँ।’

रुसी सेनामा भर्ती भएका नेपालीले तलब त पर जाओस् राम्रो गरी खानसमेत नपाउने राईले जानकारी दिए। तालिमका क्रममा जाउलो, दाल, उसिनेको मकै, गहुँ, गाजरको झोल र रोटी मात्र पाइन्छ। एउटै ब्यारेकमा दुई हजारभन्दा बढी सेना रहने भएकाले कहिले त त्यति पनि खान नपाउने राईले सुनाए।

राईका अनुसार रुसमा पनि पाइलापाइलामा ठगी हुन्छ। रुसी सेना, प्रहरी र विदेशी दलालले तालिममा पुगेपछि पनि ठग्ने गरेको उनले बताए। उनले भने, ‘रुसी सेनामा भर्ती भएका नेपाली भागेको समस्या बाहिर आएको छैन। तालिम सुरु भएदेखि रुसी सेनाले कुट्ने, अपशब्द प्रयोग गरेर गाली गर्ने र नेपालीमाथि मनपरी गर्दा रहेछन्।’

उनका अनुसार जतिसुकै अन्याय गरे पनि सहेर बस्नुपर्छ। ‘केही भनेर जबाफ फर्कायो कि ब्यारेकमा विद्रोह गरेको आरोप लगाएर रुसी सेनाले सीधै गोली हान्दा रहेछन्’, राईले भने।

उनका अनुसार रुसी सेनामा भर्ती भएका नेपाली जतिसक्दो चाँडो भाग्ने बाटो खोजिरहेका छन्। त्यहाँ भर्ती भएका नेपाली भाग्ने कुरा रुसी सेनाले थाहा पाए भने ब्यारेकमै गोली हान्ने गरेको राईले बताए। उनले भने, ‘भाग्न खोजेका दुईजना नेपालीलाई रुसी सेनाले गोली हानेर मारेका छन्। उनीहरू को हुन् भन्ने पहिचान खुलेको छैन।’

आफ्नै साथीमाथि गोली प्रहार हुन थालेपछि ज्यान जोगाउन भाग्ने विकल्प रोजेको राईले बताए। उनले भने, ‘भाग्न पनि सजिलो छैन। त्यहाँ दलालले पैसा खाएर रुसी सैनिक हिरासतमा लैजान सक्छन्। रुसी प्रहरीले ५ रुबल घुस पनि खान्छन्।’ मस्कोमा रुसी, भारतीय र नेपाली दलालको बिगबिगी रहेको राईले बताए।

उनका अनुसार दलालले थोरै पैसा दिने नेपालीलाई रुसी प्रहरी र आर्मीलाई जिम्मा लगाउँछन्। ‘ब्यारेकबाट भागे पनि दलालबाट जोगिनुपर्छ। भाग्दा दलालले पाइलैपिच्छे पैसा खाए’, उनले भने।

राई रुसको जंगलबाट भागेपछि तीन दिन मस्कोको एउटा होटलमा लुकेर बसे। त्यसपछि दलाललाई तीन लाख रुपैयाँ बुझाएर नेपाल फर्किएको उनले बताए।

राईले भने, ‘युक्रेनसँग युद्ध हुँदा गम्भीर घाइते भएका नेपालीले तत्काल उद्धार र उपचार पाउँदैनन्। पीडा सहन नसकेर आफैँले ग्रिनेड पड्काएर अत्महत्या गरेका घटना पनि छन्। युक्रेनी भूमिमा घाइते भएका नेपाली यसरी नै मर्ने गरेका छन्। यस्तो घटना रुसी सेनाले बाहिर ल्याउन दिँदैन्’

युक्रेनी सेनाले ड्रोनमार्फत बढी आक्रमण गर्छन् भने आफ्नो जमिनमा सबैतिर विद्युतीय बम बिछ्याएका हुन्छन्। नेपालीहरू विद्युतीय बममा परेर मर्ने गरेको राईले बताए।

‘रुसी सेनामा भर्ती भएका नेपाली मृत्यु भए हिउँमा गाडिन्छ। कतिपय युक्रेनसँग भएको युद्धमा शव जलेर नष्ट भएका छन्। गम्भीर घाइते भएका नेपालीलाई त्यहीँ गोली हानेर मार्ने गरेका छन्’, राईले त्यहाँको पीडा सुनाउँदै भने, ‘नेपालीलाई रुसी सेनाले बम भएको क्षेत्रमा खटाउँछन्। पहिलो घेरा नेपाली हुन्छन्। कतिपय नेपाली बाटोमै बम पड्किँदा मर्छन्। उनीहरूको शव त्यहीँ जलेर नष्ट हुन्छ।’

 उनी नेपाल आइपुगेपछि मात्र आफू बाँचेजस्तो लागेको बताउँछन्। उनले भने, ‘नेपालको विमानस्थल टेकेपछि नयाँ जुनी पाएजस्तो लागेको छ।’

प्रकाशित: २५ माघ २०८० १८:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =