रुसी सेनाबाट भागेर पाइलापाइलामा ठगिँदै स्वदेश फर्कियौँ

विकास गुरुङ १६ माघ २०८० ९:१६
238
SHARES
रुसी सेनाबाट भागेर पाइलापाइलामा ठगिँदै स्वदेश फर्कियौँ एआईको सहायतामा बनाइएको तस्बिर।

म दुबई प्रहरीमा कार्यरत थिएँ। त्यसै बेला मलाई रुसी सेनामा जाने अफर आयो। केही साथीहरू पहिल्यै नै गइसकेका थिए। पारिश्रमिक पनि धेरै पाइने सुनेपछि मैले पनि रुस जाने निधो गरेँ। यसका लागि दलाललाई मैले नेपाली नौ लाख रुपैयाँ बुझाएँ। यूएईबाट रुसी सेनामा पठाउन भारतीय, नेपाली र रुसी नागरिक संलग्न छन्।

सबै प्रक्रिया पूरा भएपछि हामी सातजना नेपाली दुबईबाट मस्कोका लागि उड्यौँ। मस्कोस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएपछि हाम्रो पासपोर्ट र मोबाइल रुसी सेनाले नियन्त्रणमा लियो। विमानस्थलमा अरू नेपाली पनि रहेछन्। अब हामी १३ जना नेपाली भयौँ। अनि हामीलाई छनोट केन्द्रमा लगियो। त्यहाँ पुग्दा त नेपाली नै नेपाली रहेछन्। छनोट प्रक्रिया पूरा गरेपछि हामीलाई तालिम केन्द्रमा लगियो। त्यहाँ १९ दिनसम्म हतियार चलाउने तालिम दिए। तालिम लिएपछि रुसी सेनाको गाडीले हामीलाई युद्धस्थलमा पुर्‍यायो।

हामी खटिएको ठाउँ थियो बाखमुट। युक्रेनको त्यो भूमिमा परिचालित भएर हामी आक्रमणमा सहभागी हुन थाल्यौँ। युक्रेनी फौजले निरन्तर ड्रोनबाट मिसाइल आक्रमण गर्दा रहेछ। समूहमा हामी तीनजना (धरानका मनिराज लिम्बू र मोरङका कवीन्द्र मगर) थियौँ। अन्य नेपाली पनि रुसी सेनाका तर्फबाट बाखमुटमा लडिरहेका थिए। ठूलो ज्यान भएका नेपालीलाई युद्धको अग्रमोर्चामा खटाइँदो रहेछ। परिवारसँग फोनमा सम्पर्क हुन छाड्यो। हामीसँगै खटिएका साथीहरू आक्रमणमा पर्न थाले। कैयौँको त्यहीँ मृत्यु भयो। कतिपय घाइते भए। स्थिति निकै भयावह बन्न थाल्यो।

हामी तीनजनाचाहिँ एक सातादेखि भाग्ने योजनामा थियौँ। पहिलो प्रयासमा भाग्न सकेनौँ। साथीहरू ढलेको देखेपछि ज्यान जोगाउन पर्छ भनेर जसरी पनि भाग्ने योजना बनायौँ। बिस्तारै हाम्रो सम्पर्क मस्कोमा रहेका दलालसँग हुन थाल्यो। दोस्रो पटकको प्रयासमा हामी भाग्न सफल भयौँ। त्यहाँको समयअनुसार राति ११ बजेपछि बाखमुटमै रहेका एकजना पाकिस्तानी ट्याक्सी चालक हामीलाई मस्को पुर्‍याउन सहमत भए। १० हजार रुवल दिने सर्तमा उनले हामीलाई मस्को लगिदिए। घाइते भएका अन्य साथीहरू (दैलेखका कृष्णप्रसाद वली, नुवाकोटका एक, धादिङका एकजना, कैलालीका रवीन जोशी) लाई भने बाखमुटबाट भागेर मस्को पुगेपछि मात्र भेट्टाएका हौँ। अब हामी सातैजना जसरी पनि स्वदेश फर्कने तयारीमा जुट्यौँ।

ब्यारेकबाट भागेपछि मस्कोमा ११ दिन सबै जना लुक्यौँ। मस्कोमा नेपाली दलालको बिगबिगी रहेछ। मस्कोमा अजरबैजान र त्यसपछि दिल्ली हुँदै हामी नेपाल फर्काउँछौँ भनेर दलालले पैसाको बार्गेनिङ सुरु गरे। काठमाडौँको बालाजु घर बताउने मनोजकुमार जोशी दलालका ‘डन’ रहेछन्। उनी नेपाली युवालाई रुसी सेनामा भर्ती गराउन र त्यहाँबाट भगाउन सक्रिय रहेछन्। अर्का दलाल अनुप दनुवार दलाली र ब्ल्याकमेलिङ धन्दामा लागेका रहेछन्। उनीचाहिँ टिकट मिलाइदिने र भगाउने भन्दै ब्ल्याकमेलिङ गरेर नेपालीलाई ठग्दा रहेछन्। हामीसँग रूपन्देहीका ‘आलम सर’ भन्ने व्यक्तिले पैसा लिए। उनी पनि दलालका नाइके रहेछन्।

सन्दीप कार्की भन्ने अर्का नेपाली दलाल पनि मस्कोमै भेटिए। दलालले प्रतिव्यक्ति चार हजार डलर मागे। हामीले तीन हजार दिन्छौँ भनेपछि बाख्रा व्यापार गरेको हो र भनेर हप्काए पनि। हामी सातैजनाले एउटै नेपाली दलाल समाएका रहेछौँ। सामूहिक रूपमा अनुनय गरेर प्रतिव्यक्ति १२ सय डलर बुझाएपछि दलालहरू कागजपत्र बनाउन तयार भए। अजरबैजान लैजाने भनेर दुई दिन रुसकै जंगलमा हाम्रो बास रह्यो। दलालको विश्वास नगरौँ भने नहुँदो रहेछ। सातैजना अजरबैजान हुँदै नेपाल फर्किने निर्णयमा पुग्यौँ। जोशीलाई चार हजार डलर प्रतिव्यक्ति बुझाएपछि अजरबैजान जाने निधो भयो।

नेपाली दलालहरूले राति २ बजे रुसको जंगलबाट अजरबैजान पुर्‍याउने पास्कितानी दलालको साथमा हामीलाई बुझाए। हामी खाद्यान्न गाडीमा चढेर पाँच दिनको यात्रापछि अजरबैजान पुग्यौँ। अजरबैजानको सिमानासम्म पुर्‍याउन मनोजकुमार, आलम सर र सन्दीप हामीसँगै थिए।

अजरबैजान पुगेपछि हामी नौ दिन त्यहीँ अलपत्र पर्‍यौँ। त्यहाँबाट भारत फर्किन झन् समस्या हुन्छ भनेर होटलमै लुक्नुपरेको थियो। फेरि तिनै मस्कोमा रहेका नेपाली दलालहरूसँग सम्पर्क गर्‍यौँ। अजरबैजानमा रहेकी सवित्रा अर्याल नाम गरेकी दलाललाई रुसमा रहेका दलालले सम्पर्क गराए। अर्यालले नै भारतका लागि टिकट काटेर एयरपोर्टसम्म लगिदिइन्। अजरबैजानबाट नयाँ दिल्ली आउन प्रतिव्यक्ति तीन हजार डलर खर्च भएको थियो।

भारत आएपछि पनि हामी दिल्लीको एक होटलमा नौ दिनसम्म लुक्यौँ। अब रुसी प्रहरीले खोज्दैन होला भनेर नेपालमा फर्किएका हौँ। तीनजना घाइते साथीहरूलाई बाटोमा एन्टिबोटिक खुवाउँदै दिल्लीमा ल्याएर सामान्य उपचार गरायौँ। रुस जाँदा नौ लाख र भागेर आउँदा आठ लाख रुपैयाँजति खर्च भयो।

भाग्ने कुरा लिक हुनेबित्तिकै रुसी सेनाले पासपोर्ट खोसेर राख्छन्। त्यसपछि सीधै जेलमा लगिँदो रहेछ। भाग्न खोज्ने ८० जनाभन्दा बढी नेपाली रुसी जेलमा रहेको त्यहाँका सेनाले हामीलाई बताएका थिए। काठमाडौँस्थित रुसी दूतावासमा एक हजारभन्दा बढी रुसी सेना छन्। कोही नेपाली भाग्यो भने त्यहाँ पनि पक्राउ गर्ने त्रास रुसी सेनाले देखाउने गरेका थिए।

मासिक चार लाखसम्म आम्दानी हुन्छ भनिए पनि ‘रेड जोन’ मा खटाएका बेला हामीले तलब पाएनौँ। सुरुआती चरणमा एक लाख जति मात्रै तलब पाइँदो रहेछ। तर साढे दुई महिना काम गरेको पारिश्रमिक पाइएन।

[रुसी सेनाबाट भागेर स्वेदश फर्किएका गुरुङसँग रमेश भारतीले गरेको कुराकानीमा आधारित]

प्रकाशित: १६ माघ २०८० ९:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + eighteen =